+
+
Shares

२७ वर्षपछि इन्टरपोलको क्षेत्रीय सम्मेलन काठमाडौंमा हुँदै

५३ देशका इन्टरपोल प्रमुख नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १८ गते १२:१९

१८ पुस, काठमाडौं । दुई सातापछि विश्व प्रहरी संगठन इन्टरपोलको क्षेत्रीय सम्मेलनमा नेपालमा हुँदैछ । नेपाल प्रहरीको आयोजनामा इन्टरपोलको एसिया प्यासेफिक सम्मेलन जनवरी १८ देखि २० तारेखसम्म काठमाडौंमा हुन लागेको हो ।

interpol-logoअपराध अनुसन्धान विभागका एआईजी विज्ञानराज शर्माका अनुसार सम्मेलनमा एशियाका ५० देशका इन्टरपोल प्रमुख सहभागी हुनेछन् भने अमेरिका र फ्रान्स सहित ३ देशबाट पर्यवेक्षकहरु सहभागी हुनेछन् ।

सन् २०१६ मा इन्डोनेशियाको बालीमा भएको विश्व सम्मेलनले इन्टरपोलको अध्यक्षमा चीनका मेङ हङवईलाई चयन गरेको थियो । इन्टरपोलको अध्यक्षमा चयन भएपछि उनको पहिलो विदेश भ्रमण नेपालमा हुन लागेको छ ।

दुई वर्षअघि सिंगापुरमा भएको सम्मेलनमा इन्टरपोलले नेपालमा २३ औं सम्मेलन गर्न प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकार गर्दै नेपालले तीन दिने सम्मेलनको तयारी गरेको हो ।

सम्मेलनमा नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालले मानव वेचविखन विरुद्ध नेपालले चालेको कदम र अहिलेको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा एशिया प्यासिफिकमा भैरहेको आतंकवाद नियन्त्रणको प्रयास, मानव वेचविखनको अवस्था, संगठित अपराध र साइबर अपराध लगायतका विषयहरुमाथि छलफलको विषय हुने एआइजी शर्माले अनलाइनखबरलाई बताए ।

एआइजी शर्माले भने- ‘इन्टरपोलको १० औं सम्मेलन गरेको २७ वर्षपछि नेपालले यो सम्मेलन गर्ने अवसर पाएको छ, यसमा नेपाल प्रहरीले आतंकवाद नियन्त्रणदेखि मानव वेचबिखनसम्म चालेको कदमको अनुभव विश्वसमुदायलाई सुनाउनेछ ।’

काठमाडौंको हायात होटलमा हुने सम्मेलनमा सहभागी हुने विभिन्न देशका इन्टरपोल प्रमुखहरुको सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्नेछ ।

यसक्रममा कतिपय देशका प्रहरी प्रमुखहरुले परिवारसहित नेपाल घुम्ने योजना समेत बनाएको एआइजी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?