Comments Add Comment

फेरियो सवारी ट्रायलको नियम, सुरुमै ‘टी’ सेप पास गर्नुपर्ने

vechile-trail-centre-licens

२१ पुस, काठमाडौं । काठमाडौंबाट चार पांग्रे सवारीका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न ट्रायलको तयारी गर्दै हुनुहुन्छ ? अब ट्रायल गर्ने विधि फेरिएको छ, त्यसैले त्यसै अनुसार तयारी गरेरमात्रै जानुहोस् ।

यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले ट्रायलको बिधि र नियममा नियममा परिवर्तन गरेको हो । अब पहिलेजस्तो पार्किङबाट सवारी सीधै ‘एट’ सेपमा प्रवेश गर्ने छैन ।

अब बग्गीखानामा ट्रायल दिँदा सुरुवातमै गाडीले ‘टी’ सेपलाई क्रस गर्नुपर्ने गरी नियम बनाइएको यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । यसअनुसार गाडी चालकले गाडी स्टार्ट गरेपछि ‘टी’ सेपमा गाडी लैजानेछन् ।

यसअघि ‘एट’ सेपबाट ट्रायल सुरु हुन्थ्यो र ‘टी’ मा पुगेर टुङ्गिन्थ्यो । र, सबै सेप पार गरेकाहरु पनि प्राय ‘टी’मा धेरै फेल समेत हुने गरेका थिए । ‘टी’ सेप ट्रायलमा सबैभन्दा कठिन सेप मानिन्छ ।

अन्तिम पुगेर फेल हुँदा परीक्षार्थीको समयको नास मात्र हुने गरेको गुनासो समेत आउने गरेको थियो । साथै पछिल्लो दिनमा लिखित दिएर ३ पटकसम्म ट्रायल दिन पाउने ब्यवस्था गरिएको छ । यसैका कारण ट्रायल सेन्टरमा चाप बढेपछि अप्ठ्यारो मानिएको ‘टी’ स्टेपलाई सुरुमै ल्याइएको स्रोतको दावी छ ।

अब कमजोर रहेकाहरु पहिलो चरणको ‘टी’ मा नै फेल हुने भएकाले समयको बचत हुने कार्यालयको दाबी छ । यसबाट ट्रायल छिटो-छिटो गर्न सकिने कार्यालयका एक अधिकारी बताउँछन् ।

अब गाडी स्टार्ट भएपनि पहिला ‘टी’ हुँदै ‘एट’, ‘यु’, भएर हाइटमा चढेर र्‍याम्प पुगेपछि ट्रायल पास हुन्छ । तर, बिहीबारदेखि लागू भएको नयाँ व्यवस्थाले बग्गीखानामा ट्रायल दिँदा अझ असजिलो हुनेछ । सुरुवातमै कठिन स्टेपलाई राखिदिँदा ट्रायल दिनेलाई आत्मविश्वासमै कमी आउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment