Comments Add Comment

अख्तियारबाट सताइएका डाक्टरः जसले कलेजो प्रत्यारोपणमा क्रान्ति गरे

बेलायतबाट फर्किए, पत्नीलाई अमेरिकाबाट स्वदेश फर्काए

dr-pukar-shresth-810

२८ पुस, काठमाडौं । स्वदेशमा वा विदेशमा बसेर नेपाललाई सराप्नेहरुको संख्या बढिरहेका बेला आफ्नो देशलाई राम्रो बनाउन सकिन्छ र बन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्- डा. पुकार श्रेष्ठले । डा. पुकार बेलायतको राम्रो जागिर छाडेर नेपाल फर्किएका हुन् । उनी आफूमात्रै स्वदेश फर्किएनन्, युएनमा जागिर खाइरहेकी पत्नीलाईसमेत अमेरिकाबाट नेपाल फर्काउने व्यक्तिसमेत हुन् ।

करिब एक महिनाअघि नेपालमा पहिलोपटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण भयो । नेपालजस्तो अल्पविकसित मुलुकमा ‘कलेजो प्रत्यारोपण’ जस्तो जटिल शल्यक्रिया कसरी सम्भव भयो त ? यसको श्रेय पनि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक यिनै डा. पुकार श्रेष्ठलाई जान्छ ।

डा. श्रेष्ठलाई अर्को पनि श्रेय जान्छ । कैयौं नेपालीहरु उपचारका लागि भारत र थाइल्याण्ड जाने गरेका छन् । तर, डा. श्रेष्ठको नेतृत्वमा रहेको भक्तपुरको मिर्गौला प्रत्यारोपण केन्द्रमा उपचारका लागि विदेशबाटसमेत बिरामीहरु आउन थालेका छन् । नेपालको मेडिकल क्षेत्रमा या एउटा गौरबमय क्रान्ति नै हो भन्दा फरक नपर्ला ।

कलेजोको प्रत्यारोपण अब नेपालमै सम्भव छ भनेर देखाउनु चानचुने कुरा थिएन । तर, डा. श्रेष्ठले नेपालको मेडिकल क्षेत्रमा नयाँ इतिहास रचेका छन् । विदेशमा कुस्त आम्दानी गरिरहेका डा. श्रेष्ठले नेपालमा फर्केर पाएको दुःख एवं संघर्षको कथा सुन्ने हो भने धेरै मानिसहरु उनीप्रति नतमस्तक हुन्छन् ।

पहिलो बेलायत यात्रा

डा. पुकार श्रेष्ठ सन् १९९८ सम्म वीर अस्पतालमा कार्यरत थिए । त्यसपश्चात्त चार वर्ष उनले ललितपुरको पाटन अस्पताल र बुटबलको अस्पतालमा काम गरे ।

यसक्रममा उनले १५ /२० वर्षको उमेरका धेरै मानिसहरुको कलेजो तथा मिर्गौला फेल भएको देखे । र, यही कारणले उनलाई नेपालमा पनि ‘कलेजो प्रत्यारोपण’ गर्न पाए हुन्थ्यो भन्ने भित्रैबाट महसुस भयो । तर, उनीसँग यसबारे अध्ययन थिएन ।

‘तँ चिता, म पुर्‍याउँछु’ भनेजस्तै उनले नेपालका युवा सर्जनहरुलाई लक्षित गरी स्कटल्याण्डको इडनबर्गले प्रदान गर्न लागेको छात्रवृत्तिबारे जानकारी पाए । र, तीन हजार पाउण्डसहित बेलायतमा हुने ‘कलेजो प्रत्यारोपण’ सम्बन्धी छ हप्ताको तालिममा उनले खुला प्रतिस्पर्धाबाट आवेदन दिए । यहीँबाट उनको नयाँ यात्रा शुरु भयो ।

dr-pukar-shresth-3

छात्रवृत्ति हात पारेपछि डा. श्रेष्ठ अध्ययनका लागि बेलायततर्फ लागे । बेलायतमा ६ हप्ताको बसाइमा उनले त्यहाँ ‘कलेजो प्रत्यारोपण’बारे बुझन् मौका त पाए नै, उनीहरुको अनुसन्धानमा समेत सामेल भई धेरै कलेजो काट्दा स्वास्थ्यमा कस्ता समस्या आउँछन् भन्ने विषयमा पनि अनुसन्धान गर्ने अवसर प्राप्त गरे । उक्त अनुसन्धान डेढ महिनामा सकेर नेपाल र्फकने दिन उनले त्यसको कार्यपत्रसमेत प्रस्तुुत गरे ।

त्यो अनुसन्धानले बेलायतका प्रोफेसरहरु खुशी भए । तोकिएको समयावधि भन्दा पहिले नै दिएको कार्य सम्पन्न गर्न पाउँदा डा. पुकारको पनि खुशीको सीमा रहेन ।

कलेजो प्रत्यारोपण कसरी गरिन्छ भनेर हेर्न आएको एउटा विदेशी डाक्टर, त्यो पनि नेपाली केटोले त्यस्तो विकसित ठाँउमा गएर विशेषज्ञ सामु तिमीहरुको रिपोर्ट यस्तो छ र अनुसन्धानको नतिजा यस्तो छ भन्नु चानचुने कुरा थिएन ।

दोस्रो बेलायत यात्रा, घाम नहेरी कामै काम !

नेपाल फर्केको धेरै समय बित्न नपाउँदै बेलायतीहरुले ‘यो केटाले त केही गर्ला जस्तो छ’ भनेर सोचेछन् । त्यसैले सन् २००२ मा डा. पुकारलाई विशेष तालिमका लागि फेरि बेलायत बोलाइयो ।

उक्त दोस्रो तालिमको माध्यमबाट डा. पुकारले त्यहाँका थुप्रै कुरा नियाल्ने मौका पाए । यससम्बन्धी उनले धेरै कुरा देख्ने तथा भोग्ने मौका पनि पाए ।

डा. श्रेष्ठले नेपालको विकट जिल्ला बाग्लुङमा जन्मेर त्यहीँको विद्यालयमा पढेका हुन् । त्यसपछि उनले काठमाडौको सरकारी कलेज अमृत साइन्स क्याम्पसबाट आईस्सी पास गरे । उनको अंग्रेजी त्यतिबेला बेलायतीहरुको जस्तो फरर थिएन ।

बोल्दा पनि आफुले बोलेको उनीहरुले नबुझ्लान् भन्ने डर थियो । उनीहरुले बोल्दा आफुले नबुझ्ने हो कि भन्ने डर पनि त्यतिकै थियो । ‘हरेक दिन उनीहरुसित बोल्नुपर्दा नबुझिएला कि भन्ने डर भइराख्दा कस्तो तनाव होला ? त्यो पनि विरामीसित प्रत्यक्ष सम्बन्ध राख्ने कुरामा ?’ उनी सम्झन्छन् ।

उनी भन्छन्, ‘उनीहरुले नगर् भनेको कुरा गरिएला भन्ने डर, गर् भनेको कुरा नबुझेर नगरिएला भन्ने डर ।’ त्यो सोच्ने हो भने मात्रै पनि तनाव त धेरै थियो, तर पनि काम चाहिँ गरियो ।’

डा. श्रेष्ठले बेलायतमा रहेका बेला भएको रमाइलो प्रसंग सम्झिए । उनले भने- ‘कलेजो प्रत्यारोपणका दौरान उनीहरु मलाई यो गर्, त्यो गर् भन्थे । आफु त होचो कदको मान्छे । उनीहरु परे अग्ला अग्ला । आफु त होचो भएर टेबलमाथि पनि नदेख्ने । उनीहरु चाहिँ यो गर् त्यो गर् भनिराख्थे । यो अवस्थामा गाली त कति खाइयो कति ।’

उनी सम्झन्छन्- ‘पछि यस्तै रै’छ भनेर काम गर्दै जादाँ उनीहरुले पनि कुरा बुझ्दै गए । यतिसम्म कि, ए, तिमीलाई आवश्यक भए मेच राखेर उभिएर काम गर न ..भन्न थाले ।’

यसरी सदभाव पाउँदै जाँदा उनको काम र सिकाइ सहज तरिकाले अगाडि बढ्दै गयो । यही क्रममा उनले बेलायतबाटै रोयल कलेजको जाँच (एमआरसीएस) पास गरे । लगत्तै उनलाई त्यहीँ जागिरको प्रस्ताव पनि आयो ।

त्यतिबेला, बेलायतको बर्मिङ्गगममा प्रतिवर्ष दुईसय वटा कलेजो प्रत्यारोपणको काम हुने गर्‍थ्र्यो । रात दिन ब्रेन डेथ भएका दाताको कामहरु हुन्थ्यो । दाताले दिएको अंग ल्याउन र अरुमा अंग प्रत्यारोपण गर्न डा. श्रेष्ठले रातारात बेलायतका विभिन्न शहरहरु धाउन थाले ।

यसरी काम गर्दै जाँदा उनलाई कताकता मनमा यस्तो पनि लाग्थ्यो कि जुन देशमा प्रत्यारोपणको सुविधा नै छैन, त्यो देशमा सिधै कलेजो प्रत्यारोपण गर्छु भन्नु हास्याँस्पद त हुँदैन ? किनकि कलेजो प्रत्यारोपणका लागि चाहिने त्यो गम्भीरता, त्यो जटिलता, त्यो किसिमको जनशक्ति, पूर्वाधार र कानून नेपालमा थिएन ।

यो देख्दा कलेजोभन्दा कम जटिल तथा गर्न सजिलो मिर्गौला प्रत्यारोपणको सुविधा नभएको नेपालमा मिर्गौला प्रत्योपन गर्न सकेमात्रै कलेजोको काम अगाडि बढाउन सजिलो हुन्छ भन्ने कुराले डा. श्रेष्ठको दिमागमा घर जमायो ।

र, यसका लागि उनले मिर्गौला, कलेजो, प्यान्क्रियाज, सानो आन्द्रा, फोक्सोलगायतका सम्पूर्ण अंग प्रत्यारोपण हुने ठाउँ कहाँ छ त ? भनेर खोज्न थाले । यसक्रममा उनले उत्तरी बेलायतको ‘न्यू क्यासल’ भन्ने ठाउँ पत्ता लगाए ।

लगत्तै सन् २००४ मा उनले न्यू क्यासलमा तालिमका लागि दरखास्त दिए र छनोटमा परी त्यहाँ काम गर्ने अवसर प्राप्त गरे ।

त्यहाँ उनले मिर्गौला, कलेजो तथा प्यान्क्रियाज तीनैवटा अंग प्रत्यारोपण गर्ने काममा संलग्न हुने मौका पाए । जहाँ उनले अंग, निकाल्ने, अंग राख्ने, पोस्ट अप, प्री अप लगायतका सबै विभागमा बसेर काम गरे । जुन, तालिम संसारकै उत्कृष्ट मध्येको थियो ।

त्यहाँ काम गर्दा उनको ड्युटी सोमबारदेखि शुक्रबारसम्म थियो । शनिवार र आइतबार छुट्टी थियो । तर, उनी हरेक दिन अस्पताल जान रुचाउँथे । यतिसम्म कि बिहान आठै बजे अस्पताल पुगेको मान्छे, राउण्ड भए राउण्डमा जान्थे, नभए सिधै अपरेशन थिएटर (शल्यकक्ष) मा घुसिहाल्थे ।

त्यसरी घुसेर उनी चिकित्सकहरुलाई चाहिएका बेला मद्दत गर्थे । नभए शल्यक्रिया गरेको हेरेरै दिन बिताउँथे ।

त्यसरी काम गर्दा ‘यसले धेरै नै काम गर्छ है’ भन्ने प्रभाव सबैमा परिसकेको थियो नै, यस्तो राम्रो घाम लागिरहेका बेला तिमी कहाँ अस्पताल गइरहेको, हिँड बरु घुम्न जाऊँ भनेर पनि उनलाई बेलाबेलामा केटीहरुले जिस्काउँथे ।

डा. श्रेष्ठ सम्झन्छन्- ‘तर म भने कसरी हुन्छ, सिकौ भन्नेमै केन्द्रित हुन्थें । नेपालमा यस्तो घाम त कति लाग्छ कति, हामी त सिक्न आएको मान्छे, सिक्ने हो भन्दै म जसरी हुन्छ अस्पतालमै घुस्थें ।’

यसरी काम गर्दा उनलाई रमाइलो अनुभूति हुन्थ्यो ।

dr-pukar-shresth-1

सन् २००५-००६ को तालिममा जब उनी वरिष्ठ रजिष्ट्रार पदमा बढुवा भए, त्यतिबेला उनी अस्पतालको ‘लिडर’ नै बने । ‘साथीभाइलाई समेत तिमी यसो उसो गर भन्ने सक्ने भए । जुन अनुभव उनी शब्दमा वयान गर्न सक्दैनन् ।

त्यसो त सुरु-सुरुमा टीममा बस्न पाइन्छ कि पाइँदैन, अपरेशनमा बस्न पाइन्छ कि पाइँदैन भनेर चिन्ता गर्ने डा. पुकार अब त्यहाँका चल्तापूर्जा नै बने । यतिसम्म कि केही भयो भने आफुभन्दा बरिष्ठ चिकित्सकहरु समेत पुकारलाई बोलाउ, पुकारले नै गर्छ सम्म भन्थे ।

कोही एक महिनाको छुट्टीमा बाहिर गयो भने पनि त्यो अवधिको पूरा काम उनैलाई सुम्पेर जान्थे । त्यो पनि उच्च पारिश्रमसहित ।

एक घण्टाको ५५ पाउण्डको हिसाबले हप्तामा शुक्रबार, शनिवार र आइतबार पनि काम गर्ने हो भने त उनी हप्तामै ३/४ लाखै कमाउँथे ।

उनी भन्छन्- ‘जब मैले त्यो सबै काम पैसाका लागि मात्रै गरेको थिइनँ । काम नसिक्दासम्म सिक्नुपर्छ भन्ने भयो, सिकिसकेपछि खोजी खोजी नै ड्युटीमा राख्न थाले ।’

यसरी काम गरेकोमा उनलाई आत्मसन्तुष्टि त मिल्यो नै, मेहेनतपूर्वक काम गरेर सन्तुष्टि पाएबापत बैंकमा पनि रकम जम्मा हुदाँ अझ बढी रमाइलो लाग्यो ।

स्वदेशको सम्झना, नेपाल फिर्ता

यसरी दुई वर्ष मिहनेतपूर्वक काम गरिसकेपछि जब उनको तालिम पूरा भयो, त्यतिबेला त्यहाँका चिकित्सकले उनलाई कन्सल्टेन्ट भएर एउटा विभाग चलाउन आग्रह गरे ।

पैसाका लागि नभई आफ्ना लागि र देशका लागि काम गरेका डा. पुकारले त्यो प्रस्तावलाई सिधै नकारिदिए । उनले आफ्ना प्रोफेसरहरु समक्ष भने- ‘सरी प्रोफेसर, नेपालमा यो सेवा छैन, त्यसैले अब आफ्नै देशमा गएर काम गर्छु ।’

यो सुनेर उनीहरुले नेपालमा कलेजो प्रत्यारोपणका व्यवस्था नै छैन भने कसरी काम गर्छौं भन्दा उनले ‘अब तिमीहरुले सहायता गर्नुपर्‍यो नि’ भन्ने जवाफ दिए ।

वीर अस्पतालमा बडो दुःख

अन्ततः सन् २००८ मा डा. पुकार श्रेष्ठ नेपाल फर्केर नेपालमा मिर्गौला प्रत्यारोपण गर्नतिर लागे । यसमा उनलाई बेलायतका प्रोफेसरहरुले पनि निकै साथ दिए ।

तर, जब उनले वीर अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सुरु गरे, त्यतिबेला न त प्रत्यारोपणका लागि शल्यकक्ष नै दिइएको थियो, न पर्याप्त जनशक्ति नै ।

कागजमा विभागीय प्रमुख लेखिए पनि प्रत्यारोपणका लागि चाहिने कुनै सुविधा त्यहाँ थिएन । यतिसम्म कि प्रत्यारोपण गर्दा चाहिने जुनियर एनेथेसिस्ट सम्म पनि उनलाई दिइएको थिएन । उनलाई सहयोग गर्नेहरु पनि कमै थिए । यसले के प्रत्यारोपण गराउला र भनेर शंका गर्नेहरु चाहिँ धेरै थिए ।

तर, यस्तो वातावरणमा पनि उनले कहिल्यै हार मानेनन् । बरु आफू भन्दा साना एमएस् गरिरहेका भाइहरु सामु हात जोडेरै भए पनि कहिले महिनामा एउटा त कहिले दुईवटासम्म भए पनि उनले मिर्गौलाको सफल प्रत्यारोपण गरेरै छाडे ।

कति जनाले त तिम्रो कोही छैन, को आएर काम गर्छसम्म पनि भने, । जवाफमा उनी ‘हो भाइ, यहाँ कोही छैन, त्यसैले एकैछिन पख है, अब को आउँछ भन्दै कुरेर बस्थे ।

यस्तो हालतमा पनि वीर अस्पतालमा हुदाँसम्म उनले झण्डै सय वटा मिर्गौलाको सफल प्रत्यारोपण गरेरै छाडे । यसमा ९९ प्रतिशत प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनी बताउँछन् ।

उनी देशमा केही गर्नै भनेर बेलायतबाट नेपाल आएका थिए । कि त गरेरै जानुपर्‍यो । नभए बेलायतै फर्केर जानुपर्ने बाध्यता थियो । तर, उनको मन कुनै पनि हालतमा बेलायत फर्कन मञ्जुर थिएन ।

डा. पुकार भन्छन्- ‘म नेपालमै बसेर जति रमाउन सक्छु, त्यो बेलायत बसेर प्राप्त हुँदैनथ्यो । किनकि मलाई बेलायत बसेर पैसा कमाउनु पनि थिएन, उनीहरुको अंग्रेजी नबुझे पनि हाँस्नुपर्ने वा होमा हो मिलाउनु पर्ने हुन्थ्यो । खाना नमिठो लागे पनि खानु पर्ने हुन्थ्यो ।

डा. श्रेष्ठलाई एउटा कुराले साह्रै बिझाएको थियो । उनी भन्छन्- आफूले जानेको कुरा नेपालमै सदुपयोग गर्न पाए पो उद्देश्य पनि पूरा हुन्थ्यो र देश पनि अगाडि बढ्थ्यो । इज्जत पनि हुन्थ्यो । विदेशमा काम गरेर के नै हुन्थ्यो र ? २० जना सर्जनमा म एकजना ।

परिवारिक संघर्ष, श्रीमतीको समर्पण

अन्ततः डा. श्रेष्ठलाई परिवारले राम्रो साथ दियो । यतिसम्म कि उनलाई अहिलेसम्म घरको कुनै जिम्मेवारी बहन त गर्नुपरेको छैन । श्रीमती तथा छोराछोरीको लागि समेत केही खर्च गर्नु परेको छैन ।

dr-pukar-shresth-2

उनी भन्छन्- ‘अहिलेसम्म जे जति गरेकी छिन्, सबै श्रीमतीले नै धानेकी छिन् । यसमा मलाई गर्व छ ।

डा. श्रेष्ठ बेलायतमा छँदै उनकी श्रीमती अमेरिकामा युएनको कार्यालयमा कार्यरत थिइन् । डा. पुकारले नेपाल जाने भनेसँगै श्रीमती पनि उनीसँगै स्वदेश फर्किइन् । जुन, उनका लागि ठूलो साथ थियो र त्यस्तै ठूलो त्याग पनि ।

बरु अहिले बेलाबेलामा झगडा पर्दा उनकी श्रीमतीले डा. पुकारलाई ‘मेरो करियर ध्वस्त पार्‍यौ’ भन्ने गर्छिन् । यतिसम्म कि ‘अब म बाहिर जान्छु’ भनेर बेलाबेलामा धम्कीसहितको इमेल समेत पठाउने गर्छिन् । जसलाई डा. पुकार स्वाभाविक मान्छन् ।

उनी पत्नीको तारिफ गर्दै भन्छन्- ‘हुन पनि युएनमा काम गर्ने मान्छेको अन्तिम उद्देश्य भनेको युएनको हेडक्वार्टरमा काम गर्नु हो । तर, उनी हेडक्वार्टरमा बसेर काम गरिरहेकी मान्छे, मेरा निम्ति नेपाल फर्किइन् ।

अहिले श्रीमतीको साथ र सहयोगकै कारण आफ्नो सम्पूर्ण ध्यान अंग प्रत्यारोपण केन्द्रमा लगाउन पाएको उनी बताउँछन् । यसका लागि उनी आफूलाई भाग्यमानी ठान्छन् ।

डा. श्रेष्ठ भन्छन्- ‘घर परिवारलाई लिएर मैले अहिलेसम्म कुनै जिम्मेवारी वहन गर्न नपरेकै कारण हो, मैले निस्फिक्री तरिकाले आफ्नो काम गर्न पाइरहेको छु ।’

उनले आफुसित पैसा भएकाले मात्र नभई आफुलाई पैसा कमाउने बाध्यता नभएकाले पनि बेफिक्री काम गर्न पाएको बताए ।

तर, सुरुमा डा. पुकारको काम गराइबारे घरपरिवार पूर्ण सन्तुष्ट पनि थिएन । बेलायतबाट आउँदा ताका उनका बुवाले उताको जागिर किन छोडेर आएकोसम्म भने । उनका दाजु पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि ‘तिमीलाई नेपालमा काम गर्न देलान् त ?’ भनेर प्रश्न सोध्ने गर्थे ।

अझै पनि कहिलेकाहीँ ‘यसको काम ठीक छैन भनेर दाजुले भनिरहँदा भाइ पुकारले भन्ने गरेका छन् – ‘आफु यही कामबाट सन्तुष्ट छु ।’

यद्यपि यसले दुःख पाउने हो कि भन्ने परिवारको चिन्ता पहिले-पहिले भन्दा अहिले कम हुँदै गइरहेको उनको अनुभव छ । डा. श्रेष्ठका अनुसार पहिले-पहिले नदेखिने अवस्थामा रहेको उनको काम अहिले देखिन थालेको छ, जसले गर्दा अहिले उनका परिवारले पनि उनलाई काम गरेन भन्न पाएका छैनन् । उनको काम र मेहनत देखेर परिवारका सदस्यले असन्तुष्टि पनि जनाएका छैनन् ।

वीर अस्पताल छाडेर भक्तपुर प्रस्थान

जब डा. पुकारले वीर अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण गरे, त्यतिबेला डा. प्रवीण मिश्र स्वास्थ्य सचिव थिए । त्यतिबेला प्रत्यारोपणको काम डा. पुकारलाई नदिए उनले लिएको तालिम अर्थहीन हुन्छ भन्ने बुझेर नै होला, मिश्रले प्रत्यारोपणको काम डा. पुकारलाई जिम्मा लगाए ।

त्यतिबेला स्वास्थ्यमन्त्री थिए उमाकान्त चौधरी । पछि राजेन्द्र महतो मन्त्री भए । स्वास्थ्य सचिव मिश्रले भनेर नै होला उनीहरुले मिर्गौला प्रत्यारोपणका लागि श्रेष्ठलाई भक्तपुरस्थित क्यान्सर अस्पतालको प्राङ्गणमा रहेको एउटा भवन दिने कुरा गरे । त्यसका लागि तत्कालीन मन्त्री र सचिवले शनिवार बिहानै उनलाई भक्तपुर लगे ।

हाल मानव अंग प्रत्यारोपण केन्द्र रहेको उक्त भवनमा भक्तपुर अस्पतालले गाइनो ओपीडी सुरु गर्ने तयारी गरेको थियो । तर, ओपीडी नचलेपछि उक्त भवनमा ताला लगाइएको थियो ।

धुलैधुलोले भरिएको उक्त भवन फोहोर भए पनि वीर अस्पतालको तुलनामा निकै राम्रो र खुल्ला थियो । त्यति राम्रो भवन पाउँदा डा. पुकारले नाई भन्ने कुनै अवस्था थिएन । उनले उक्त भवनमा केन्द्र राख्ने कुरामा सहमति जनाउन एक मिनेट पनि लगाएनन् र तुरुन्तै हुन्छ भनिदिए ।

मिर्गौला प्रत्यारोपणका लागि ऐन, नियम थिएन

नेपालमा मिर्गौला प्रत्यारोपण सुरु गर्न ऐन नियमको आवश्यकता थियो । त्यतिबेला चिकित्सा महाशाखा प्रमुख अहिलेका स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती थिए । उनैले चिकित्सा शिक्षा सम्बन्धी ३/४ वटा ऐन नियम दिएर त्यसै अनुकुल मस्यौदा तयार पार्न डा. पुकारलाई अनुरोध गरे । डा. पुकारले पनि उक्त ऐन कानुनको प्रत्येक अक्षर पढेर मस्यौदा तयार पारिदिए, जुन तीन महिना पुग्दानपुग्दै पारित भयो ।

त्यतिबेला तात्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्रले ‘नेपालको इतिहासमा यति छिटो कुनै काम भएको थाहा छैन’ भनेको उनलाई सअहिलेसम्म सम्झना छ ।

लोकमानको हेडक्वार्टरबाट पूर्जी

ऐन पारित भएलगत्तै डा. पुकार कार्यकारी निर्देशकको पदमा नियुक्त भए । उनले तुरुन्तै २० वटा डायलासिसका लागि सबैभन्दा राम्रो मेसिन कम मूल्यमा टेण्डर आह्वान गरे । तर, काम सुरु गरेको दुई महिना पनि बित्न नपाउदै उनलाई अख्तियारको मुद्दा लाग्यो ।

dr-pukar-shresth-4

तुरुन्तै ४८ घण्टाभित्र अख्तियारमा हाजिर हुनु भन्ने लोकमानसिंह कार्कीको हेडक्वार्टरबाट आदेश आयो । यसमा उनलाई ‘सेकेन्ड ह्याण्ड मेसिन ल्याउन लागेको’ आरोप लागेको थियो ।

‘त्यतिबेला म कार्यकारी निर्देशक र यसबारे मलाई जानकारी नभएको हुँदा अर्को अधिकृतस्तरको कर्मचारीलाई कुरा गर्न भनेको थिएँ’ डा. पुकारले भन्छन्- ‘तर उसलाई अख्तियारले बोल्नै दिएन ।’

उनी अगाडि भन्छन्- ‘त्यसपछि मलाई रीस उठ्यो । त्यसपछि मैले पनि भगवतीजी, तपाई पनि यहीँ हुनुहुन्छ, म पनि यहीँ छु, कागत पनि यहीँ छ । मेरो केही दोष वा गल्ती छ भनेे मलाई कारवाही गर्नुस्, हैन भने नेपालका लागि जुन उत्कृष्ट छ, मैले त्यही मेसिन सबैभन्दा सस्तो मूल्यमा ल्याएको हुँ भनें ।’

त्यतिबेला असारको अन्तिम साता थियो । यदि यो केस अलिकति लम्बिएको वा ढीलो भएको भए यो प्रोजेक्ट नै जान्थ्यो ।

मेरो गल्ती छैन र तपाईले ढीलोमात्रै गर्नुभयो भने पनि म तपाईलाई कारवाही गर्छु भन्दै उनी कि त तपाई मलाई कारवाही गर्नुस् कि म तपाईलाई कारवाही गर्छु भन्दै हिँडे ।

त्यसपछि डा. श्रेष्ठले सचिव प्रवीण मिश्रलाई फोन गरेर कस्तो मान्छे पठाएको ? यो त मलाई नै कारवाही गर्छु भन्छ, यो काम छिटोछिटो गर्नु भनेको उनी सम्झन्छन् ।

डा. श्रेष्ठ भन्छन्, ‘कुरा कसरी मिल्यो, मलाई थाहा भएन । या त यो मान्छे चोखो छ भन्ने बुझ्यो, या यसको दाइ सर्वोच्च अदालतमा छ भन्ने सोच्यो । अख्तियारले मुद्दा तुरुन्तै किनारा लगाइदियो ।’

चम्कियो अस्पताल

लगत्तै डायलासिसका लागि २० वटा मेसिन आए । सबै ठाउँ बिरामीले भरिभराउ भए । त्यो पनि निशुल्क ।

विस्तारै मिर्गौला डायलासिस गर्ने बिरामीहरु मिर्गौला प्रत्यारोपण गर्न आउन थाले । विरामीको चाप एकाएक बढ्यो । डायलासिस सुरु गरेको ६ महिनामै मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मिर्गौला प्रत्यारोपणको काम तुरुन्तै सुरु गर्‍यो ।

त्यसपछि यो केन्द्रले कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको डा. श्रेष्ठको अनुभव छ ।

‘गिरिराजमणिले धेरै सहयोग गरे’

जब डा. पुकार बेलायतको तालिम सकेर नेपाल फर्किए, त्यतिबेला उनले सरकारी जागिर छोडेको ५/६ वर्ष भैसकेको थियो । तर, पनि तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले उनको कार्यक्षमताको मूल्यांकन गर्दै उनलाई आवश्यक प्रकृया पूरा गरी पुनः सरकारी सेवामा प्रवेश गराए । र, तुरुन्तै हाजिर गराए । त्यसपछि मिर्गौला प्रत्यारोपणको क्षेत्रमा अगाडि बढेका डा. श्रेष्ठले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

राति अबेरसम्म आफैं ड्युटीमा बसेर भए पनि उनी आफैं बिरामीको अंग प्रत्यारोपण गर्थे । सुरुमा महिनामा एक, दुई हुँदै प्रत्यारोपण सुरु गरेको उनलाई अहिले मिर्गौला प्रत्यारोपण गर्न भ्याई नभ्याई छ ।

मिर्गौलापछि अब कलेजोको प्रत्यारोपण सुरु

अहिले सो केन्द्रमा मिर्गौला प्रत्यारोपणसँगै पेटको समेत उपचार हुन्छ । भर्खरै केन्द्रले यहीँ कलेजो प्रत्यारोणनको समेत काम सुरु गरेको छ ।

केन्द्रमा डा. निरज जोशी आवद्ध भएसँगै अब नेपालमा पनि कलेजो प्रत्यारोपण सम्भव छ भन्ने त डा. पुकार पहिले नै ढुक्क भइसकेका थिए । तीन वर्ष अगाडि पेटका लागि आवश्यक सामग्री किने सँगै केन्द्रले दुई वर्ष अगाडि नै कलेजो प्रत्यारोपणका लागि आवश्यक सबै मेसिन, तथा सामग्री किनेर तयारी पूरा गरिसकेको थियो ।

त्यसपछि पुनः कलेको प्रत्यारोपणका लागि आवश्यक ऐन कानुनको परिमार्जन गरी कलेजोसम्बन्धी नियमावली पारित गर्न अग्रसरता देखाएको केन्द्रले करिब एक महिना पहिले नेपालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

आउँदो महिना अन्य चार जनाको कलेजो प्रत्यारोपण गरी कलेजो प्रत्यारोपणलाई निरन्तरता दिन लागेको केन्द्रले हालसम्म मिर्गौला प्रत्यारोपणतर्फ झण्डै ३१५ जनाको सफल प्रत्यारोपण गरिसकेको छ ।

विदेशबाट बिरामी आउन थाले

अहिले नेपालमा विश्वकै सर्वोत्कृष्ट उपचार पाइने डा. श्रेष्ठको भनाइ छ । मिर्गौला प्रत्यारोपणकै लागि भारतकै विभिन्न शहरबाटसमेत मानिसहरु भक्तपुरमा आइरहेका छन् ।

अहिले पनि भारतका विभिन्न शहरबाट यो केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्न आउनेको संख्या १३ रहेको छ । ‘यो भनेको संसारकै उत्कृष्ट सेवा अब नेपालमा पनि पाइन्छ भन्नु हो’, डा. श्रेष्ठले गर्व गर्दै भने ।

देशका लागि केही गरेर देखाउने, विदेशमा कठिन परिश्रम गरेर ज्ञान आर्जन गरेपछि मुलुक फर्केर स्वाथ्य क्षेत्रमा क्रान्ति ल्याउन सफल यस्ता मिहनेती नेपाली नागरिकप्रति हामी सबै नेपालीले गर्व गर्नैर्पर्छ । र, उनीबाट सबैले सिक्नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment