Comments Add Comment

नेपाल र भारतीय आपराधिक समूहबीच ‘ग्याङवार’

गोली हानेर नेपाली नाइके समात्यो प्रहरीले

baba-giri
घाइते बृज किशोर गिरी

२५ पुस, काठमाडौं । गत पुस १३ गते बाराको सहजनाथ सामुदायिक जंगलमा दुई भारतीय नागरिकको हत्या दुई समूहबीचको ग्याङवारमा भएको खुलेको छ । भारतका आपराधीक समूह र नेपालका समूहबीच भएको वारमा दुई भारतीय अपराधी मारिएको प्रहरी स्रोतले जनाएको छ ।

भारतको ‘राजु’ समूह र बाराको ‘गिरी बाबा’ नामको समूहबीच भएको वारमा भारतीय समूहका अरुण राम र दिपक रामको ज्यान गएको थियो । जंगलमा मध्यरातमा नेपालका समूहले भारतीय समूहका अरुण र दिपकको घाँटी रेटेर हत्या गरेका थिए ।

नेपाली समूहको नाइके पक्राउ

दुई देशको आपराधीक समूहबीच ग्याङवार भएको खुलेपछि काठमाडौंबाट प्रतिआतंकवाद सेल अर्थात विषेश ब्युरोको टोली बारा पुगेको थियो । मध्यरातमा जंगलमा दुई आपराधीक समूहको भिडन्त भएको खुलेपछि पुगेको विषेश ब्युरोको टोलीले नेपाली समूहको नाइकेलाई पक्राउ गरेको छ ।

विषेश ब्युरोबाट पुगेको टोलीले ‘गिरी बाबा’ समूहका नाइके गिरी बाबा भन्ने बृज किशोर गिरीलाई पक्राउ गरेको हो ।

भारतीय समूहका दुई जनाको हत्यापछि फरार भएका गिरी पर्सामा लुकेर बसेका थिए । प्रहरी आएको थाहा पाएलगतै भारततिरै भाग्न खोज्दा विषेश ब्युरोको टोलीले ६ राउण्ड गोली चलाएको थियो । गोली लागेर ढलेपछि गिरीलाई नियन्त्रणमा लिएको थियो ।

विषेश ब्युरोका डिआइजी बमबहादुर भण्डारीले पनि बारामा नेपाल र भारतको आपराधीक समूहबीच भएको ग्याङवारको अनुसन्धान गर्न टोली बारा गएको बताए ।

अनलाइखबरसँग उनले भने, ‘दुई देशको समूहबी वार भएको भन्ने खुलेपछि हामीले चासो दिएका हौं । अनुसन्धानको क्रममा दुवै आपराधीक समूह भएको खुलेको छ थप अनुसन्धान गर्दै छौं ।’

प्रहरी स्रोतका अनुसार नेपालको गिरी बाबा समूहले भारतमा कुनै घटना गराउने योजना बनाइरहेको थियो । त्यही घटनामा भारतीय राजु समुहलाई पनि सामेल गराउन खोजेका थिए ।

‘१२ लाख सुपारी दिएर नेपाली समुहले घटना गराउन खोजेका थिए । तर पैसा लिएर काम नगरेपछि नेपाली समूहले भारतीय समूहका दुई जनाको हत्या गरेको भन्ने खुलेको छ तर के घटना गराउन खोजेका थिए भन्ने खुलेको छैन,’ प्रहरी स्रोतले भन्यो ।

डिआइजी भण्डारीले पनि यो दुई समूहले कुनै घटना गराउने योजना बनाएको सूचनाकै आधारमा आफूहरुले अनुसन्धान गरेको बताए ।

‘घटनामा संलग्न केही व्यक्ति फरार छन् । यो समुहको लिंक हत्या काण्डमा मात्रै सीमित नहुन सक्छ । त्यसैले विषेश ब्युरोले अनुसन्धान गरिरहेको डिआइजी भण्डारीले बताए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment