Comments Add Comment

संशोधन विधेयक तत्काल बलपूर्वक अघि नबढाइने

3-dal-meeting१८ पुस, काठमाडौं । सत्तारुढ दलले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक तत्काल बलपूर्वक टेबल नगर्ने भएका छन् ।

सोमबारको संसद बैठक अघि प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ । यद्यपि दलहरुले आ-आफ्नो अडान कायमै राखेकाले कुनै सहमति हुन सकेन ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा सहमतिको प्रयास जारी राख्ने समझदारी भएको छ ।

यसअघि कांग्र्रेस र माओवादीले सोमबार नै संशोधन विधेयक टेबल गर्ने तयारी गरेका थिए । तर, प्रमुख विपक्षी एमालेसँग सकारात्मक सम्वाद चलिरहेकाले तत्काल नै संशोधनलाई बलपूर्वक टेबल नगर्ने बैठकमा सहभागी एक शीर्ष नेताले जानकारी दिए ।

बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘प्रतिपक्षीसँग मुठभेडको कुनै पनि स्थिति सृजना नहोस्, सहमतिमै निर्णय प्रक्रिया अघि बढोस् भन्ने चाहन्छौं ।’

मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएपछि एमालेसहित विपक्षी ९ दलले संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

सुरुमा मधेसी मोर्चाले पनि संशोधन विधेयकमा परिमार्जनको माग गर्दै आएको थियो । तर, उसले पछिल्लो पटक अहिलेकै संशोधन विधेयक पास भएपनि स्वीकार गर्ने बताएपछि सत्तारुढ दल माओवादी र कांग्रेस संशोधन अघि बढाउने मुडमा पुगेका थिए ।

मधेसलाई सम्बोधन गरेर जाउँ: कांग्रेस-माओवादी

सोमबारको बैठकमा स्थानीय, प्रदेश र संघीय संसदको चुनाव आगामी मंसिरभित्र गरिसक्नु पर्नेमा सत्तारुढ र प्रमुख विपक्षी दलका नेताहरुको समान धारणा देखिएको छ ।

तर, संविधान संशोधन र संसदको अवरोध हटाउनेबारे अझैसम्म सहमति हुन सकेको छैन ।

बैठकमा कांग्रेस र माओवादी नेताहरुले मधेसलाई सम्बोधन गरेर चुनावमा जानु पर्नेमा जोड दिएका छन् । मधेसलाई सम्बोधन गर्ने सवालमा मतभेद भए राख्न तर, सदनको अवरोध हटाउन प्रमुख विपक्षी एमालेका नेताहरुलाई आग्रह गरेका छन् ।

जवाफमा एमाले नेताहरुले भने संसदको गतिरोध लामो समय लम्ब्याउने पक्षमा आफूहरु पनि नरहेको बताए । तर, संविधान संशोधन विधेयक असंवैधानिक भएको र यो राष्ट्रिय हितमा नरहेको आफूहरुलाई लागेकाले सदन अवरुद्ध गर्नु परेको बताएका छन् ।

बैठकपछि एमाले अध्यक्ष केपी ओलीले संशोधन फिर्ता लिए सबै समस्या समाधान हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment