Comments Add Comment

स्ववियु चुनाव फागुन १४ मा, २८ वर्ष उमेर हद तोकियो

पहिलो पटक क्याम्पसको चुनावमा पनि मिश्रित निर्वाचन प्रणाली

२० पुस, काठमाडौं । बिगत ८ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ । त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)को बुधवारको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो ।

TU-Building२०६५ सालमा भएको स्ववियु निर्वाचन त्यसयता बिभिन्न विवाद र असहमतिका कारण हुन सकेको छैन । त्रिवि नियमअनुसार प्रत्येक २ वर्षमा स्ववियु निर्वाचन हुनुपर्छ ।

२८ वर्ष उमेर हद

सिनेट बैठकले स्ववियु निर्वाचनमा उम्मेदवार हुने उमेर हद २८ वर्ष कायम गरेर फागुन १४ को मितिमा सहमति जनाएको त्रिवि सभा सदस्य एवम् अनेरास्ववियुकी अध्यक्ष नविना लामाले बताइन् ।

यसअघि उमेर विवाद लगायत अन्य विषय सहजीकरण गर्न मंसिरको सिनेट बैठकले शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलमा अखिल, नेविसंघ र अखिल क्रान्तिकारीका अध्यक्ष पनि थिए ।

अब चुनाव हुँदैन कि भन्ने आशंका अन्त भएको लामाले बताइन् । उनले निर्वाचनको मिति घोषणाले आफूहरु उत्साहित भएको प्रतिक्रिया दिइन् । लामाले भनिन्, ‘अखिल स्ववियु निर्वाचनमा कहिल्यै दोस्रो भएको छैन, हाम्रो लागि चुनाव जसरी पनि चाहिएको थियो ।’

नेविसंघ अध्यक्ष नैनसिंह महरले पनि अब निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले स्ववियु निर्वाचनको मितिमा अब तलमाथि नहुने प्रतिक्रिया दिए ।

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेर हद तोकिएको छ । सर्बोच्च अदालतले समेत आदेश दिइसकेको विषय भएकाले २८ वर्ष कटेकाले उम्मेदवार बन्न नपाउने सहमति भएको छ ।

यसअघि नेविसंघले उमेर हद लागू गर्न नहुने अडान लिएको थियो । अधिकांश क्याम्पसमा नेविसंघको सभापतिका उम्मेदवारका आकांक्षीहरु ४० वर्षसम्मका छन् । क्रान्तिकारीले उमेर हदमा जोड दिएको थियो । हिमाल शर्मा अखिल क्रान्तिकारीको अध्यक्ष हुँदा उमेर हदको विषय पहिलोपटक उठाइइएको थियो ।

अनेरास्ववियुले उमेर हद २८ कायम हुनुपर्नेमा सहमति जनाएपछि त्रिवि सिनेटले पास गरेको हो । यो व्यवस्थाले नियमित विद्यार्थीहरु नै स्ववियुमा निर्वाचित हुने वातावरण बनेको छ । नत्र स्ववियुमा जित्नकै लागि बुढा विद्यार्थीहरु भर्ना हुने गर्थे ।

मिश्रित निर्वाचन प्रणाली

यसैबीच स्ववियु निर्वाचन अब मिश्रित प्रणालीबाट हुने भएको छ । यसअघि सभापति सहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था थियो । मतदाताले उम्मेदवारको नाममा मत दिने प्रणाली थियो ।

अब भने प्रत्यक्ष र समानुपातिक दुवै हुनेछ । सभापति, सचिव र कोषाध्यक्ष सहित बहुमत सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् ।

उपसभापति र सहसचिव सहित अन्य सदस्य भने विद्यार्थी संगठनले प्राप्त गरेको मतका आधारमा बाँडिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment