Comments Add Comment

कसैको प्रेममा पर्नुभएको छ ? फेसबुक चलाउँदा ख्याल गर्नोस् !

झापामा यसरी बढ्दैछ यौन अपराध र साइबर क्राइम

facebook-love

६ माघ, झापा । चार महिनाअघि बिर्तामोडको नाम चलेको एउटा कलेजमा अध्ययनरत सुस्मिता (नाम परिवर्तन) ले प्रेमीलाई आफ्नो नग्न तस्वीर पठाइन् । उनका अनुसार प्रेमीले धेरै कर गरेपछि दुबैजनाको सहमतिमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले त्यो तस्वीर पठाएकी थिइन् ।

तर, केही समयपछि उनीहरुको सम्बन्धमा दरार आयो । र, उनलाई पूर्वप्रेमीले त्यही तस्वीर देखाएर ब्ल्याकमेल गर्न थाले । ‘त्यति बेला डिलिट गरिहाल्ने भनेको थियो’, उनले भनिन्, ‘तर, डिलिट गरेको रहेनछ ।’

त्यसैबीच, पूर्वप्रेमीका एकजना साथीले त्यो तस्वीर हात पारे । उनले त्यस तस्वीरलाई फेसबुकमा नयाँ आइडी बनाएर अपलोड गरिदिए ।

केही समयमै त्यो आइडी डिएक्टिभ त भयो । तर, त्यतिन्जेलसम्म धेरैजनाले त्यो तस्वीर हेरिसकेका थिए । कतिपयले डाउनलोड गरेर पनि राख्न भ्याए ।

कक्षा १२ मा अध्ययरत किशोरीलाई मानसिकरुपमा निकै तनाव भयो । प्रहरीसमक्ष पनि कुरा पुग्यो । तर, दुवै पक्षको गल्ती देखिएकाले अभिभावकले कानुनी प्रक्रियालाई अघि बढाउन चाहेनन् ।

प्रहरीले उनीहरुलाई सम्झाएर घर फर्काए ।

आइफोन पठाइदिने भन्दै ठगी

त्यस्तै, फेसबुकमा विदेशी नागरिकको नाम राखेर ठगी गरेको आरोपमा दुई महिनाअघि कनकाई नगरपालिकाका ३१ वषर्ीय बोधप्रसाद पोखरेल पक्राउ गरे ।

प्रहरीका अनुसार मार्टिन एन्थोनी मार्ट नामबाट आइडी बनाएर पोखरेलले विभिन्न आश्वासन देखाउँदै बिर्तामोडकी सुस्मा प्रधानलाई ठगेका थिए । त्यस फेक आइडीबाट उनले आफू युकेमा रहेको बताउँदै एप्पल कम्पनीको आइफोन, ल्यापटप र आइप्याड पठाएको उल्लेख गरे ।

केही महिनादेखि लगातार कुरा भइरहेकाले प्रधानले पनि विश्वास गरिन् । त्यसपछि एभरेस्ट बैंकमा २ हजार अमेरिकी डलर जम्मा गर्नु भनी म्यासेज आयो । र, उनले जम्मा पनि गरिन् । तर, ती सामाग्री उनले पाइनन् । अनि बल्ल उनलाई थाहा भयो, आफू ठगिएको कुरा । त्यसपछि प्रहरीमा उजुरी गरियो ।

यो घटनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्‍यो । र, बैङ्कबाट रकम निकाल्ने पोखरेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लियो ।

यसरी फेसबुकमा बनाएको साथीको विश्वास गर्दा प्रधान ठगिन पुगिन् । उनले २ लाख १९ हजार रुपैयाँ आफूबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

यी दुई प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय झापामा साइबर अपराधका थुप्रै घटनाहरु प्रहरी समक्ष पुगेका छन् ।

फेक अकाउन्ट सम्बन्धी उजुरी बढी

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले जिल्लामा धेरैजसो फेक अकाउन्टसँग सम्बन्धित उजुरी आउने गरेको बताए ।

‘अर्काको नाममा फेक अकाउन्ट बनाएर साथीहरु एड गरी नराम्रा कुराहरु लेख्ने गरेका घटना प्रायः आउँछन्’, उनले भने, ‘व्यक्तिको चरित्र हत्या हुने किसिमका सामग्री पोस्ट गर्ने, अश्लील तस्वीर ट्याग गर्ने, दुईजनाको सहमतिमा खिचिएको तस्वीर वा भिडियोलाई सम्बन्ध नराम्रो भएपछि पोस्ट गर्नेजस्ता कुराको पनि उजुरी आउने गरेका छन् ।’

साइबर क्राइममा टीन एजर्स बढी

एसपी क्षेत्रीका अनुसार यो समस्या विशेषगरी सहर तथा सहरउन्मुख क्षेत्रमा बढी छ । झापाको दमक, बिर्तामोड, चन्द्रगढी, काँकरभिट्टा लगायतका क्षेत्रबाट बढी उजुरी आउने गरेका छन् ।

यसरी समस्या पर्नेमा विशेषगरी टीनएज समूहका छन् । अपवादमा ३० देखि ३५ वर्षका मानिसहरुको पनि उजुरी आउने गरेको प्रहरीले जनाएको छ । यो समूहका घटना भने प्रायः सामाजिक सञ्जालमार्फत गरिएका ठगीसँग सम्बन्धित हुन्छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार फेक अकाउन्ट बनाएको, मानहानी हुने किसिमका पोस्ट गरिएको लगायतका प्रकृतिका घटनालाई पहिले फेसबुकलाई इमेल लेखेर डिएक्टिभ गराउने प्रक्रिया सुरु गरिन्छ ।

अलि गम्भीर प्रकृतिको घटना भए प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेर छानबिन गर्छ ।

फेसबुकबाट रकम ठगीजस्तो प्रकृतिका घटनामा भने जिल्ला प्रहरी कार्यालयको समन्वयमा केन्द्रीय अनुसन्धान विभागमा उजुरी गर्न लगाउने गरिएको छ ।

अभिभावकको कमजोरी

झापाका प्रहरी प्रमुख एसपी थापा साइबर अपराध सम्बन्धी घटनामा प्रायः अभिभावकको कमजोरी देखिने गरेको बताउँछन् । ‘मुख्य समस्या भनेको आफ्नो छोराछोरी कम्प्युटर वा मोबाइलमा के गर्दैछन् भन्ने कुरामा अभिभावकले चासो नदिएर भएको देखिन्छ’, उनी भन्छन्, ‘आफ्नो छोराछोरीले के गर्दैछन् भन्ने विषयमा चासो दिएमा मात्र पनि यो समस्या केही हदसम्म हल हुन्छ ।’

सामाजिक सञ्जाल बाल यौन अपराधका लागि पनि सबैभन्दा प्रभावित क्षेत्र मानिन्छ । त्यसैले, नयाँ पुस्ताका युवालाई सचेतना दिनु जरुरी रहेको अभिभावक बताउँछन् ।

‘नयाँ पुस्तालाई कसलाई के ट्याग गर्ने/नगर्ने, कसलाई एड गर्ने/नगर्ने जस्ता कुरामा शिक्षा दिन हामी चुकिरहेका छौँ’, अभिभावक रमेश दवाडी भन्छन्, ‘उनीहरुलाई यो विषयमा विद्यालयमा पनि ज्ञान दिइनु आवश्यक छ ।’

साइबर सेक्युरिटीबारे ज्ञानको कमी

साइबर सेक्युरिटी इन्टरनेसनलका पूर्वाञ्चल क्षेत्रीय प्रमुख डीआर निरज पनि दवाडीको कुरासँग सहमत छन् ।

उनी भन्छन्, ‘विद्यार्थीलाई सचेतना जगाउनु एकदमै आवश्यक छ, त्यसैले हामीले केही समययता झापामा सचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ ।’

उनले आफ्नो अकाउन्टलाई कसरी सेक्युर गर्ने भन्ने विषयमा विद्यार्थीलाई ज्ञानको कमी रहेको बताए । साथै, सोसियल साइटको सेक्युरिटी फिचरको बारेमा पनि उनीहरुलाई जानकारी हुनु आवश्यक रहेको उनको भनाइ छ ।

कानुनतः साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन ०६३ र नियमावली ०६४ बमोजिम तीन वर्ष कैद वा दुई लाख रुपैयाँ जरिवाना वा दुबै सजायँ हुन सक्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment