Comments Add Comment

अब संसद खोलेर निर्वाचनमा जानुपर्छः प्रधानमन्त्री

चुनावमा केन्द्रित हुन माओवादी कार्यकर्तालाई निर्देशन

prachanda-at-biratnagar

१९ पुस, झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब संसदको अवरोध खोलेर चुनावमा जानुपर्ने बताएका छन् । उनले आफ्नो पार्टीका कार्यकर्तालाई चुनावमा ध्यान केन्द्रित गर्न निर्देशनसमेत दिएका छन् ।

सर्वोच्च अदालतले संविधान संशोधनको बाटो खुल्ला गरिदिएको भोलिपल्ट प्रधानमन्त्रीले राजधानी बाहिरको कार्यक्रममा भने- ‘संविधान संशोधनको विकल्प छैन ।’

मंगलबार झापा पुगेका प्रधानमन्त्रीले यहाँ आयोजित कृषिसम्बन्धी कार्यक्रममा बोल्दै संविधान कार्यान्वयनका लागि संशोधनको विकल्प नरहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेसम्म संशोधनको प्रस्ताव प्रक्रियामा आउन नदिएर संविधानको कार्यन्वयनमा अवरोध सिर्जना गरिरहेको गुनासो गरे ।

प्रधानमन्त्रीले भने- ‘हामी सत्ता पक्ष र प्रतिपक्षी मिलेर यहाँ आएका छौं । सरकार संविधान संशोधनमार्फत् संविधान कार्यान्वयनको बाटो खोल्न चाहन्छ । अब संसद खोलेर निर्वाचनमा जानुपर्छ ।’

राम्रोलाई राम्रो भन्ने संस्कारको विकास गर्न सक्यौं भने देशले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटो लिने बताउँदै प्रधानमन्त्रीले भने- ‘हामी सबैले त्यसैका लागि साझा संकल्प गरौं ।’

चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन

यसैवीच प्रधानमन्त्री प्रचण्डले तेह्रथुममा आफ्नो पार्टी माओवादी केन्द्रका कार्यकर्तालाई निर्देशन दिँदै अब चुनाव केन्द्रिय कार्यक्रममा लाग्न आग्रह गरे ।

तेह्रथुमको संक्रान्ति बजारमा अग्निपीडितहरुसँग भेटघाट गरेपछि प्रधानमन्त्रीले जिल्लास्थित कार्यकर्तालाई केहीबेर प्रशिक्षण दिएका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र निर्वाचनद्वारा संविधान कार्यान्वयन गर्नु राष्ट्रिय कार्यभार भएको बताए । अब निर्वाचनकेन्दि्रत कार्यक्रममा होमिन उनले जिल्लाका कार्यकर्ताहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment