Comments Add Comment

पूर्वसचिव बन्जाडेको प्रस्तावः ‘बेरुजु बहादुर’ कर्मचारीको नाम सार्वजनिक गरौं

ट्रेड युनियनमा नलाग्ने कर्मचारीलाई 'प्रमोसन' गरौं

१८ पुस, काठमाडौ । सामान्य प्रशासन मन्त्रालयको पहलमा यसैसातादेखि निजामती सेवाको नीति तथा रणनीतिबारे औपचारिक बहश सुरु भएको छ । मुख्यतः अब संघीयतामा जाँदा कर्मचारीले सेवा प्रवाहदेखि नागरिकसँग गर्ने व्यवहारका बारेमा बहस सुरु भएको हो । यो बहसमा ‘बेरुजु बहादुरहरु’ को समेत खोजी भयो ।

mohan-banjadeसार्वजनिक प्रशासनका तर्फबाट अहिलेसम्म भएका कमजोरी के थिए र आगामी दिनमा त्यसलाई कसरी सच्याएर जान सकिन्छ भन्नेबारे बहश भएको थियो ।

संविधान निर्माण भएर कार्यान्वयनको चरणमा जाँदै गर्दा संघीयताका सन्दर्भमा नकारात्मक सन्देशहरु फैलिएका छन् । नागरिकमा संघीयताबारे नै नकारात्मक भाव उत्पन्न भैरहेका बेला कसरी संघीय व्यवस्थालाई सफल पार्न सकिन्छ भन्ने बहस थियो । उक्त बहसमा एउटा गम्भीर प्रश्न उठेको छ, एकात्मक शासन प्रणालीमा अभ्यस्त कर्मचारीले कसरी त्यसको ठीक विपरीतको अवधारणाको संघीय व्यवस्थालाई सफल पार्न सक्लान् ?

बहसमा नेपाल सरकारका विशिष्ट श्रेणीको पूर्वप्रशासकहरु सहभागी थिए । यस्तै बहसका क्रममा पूर्वसचिव मोहन बन्जाडेले अहिलेको सार्वजनिक प्रशासनभित्रको कमजोरी केल्याउँदै भने, यी पक्षहरु सुधार नगरी कसरी संघीयता सफल पार्न सकिन्छ ?

ट्रेड युनियन खारेज गरौँ

अहिलेको निजामती सेवाले पनि कर्मचारीको काम कर्तव्य र अधिकार प्रष्ट तोकेको छ । तर, कर्मचारीहरु ट्रेड युनियन खोलेर हिँडेका छन् । ती युनियनहरु कर्मचारीको सरुवा, बढुवा, अरु के-के सुविधाका बारेमा वकालत र बार्गेनिङ गर्दै हिँडिरहेका छन् । बहसकै क्रममा उनले प्रश्न गरे, अधिकारका लागि बार्गेनिङ गर्ने अनि कर्तव्यबाट चाँहि चिप्लेर जाने ? कर्मचारीको सुविधा पुगेन भनेर बार्गेनिङका लागि ट्रेड युनियन हो कि पब्लिकलाई सुविधा पुर्‍याउनेमा पनि ध्यान दिने ?

उनले त्यसको दोष अरुमाथि होइन, आफैँतर्फ औँल्याउँदै भने, ‘यी विषयमा चर्चा गर्दा मैले पनि कान समातेर उठबस गर्नुपर्छ, कानुनहरुको मस्यौदा गर्ने हामी जस्तो उपबुज्रुकहरुले कानुनलाई कन्फ्युजन गराइदिएका छौँ ।’

यी गल्तीहरुमा आफु पनि भागिदार रहेको स्वीकार गर्दै पूर्वसहसचिव बन्जाडेले भने, आत्मसमीक्षा गरौँ । अख्तियारी दिएर काम गर्न पठाएका प्रशासकहरुले तल गएर जनतालाई शासन गर्ने गरेको बताए । कर्मचारीहरु आफ्नो ड्युटी पूरा गर्नुभन्दा शासकका रुपमा प्रस्तुत हुने गरेको भन्दै उनले कर्मचारीको कार्यशैलीको निर्मम आलोचना गरेका छन् ।

यी प्रशंगलाई जोड्दै पूर्वसचिव बजान्डेले अब बन्ने सार्वजनिक सेवा नीतिमा यो कुरा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

योभन्दा त राणाकालको प्रशासन राम्रो

वर्तमान सार्वजनिक प्रशासनको दुराअवस्थाको आलोचना गर्दै उनले यो भन्दा राणाकालिन सार्वजनिक प्रशासनको चर्चा गरे । ‘राणा प्रशासनमा कहाँ कतिजना कर्मचारी रहने, कुन कर्मचारीले के-के गर्न हुने, के-के गर्न नहुने प्रष्ट लेखिएको हुन्थ्यो । कामका आधारमा उसको पारिश्रमिक तोकिएको हुन्थ्यो । तर, पछि गएर कर्मचारीले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप गराएको भन्दै उनले सार्वजनिक सेवा नीति बनाउँदा नेपालको निजामति सेवाभित्रका राम्रा पक्षहरु पनि केलाउन आग्रह गरेका छन् ।

‘युनियनमा नलाग्ने कर्मचारीलाई प्रमोशन’

छलफलमा पूर्व सचिव बण्जाडे कर्मचारी ट्रेड युनियनका विरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए । छलफलकै क्रममा उनको प्रस्ताव छ, अबका दिनहरुमा सकेसम्म ट्रेड युनियनलाई मान्यता दिनुहुन्न । यदि सकिँदैन भने पनि, ‘कुनै कर्मचारीले म युनियनमा लाग्दिन भनेर सम्झौता गर्छ भने उसलाई थप अवसर दिनुपर्छ ।’

यसको व्याख्या गर्दै उनी भन्छन्, ‘सरकारमा सहभागी नभएको दल निकट कर्मचारीको कामै सरकारका सूचना बाहिर लैजाने हुन्छ । यस्तो पनि सार्वजनिक प्रशासन हुन्छ ?’

एउटा पक्षको कर्मचारी नै विपक्षी दलको भूमिकामा बस्नु कति जायज हो ? उनले थपे, ‘यो ट्रेड युनियन नै विघटन गरिदिए हुन्छ । यदि अहिल्यै खारेज गर्न सकिँदैन भने युनियनको सदस्य नहुनेलाई थप केही सुविधा दिएर भए पनि ट्रेड युनियनलाई हतोत्साहित गरौँ ।

विशिष्ट कर्मचारी विदेशीको नोकर

बन्जाडेले सार्वजनिक प्रशासनबाट अवकाश भएका विशिष्ट श्रेणीका कर्मचारीहरुमाथि गम्भीर आरोपसमेत लगाएका छन् । विशिष्ट श्रेणीका कर्मचारीहरु अवकाश भएपश्चात सरकारप्रति भन्दा गैरसरकारी संस्था, बिशेष व्यक्तिहरुप्रति जिम्मेवार हुने गरेको उनको आरोप छ । उनी ती कर्मचारीहरुबाट आफ्नो मुलुकको हितमा भन्दा अन्य मूलुकको हितमा काम गर्ने गरेको बताउँछन् । र यी कारणहरु देखाउँदै उनले अवकास भएपश्चात कर्मचारीहरुलाई पाँच बर्षसम्म बाहिर काम गर्न नपाउने व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका छन् ।

बेरुजुका बहादुरहरु को-को हुन् ?

बहसमा निकै आक्रामक रुपमा प्रस्तुत भएका मोहन बन्जाडेले केही अधिकृतहरुमाथि समेत प्रहार गर्न भ्याए । उनले ती कर्मचारीहरुलाई बेरुजु बहादुरको उपमा दिँदै भने, ‘यहाँ केही बेरुजु बहादुरहरु छन्, उनीहरु जहाँ-जहाँ जान्छन्, तिनीहरुले बेरुजुको चाङ लगाउँदै जान्छन् । अनि अर्को कर्मचारी आएर त्यो सफा गर्नुपर्ने ?’

उनले राजनीतिक दलको आडमा हरेक बर्ष नयाँ कार्यालय चाहार्दै हिँड्ने र बेरुजुको चाङ लगाउने खराब आर्थिक अनुशासन भएका कर्मचारीको नाम सार्वजनिक गरिनुपर्ने प्रस्ताव गरेका छन् । उनले भने- यो विकृति रोक्नुपर्छ । त्यसका लागि महालेखाले बेरुजु सार्वजनिक गर्दा बेरुजु बढाउँदै हिँड्ने बहादुरहरुको नाम सार्वजनिक गर्न हुँदैन ? ती बहादुरहरुलाई के गर्ने भन्नेबारे पनि ध्यान दिऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment