Comments Add Comment

शीतलनिवासको बिहेः नलेखौं भने दिनभरिको समाचार, लेखौं भने….

सोसियल मिडियामा सकारात्मक र नाकारात्मक दुबैखाले प्रतिक्रिया

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage-4

३ माघ, काठमाडौं । राष्ट्रपति भवनमा सोमबार आयोजित ‘भीआइपी बिहे’का विषयमा दिनभरिजसो मिडियाहरु केन्द्रित भए । सोसियल मिडिया पनि त्यसैका पछि लागे । नलागुन् पनि किन ? पूर्वराजा समेत पहिलोचोटि राष्ट्रपति भवन पुगे । देशभरिका भीआइपीहरु राष्ट्रिय पर्व नै आए जसरी बिहेमा जम्मा भए, कोही जन्तीका रुपमा, कोही लोकन्तीका रुपमा ।

नेपाली मिडियाहरुलाई दिनभरि परेको सकस के हो भने समाचार, फोटो र भिडियो कभरेज नगर्दा केही छुटेजस्तो लाग्ने, कभरेज गर्दा एउटा नाथे बिहेलाई बढ्ता महत्व दिएको स्वाभाविक गुनासो पाठकहरुबाट आउने ।

नेपालका मिडियाहरु काम पाउँदैनन् र जन्तीका पछाडि दौडिन्छन् भन्ने पाठकहरुको आरोप पनि कम्ता मर्मस्पर्शी रहेन । तैपनि यो विवाह समारोह जबर्जस्त ‘राष्ट्रिय कभरेज’ को विषय बन्यो ।

लोकमानसिंह कार्कीले अख्तियार परिसरमा रहेको सरकारी निवासबाट छोरी अन्माउँदा जति धेरै आलोचना भएको थियो, शीतलनिवासमा त्यस्तो भएन । यहाँ जन्ती र लोकन्तीको संख्या कति हुनुपर्छ भनेर गणना पनि खासै भएन । बरु यसलाई मधेसी र पहाडीको वीचमा भएको विवाह भन्दै प्रश्ंसा गर्नेहरु धेरै पाइए । कांग्रेस र एमालेका कार्यकर्ताहरुले यो विवाहलाई समर्थन गर्ने नै भए, गरे ।

लोकमानसिंह कार्कीले सामाजिक सुधार ऐन सम्झाउँदै एमाले नेता अग्नि खरेलका छोराको विवाह भोज नै रोकिदिएका थिए । अहिले अख्तियार निरीह बनेका बेला कसैले पनि यो विवाहमाथि प्रश्न उठाएन । बरु प्रश्न उठाउने र कानूनको कार्यान्वयन गराउनेहरु नै भोजमा मस्त बने ।

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage-6

विवाह हो, त्यसमा आलोचनाको विषय पनि राम्रो हुँदैन । तैपनि सोसियल मिडियामा विद्या भण्डारीलाई ‘महारानी’ भन्ने र यो विवाहले राजतन्त्रकालीन झल्को दिएको भन्दै आलोचना गर्नेहरु पनि सोसियल मिडियामा देखिए । सोसियल मिडियामा यो विवाहलाई महान भन्ने र सामाजिक ढर्रा बढी भएको अर्थमा बुझ्ने दुबैथरी विचारहरु आए ।

मिडियाहरु चाँहि एक प्रकारले लतारिएर भए पनि जन्ती र लोकन्तीका पछाढी दौडन बाध्य भए । बिहेबटुलोको सवाल भए पनि कभरेजका लागि नेपाली मिडियामा होडबाजी नै चल्यो । पाठकले गाली गर्दा गर्दै पनि मिडिया दुलाहा दुलहीका पछि दौडिन बाध्य बने ।

यो विवाहलाई कसरी हेर्ने ?

[sam_list] यो आफैंमा हास्यास्पद प्रश्न हो । बिहेलाई कसरी हेर्ने ? बेहुला-बेहुली भेला भए, जन्ती आए, बिहे भयो । सकियो । एउटा बिहेलाई यसरी नै हेर्नुपर्ने हो । कसैले आफ्नो सामाजिक परम्परा अनुसार बिहे गर्छ भने त्यसमाथि विश्लेषण टीका टिप्पणी जरुरी नै छैन । विवाह जीवनको एउटा स्वाभाविक कर्म भएकाले यसमाथि टिप्पणी गर्न जरुरी छैन र यसलाई स्वाभाविकरुपमा लिनुपर्छ भन्ने मतलाई नाजायज भन्न मिल्दैन ।

तर, सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी निवासमै आयोजना गरेको विवाह समारोह व्यक्तिगत वा नितान्त पारिवारिकमात्रै रहँदैन र यसमा टीका टिप्पणी हुनु स्वाभाविकै हुन्छ भन्ने अर्को थरिको मतलाई पनि वाहियात भनिहाल्न सकिँदैन ।

बरु यसको मापन भनेको के चाँहि हुन सक्छ भने भीआइपीहरुले सरकारी भवनमा आयोजना गरेको यो व्यक्तिगत समारोहमा राज्यका कानूनहरुको परिपालना गरियो कि गरिएन भन्ने चाँहि मुख्य विषय हुन सक्छ ।

nisha-kusum-and-abhishek-marriage-1

जस्तो कि सामाजिक सुधार ऐन २०३३ अनुसार तोकिएको मापदण्ड राष्ट्रपतिबाट पालना भयो कि भएन ? ५१ जनाभन्दा बढी जन्ती आए आएनन्, भोजभतेर कानूनले तोकेको भन्दा बढीलाई गराइयो कि गराइएन ? यस्ता प्रश्नहरु उठ्नु अस्वाभाविक हुँदैनन्, जुन सोसियल मिडियामा प्रशस्तै उठेको देखिन्छ । नयाँ राजाको ठाँट देखाइएको भन्दै जनस्तरबाट प्रश्न उठ्यो । तथापि मधेसी र पहाडी समुदायवीच वैवाहिक सम्बन्ध गाँसिएको यो नै पहिलो होइन । अघिल्लो पुस्तादेखि नै यस्तो हुँदै आएको छ ।

यद्यपि पहाडे र मधेसी समुदायको वीचमा भएको वैवाहिक नाताले दिने सकारात्मक सामाजिक सन्देशलाई भने धेरै मानिसहरुले सकारात्मक रुपमै हेरेको पाइयो ।

बेहुला बेहुलीले विवाहमा लाग्ने खर्च कटौती गरेर भूकम्प पीडित बालवालिकालाई दिने घोषणा गरेको भए त्यसले सकारात्मक सामाजिक सन्देश दिन सक्थ्यो, त्यस्तो घोषणा गरिएको सुनिएन । बरु तडक भडकमै बढी लागेको देखियो ।

समग्रमा भन्दाखेरि शीतलनिवासमा आइतबार सम्पन्न विवाह समारोह नेपाली मिडियाका लागि ‘नलेखौं भने दिनभरिको समाचार, लेखौं भने खै के खै के’ भनेजस्तै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment