Comments Add Comment

विप्लव समूहका भोजपुरा इन्चार्ज चौरसिया पक्राउ

१२ चैत, वीरगञ्ज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भोजपुरा इन्चार्ज वीरगञ्जबाट पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१९ वर्वाटोल घर भएका विगाप्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार साँझ साढे ६ बजे उनलाई वर्वा गाउँस्थित सडकबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौरसियाबिरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

चौरसियालाई मंगलबार अदालत पेश गरिएको थियो । अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको छ । यसअघि प्रहरीले पर्साबाट पक्राउ गरेको विप्लव नेतृत्वको तीन जना नेता कार्यकर्ताहरु अहिले कारागारमा छन् ।

के छ ऐनमा व्यवस्था ?

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २ मा सार्वजनिक शान्ति विरुद्धको कसुर बारे व्यवस्था गरिएको छ ।

ऐनको दफा ६० गैरकानूनी भेला गर्न नहुने भनिएको छ । गैरकानूनी भेला हो भन्ने कुरा थाहा पाउँंदा पाउँंदै कुनै व्यक्ति त्यस्तो भेलामा सहभागी भएमा निजलाई हातहतियार नलिई सहभागी भएको भए छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना र हातहतियार लिएर सहभागी भएको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

दफा ६५ मा कसैले लेखेर, वचनले वा आकार वा चिहृनद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न नहुने भनिएको छ । त्यसो गर्नेलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना लिन सकिने व्यवस्था ऐनमा छ । चौरसिया आवद्ध पार्टीमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ ।

चौरसियाका आफन्तहरुले भने विनाकारण उनलाई नियन्त्रणमा लिएर दुःख दिने काम गरेको बताएका छन् । प्रहरीले भेट्नै नदिएको चौरसियाका नाती सञ्जिव चौरसियाले गुनासो गरेका छन् । तर, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने भेट गर्न निषेध नगरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment