+
+

नेपाल लाइफको एफपीओमा लगानी के कति लाभ ?

विजयराज खनाल विजयराज खनाल
२०७३ पुष १८ गते १६:३६

original1470591085fpo
१८ पुस, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अहिले पनि सेयर बजारमा मूल्य २ हजार ७ सयको हाराहारीमा चलिरहेको छ । कम्पनीले हालै १ हजार ४ सय २५ मा एफपीओ जारी गर्ने स्वीकृति धितोपत्र बोर्डबाट पायो । यो कुनै एफपीओले पाएको हालसम्मकै उच्च आधिकारिक मूल्य हो ।
तर पनि कतिपय लगानीकर्ता प्राथमिक बजारमा किन्न (एफपीओमा लगानी गर्न) यो सेयर अझै लाभदायक नै देख्छन् । यसअघि पहिलोपटक प्रस्ताव गर्दा २ हजार ९ सय माथिको मूल्यमा सेयर जारी गर्ने घोषणा गरेको कम्पनीको मूल्य लगालग ४ हजार ९ सय ३६ सम्म पुगेको थियो । तर त्यो दरमा विवादहरु देखिएसँगै मूल्य केही घटेको हो । यद्यपि कम्पनीको मूल्य अहिले पनि उच्च नै रहेको छ ।

‘बिना व्याजको पुँजी लगानी गरेर यो कम्पनीको सेयरमा आवेदन दिनेले यसको मूल्य घटेर ८ सयमै आयो भने पनि नोक्सान हुने देखिदैन्,’ एक लगानीकर्ताले ब्याख्या गरे । उनको हिसाबको विधीलाई मान्ने हो भने नोक्सान देखिदैन पनि । उनको भनाई अनुसार अहिले कम्पनीको चुक्ता पूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । कम्पनीले अब एफपीओ जारी गरेर लगानीकर्ताबाट ४ अर्ब ४१ करोड रुपैयाँ उठाउने देखिन्छ । यसरी उठेको मध्ये मात्रै ३० करोड रुपैयाँ चुक्ता पूँजीमा जोडेर बाँकी ४ अर्ब १० करोड रुपैयाँ कम्पनीले आफ्नो सञ्चितीमा राख्छ । अहिले बजारमा हल्ला चलेजस्तो नियामक निकायले जीवन बीमा कम्पनीले चुक्ता पूँजी बढाएर ५ अर्ब पुर्याउन लगाएमा पनि बाँकी रकम मध्ये २ अर्ब ५२ करोड रुपैयाँ खर्च गरे पुग्छ । २५ प्रतिशत बोनस सेयर दिइसकेको यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउँन परेमा कम्पनीले एफपीओपछि अझै १ सय १ प्रतिशत थप बोनस सेयर जारी गर्नुपर्छ । यो सम्भव भएमा कम्पनीको सेयर मूल्य बजारमा घटेर ८ सय रुपैयाँ कै हाराहारीमा आएमा पनि थप बोनस पाउनेलाई लगभग प्रतिकित्ता १ सय ७५ रुपैयाँ नाफा रहन्छ । कम्पनीको सेयर मूल्य २०६९ भदौं अन्त्यमा पहिलोपल्ट बढेर १ हजारको तहमा आइपुगेको हो । त्यसैले अहिलेको मूल्यबाट यो तहमा पुग्न कम्पनीको मूल्य ६३ प्रतिशतसम्म घट्नु पर्छ ।

धितोपत्र बोर्डले समेत एफपीओको मूल्य बढि वैज्ञानिक हुने भन्दै चार आधारमा मूल्य निर्धारण प्रक्रिया अपनाएकोले पनि अहिले कम्पनीलाई दिइएको मूल्य आधार राम्रै भएको टिप्पणी पनि बजारमा हुन थालेको छ ।

तर पर्खनुस् !

माथि उल्लिखित उदाहरणमा जस्तो भयो भने निश्चय नै पनि बिना व्याजको पूँजी लगानी गर्नेलाई धेरै नाफा नभएपनि घाटै भने हुदैन् । आफ्नो पूँजीले पाउँन सक्ने बार्षिक व्याज दर जस्ता प्रतिफलको हिसाब गर्दा भने यो अवस्थामा घाटा नै हो । तर बिचार गर्नुपर्ने कुरा के हो भने सेयर मूल्य भनेको बजारको जोखिममा आधारित हुन्छ । कम्पनीको मूल्य यति नै पुग्छ वा यही रहिरहन्छ भनेर ठोकुवा गर्नु नै मुर्खता हुन्छ ।

बजारमा गरिएको लगानी जोखिम रहित भने हुदैन् । यस संस्थाको हकमा पनि केही जोखिमहरु छ । कम्पनीले बोनस सेयर दिने निर्णय तबसम्म बाध्यकारी हुदैन् जबसम्म चुक्ता पूँजीको बाध्यकारी नीति आउँदैन् । बीमा कम्पनीको चुक्ता पूँजी वृद्धिको निर्णयमा देखिएको विवाद पनि यही हो । कम्पनीले उठेको सबै रकम बाढ्नुभन्दा आफ्ना थप योजनाहरु अगाडी बढाउन लागेमा लगानीकर्ताले सोचेजस्तो तत्काल उल्लेख्य लाभांश आउने सम्भावना रहदैन् ।

कम्पनीकै वित्तीय विवरण हेर्ने हो भने अहिलेको बजारमा चलेको सेयर मूल्य जोखिम रहेको देखिने केही आधारहरु पनि छन् । कम्पनीको मूल्य आम्दानी अनुपात गत असोजअन्त्यमा ३ सय ७२ रुपैयाँ रहेको छ । यसको अर्थ लगानीकर्ताले कम्पनीले कमाइरहेको एक रुपैयाँलाई ३ सय ७२ रुपैयाँ तिरीरहेका छन् भन्ने हो । सिद्धान्तः यो अनुपात २५ को हाराहारीमा हुनुलाई आदर्श अनुपात मानिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ  र प्रतिसेयर नेटवर्थ पनि जम्मा १ सय २१ रुपैयाँ रहेको छ।

हुनतः यस कम्पनीलाई यस क्षेत्रमा बलिया (पूँजी र व्यवसाय आधारमा) कम्पनीहरु मध्येकै एक मानिन्छ । कम्पनीले बार्षिक रुपमा २०/२५ करोड रुपैयाँसम्म दाबी भुक्तानी गरिरहेको पनि देखिन्छ । कम्पनीले तिर्न बाँकी दाबी भुक्तानी पनि ३४ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । यसअघि १९ करोड यस्तो भुक्तानी तिर्न बाँकी रहेकोमा एक वर्षको अवधिमा नै यो रकममा ७९ प्रतिशतसम्म वृद्धि भएको हो । कम्पनीसँग स्थिर सम्पत्ती बाहेक नै बीमालेखमा जारी गरिएको ४ अर्ब ३४ करोड रुपैयाँको कर्जा र ११ अर्ब रुपैयाँका लगानी चालु सम्पत्तीको रुपमा रहेको छ । यता, चालु दायित्वमा १ अर्ब २१ करोड रुपैयाँ रहेको देखिन्छ । ३४ अर्ब भन्दा केही बढि रकम बिभिन्न कोषमा रहेको देखिन्छ ।

कम्पनीको बार्षिक आम्दानी २२ करोड रुपैयाँ रहेको छ । कम्पनीमा हाल जारी भएर अवधि रहेका १० लाख बीमा लेख छन् अर्थात् १० लाखओटा बीमाको अवधि बाँकी छ । भवितब्यमा हुन सक्ने जोखिमहरुले पनि कम्पनीको अवस्था सधै एकैनास रहन्छ भन्न सक्ने आधारहरु हुँदैन् । त्यस्तै एफपीओ जारी भएपछि बजारमा सेयरको आपुर्ती पनि बढ्ने छ । एफपीओ स्वीकृतीयता अहिले नै पनि बजारमा सेयरको आपूर्ति बढिरहेको देखिन्छ । अन्य क्षेत्रमा तुलनात्मक लाभ बढि देखिदा पनि लगानीकर्ताहरुले बिक्री चाप बढाउन सक्ने सम्भावना रहन्छ । हाम्रो बजारको वृद्धिसँगै कम्पनीहरुको सेयर मूल्य पनि बढ्ने र घट्दा घट्ने प्रवृत्ति पनि रहिआएको छ । कम्पनीको सेयर मूल्यको उतारचढाव र बजारको उतारचढावको अध्ययन गर्दा के देखिन्छ भन्ने जस्ता अध्ययनहरु पनि आवश्यक हुन्छ । सधैं बुझ्न पर्ने कुरा के हो भने बजारमा लगानी गर्दा भने फाइदा बेफाइदा, हुनसक्ने असर, आउने सम्भावनाहरुको आकलन गरेर लगानी गर्नुपर्छ ।

नेपाल लाइफको एफपीओ पुस २७ बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?