Comments Add Comment

झलनाथ खनालको प्रश्न- मनमोहन ठीक कि गोविन्द केसी ?

डा.केसीको गाउँमा मनमोहन अस्पतालको स्वास्थ्य शिविर

 

jhalnath-khanal

५ माघ, रामेछाप । बरिष्ठ हाडजोर्नी चिकित्सक डा.गोविन्द केसीको गाउँमा मनमोहन अस्पतालले एमाले नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा निशुःल्क स्वास्थ्य शिविर गरेको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले डा. केसीको कडा आलोचनासमेत गरेका छन् ।

डा.केसीको जन्मगाउँ रामेछापको माकादुमसँगै गोगनपानी डाँडामा मनमोहन मेडिकल कलेजका चिकित्सकहरुले हाडजोर्नी सम्बन्धी रोगको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हुन् ।

पटक-पटक अनसन बसेर निजी मेडिकल कलेजको सम्बन्ध रोक्न सफल भएका केसीको गाउँमै पुगेर तीन दिनसम्म मनमोहन मेडिकल कलेजका चिकित्सकले करीव ३ हजार जनताको उपचार गरेको स्वास्थ्य शिविर आयोजक समितिका संयोजक होमबहादुर बुढाथोकीले बताए ।

डा. गोविन्द केसीको गाउँलाई लक्षित गरेर आयोजना गरिएको स्वास्थ्य शिविरको उद्घाटन समारोहमा एमाले नेता खनालले डा. गोविन्द केसीको चर्को आलोचना गरे ।

शिविर उद्घाटन गर्न पुगेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष खनालले गोविन्द केसीका गाउँले र आफन्तका सामु उनको अनसनको आलोचना गरे ।

कार्यक्रममा एमाले नेता खनालले भने- ‘मनमोहन मेडिकल कलेजले यस्ता दुर्गम गाउँसम्म पुगेर तपाईहरुलाई निःशुल्क उपचार गरिरहेको छ, तर यही अस्पताललाई मेडिकल कलेज बन्न नदिन एकजना डाक्टर पटक-पटक अनसन बस्छन् । मैले सुनेअनुसार ती डाक्टर गोविन्द केसी यही गाउँका हुन् रे । तपाईहरु नै भन्नुस् उनी ठीक कि मनमोहन ठीक ?

पूर्वप्रधानमन्त्री खनालले मनमोहनको नाम सुन्न नचाहने व्यक्तिहरुको उक्साहटमा एमालेप्रति पूर्वाग्रही भएर केसीले पटक-पटक अनसन बस्ने गरेको आरोप लगाए । खनालले गोविन्द केसीको नियत नै नयाँ मेडिकल कलेज आएर जनताले सस्तोमा उपचार पाउनुहुँदैन भन्ने रहेको आरोप लगाउदै मनमोहन मेडिकल कलेजले एक न एक दिन सम्बन्धन पाउने दाबी गरे ।

सोलिथुम्का युवा क्लब, पर्यटन व्यवसायी, सहकारी संस्था र अन्य संघसंस्थाको सहयोगमा सञ्चालित शिविरमा बुधबार बिहानसम्म करीव ५ हजारले उपचार तथा सेवा लिएको आयोजकले बताएका छन् ।

शिविरमा मनमोहन अस्पताल र त्रिपुरेश्वर आँखा अस्पतालका विशेषज्ञ डक्टरहरुले सेवा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment