Comments Add Comment

शनिबारको साटो मंगलबार किन कब्जा गरियो सिंहदरबार ?

पुस्तक अंशः माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म

Simha-Durbar८ माघ, काठमाडौं । विसं. २००८ साल माघ ८ गते (आजकै दिन) रामप्रसाद राईले डा. केआई सिंहसँग मिलेर सिंहदरबार कब्जा गरेका थिए, जसलाई ‘सिंहदरबार विद्रोह’का रुपमा चिनिन्छ । यही दिनको स्मरण गर्दै आज माघ ८ गते शनिवार राष्ट्रिय सभागृहबाट सार्वजनिक हुने भोगीराज चाम्लिङद्वारा ‘लिखित ‘जननायक रामप्रसाद राईः माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकको एक अंशः

विद्रोहका लागि काठमाडौं जान उर्दी

रामप्रसाद राईले तहस नहस भएको मुक्तिसेना पुनर्गठन गरे । सिंहदरबार कब्जा गर्नुभन्दा केही पहिलेदेखि विद्रोहको तयारी गरिएको थियो । रामप्रसाद राईले सार्वजनिक भाषण गरेर चेतावनी दिनु यसैको संकेत थियो ।

रामप्रसाद राईको भाषणबाट रक्षादलले विद्रोह गर्दैछ भन्ने कुराको छनक त दिएकै थियो, त्योभन्दा पहिले नै सूचना प्राप्त भइसकेको थियो । तत्कालीन शान्तिमण्डलका सदस्य बद्रीविक्रम थापाले यसबारे राजा त्रिभुवनलाई समेत पूर्वजानकारी दिएका थिए ।

रामप्रसाद राईले विद्रोहका लागि पहिलादेखि नै तयारी गरेको कुरा हैकमसिंह राईको भनाइले अझ पुष्टि हुन्छ । उनी घरमा उर्दी टाँसिएपछि काठमाडौं आइपुगेका थिए । यसबारे उनी भन्छन्ः

२००८ सालमा मेरो घरमा म्याद टाँसियो । काठमाडौंमा लड्न आउँछ भने आउँछ, आउँदैन भने जिउधन सर्वस्व हुन्छ भन्ने म्याद टाँसिएको थियो । म्याद टाँसिएपछि म लडाइँ गर्न काठमाडौं गएँ ।

रामप्रसाद राई अघि नै काठमाडौं हान्न गइसकेको थियो । हामीलाई बोलाएपछि ६० जना कि १०० जना हो, थपिँदैथपिँदै हुल बाँधिएर काठमाडौं गयौं । पहिला ओखलढुंगा गयौं । त्यहाँबाट ‘काठमाडौं जाऊ’ भनेपछि काठमाडौं गयौं । हामी सिधै सिंहदरबार छिर्‍यौं । हामीलाई कसैले रोकेन । हामी बन्दुकविना नै गएका थियौं ।

काठमाडौंमा गिरफ्तार

unnamedभूगोलपार्कमा भाषण गरेपछि रामप्रसाद राईलाई सरकारले गिरफ्तार गर्‍यो । सुरुमा हनुमानढोका र भोलिपल्ट भद्रगोल जेलमा थुनियो । मानबहादुर राई भन्छन्:

“भूगोल पार्कको भाषण सकेपछि राति बुबा र म सँगै आयौं । म पनि बुबासँगै थिएँ । घरभित्र पसेपछि मुमाले खाना बनाइराख्नुभएको रहेछ । खाना खानुहुँदै थियो, आधासरो होला खानुभएको थियो । बहिनीलाई काखमा लिएर खुवाउनु हुँदै थियो, बाहिर ढोकामा ‘ढ्याकढ्याक’ गरेको आवाज आयो ।

बुबाले भन्नुभयो, ‘को हो ?’

‘भान्सा गर्नुस्, म हेरेर आउँछु’ भनेर मुमा हेर्न जानुभयो । यसो झ्यालबाट हेर्दा गाडी अनि प्रहरी पनि देख्नुभएछ । म पनि कुनामा बसेर खाँदै थिएँ । दिदी पनि थिइन् ।

‘होइन हजुर गाडी पनि छ ! पुलिस, मिल्ट्रीजस्ता मान्छेहरु पनि छन्’, मुमाले भन्नुभयो । एकदम अँध्यारो थियो ।

बुबाले भन्नुभयो, ‘को रैछ त ?’

मुमाले ‘होइन हजुर पुलिसजस्तो छ । क्या हो हजुर बरु बाहिरबाट यसो…’ भन्नुभाथ्यो, ‘के रे ? के भन्छौ तिमी ?’ भनेर बुबा झट्ट आउनुभयो र झ्यालबाट भन्नुभयो, ‘को हो ?’

‘हजुर, हामी पो, हजुरलाई माथि बोलावट भा छ, लिन आएको’, तिनीहरुले भने ।

बुबाले भन्नुभयो, ‘ल ठीक छ, म कपडा लाउँछु ।’ भात छोड्नुभयो । कपडा लगाएर फुत्त बाहिर निक्लिहाल्नुभयो ।

‘हजुर माथि गाडीमा बस्नुस्’, भने ।

ठ्याप्प राखे, हुइयाँ लगे ।

हामी त जाने कुरा भएन । हाम्रो गार्ड चाहिँ गएछ । उसले पो समाचार ल्यायो, ‘लेˆटिनेन्ट सापलाई हनुमानढोकाभित्र लगे ।’

आमा चिन्ताले रातभरि सुत्नु भएन । भोलिपल्ट भद्रगोल लगेपछि चाहिँ बुबाले खबर पठाउनुभयो, ‘म यहाँ भद्रगोलभित्र छु । केही चिन्ता नमान्नू । मलाई ल्याएर यहाँ राखेका छन् ।’

सरकारभित्र पनि खैलाबैला भयो होला । उहाँलाई ‘रिलिज’ गर्ने भन्ने कुरा भएको थियो, बुबा मान्नुभएन । मुक्तिसेना उत्तेजित भइगए ।”

रामप्रसाद राईलाई माघ ४ गते गिरˆतार गरिएको थियो । रामप्रसाद राईलाई गिरˆतार गरिएको सन्दर्भमा टंकबहादुर राई उल्लेख गर्छन्, “रामप्रसादका केही सहयोगीहरुले रीसले उत्तेजित हुँदै ‘कि यिनीहरुलाई मारेर यहीँ गाडिदिऊँ’ भन्दा रामप्रसाद राईले ‘यिनलाई नमारौं, यसो गरेर हामीलाई खास फाइदा हुँदैन, म यिनीहरुसँग जान्छु’ भनेर सम्झाउनुभयो । त्यसपछि एकछिन चिया र चुरोट पिउनमा बिताएर तिनीहरुका साथ जानुभयो । वहाँलाई लगेर टुँडिखेलछेउको गोलघर जेलमा राखियो ।” तर, टंकबहादुर राईले भनेझैं सुरुमै गोलघरमा राखिएको थिएन, हनुमानढोका लगिएको थियो ।

पुष्पकर शाक्यका अनुसार रामप्रसाद राईलाई हनुमानढोका पुलिस चौकीका तत्कालीन इन्चार्ज बलदेव उपाध्यायको कमान्डमा गएको रक्षादलका जवानहरुले गिरˆतार गरेको थियो । मुगाधन राई नयाँ खुलासा गर्दै भन्छन्- ‘मेरो, जंगवीर राई र सुरवीर राईका कमान्डमा धेरै मुक्तिसेना थिए । शुरवीर राईको कमान्डमा रहेको मुक्तिसेनाहरुले ले. रामप्रसाद राईलाई पक्रेर थुनेका थिए ।’

सिंहदरबार कब्जा गरेपछि विद्रोही रक्षादलका जवानहरुले शुरवीर राईलाई गिरˆतार गरेका थिए । मच्छेन्द्रबहादुर राई भन्छन्, ‘सिंहदरबारको गेटको बुर्जामा सुतिरहेको कर्नेल शुरवीर राईलाई विद्रोही रक्षादलका सेनाहरुले बन्दुकका कुन्दा र लात-बुटले हान्दै त्यहाँबाट पल्टाउँदै झारे । सिंहदरबारको गेटअगाडि र लुमढीको बीचमा गुहेघारी । सिस्नुघारीमा मर्‍यो भनी ˆयाँके, राति नै बौरेर उठेर भाग्यो ।’

सुरवीर राईले जनमुक्ति सेनाबाटै कुटाइ खाएको कुरा गृह मन्त्रालयले पनि स्पष्टीकरण जारी गर्ने क्रममा पुष्टि गरेको छ ।

रामप्रसाद राईलाई गिरˆतार गरेर भद्रगोल जेलमा राखिएपछि खाना पुर्‍याउन श्रीमती दिलकुमारी राई ठकुरी, छोरा मानबहादुर राई र छोरी लक्ष्मी गए । जेलको खाना राम्रो छैन भनेकाले दिलकुमारीले घरकै खाना रामप्रसाद राईका सहयोगी मिल्ट्रीलाई बोकाएर पठाउँथे । मानबहादुर राई त्यो क्षण स्मरण गर्दै भन्छन्, “जेलमा भेट्न जाँदा बुबाले ‘कोको आको छ’ भन्नुभयो । ‘छोरा, सानो छोरी र म आको छौं’, मुमाले भन्नुभयो । पालेले ‘१०-११ वर्ष पुगेको मानिस भित्र जान मिल्दैन’ भनेछ ।

दुई वर्षकी थिइन् लक्ष्मी । ‘त्यसो भए मेरी छोरी ल्याइदिनुस् भित्र’ भनेर बुबाले भन्नुभएछ । १५-२० मिनेट लक्ष्मीलाई खेलाएर ‘लु पुर्‍याइदेऊ’ भनेर पठाइदिनुभयो । ‘छोरी भित्र लाँदा लेˆटिनेन्ट साप्ले त आँखाभरि आँसु बनाएर आँसु नै चुहाउनुभयो’ त्यहाँका पालेहरुले भने ।”

किन मंगलबार नै कब्जा गरियो सिंहदरबार ?

 भोगीराज चाम्लिङ
भोगीराज चाम्लिङ

सिंहदरबार कब्जा गर्नुभन्दा पहिले लप्टन रामप्रसाद राई, मेजर नारायणसिंह, अग्निप्रसाद खरेल, चन्द्रकर शाक्यलगायतबीच गोप्य छलफल र योजना बनेको थियो । उनीहरुले सिंहदरबार कब्जा गर्ने योजना निर्माण गर्दा ‘रगतले सहीछाप गरेका’ थिए ।

तर, सिंहदरबार विद्रोहपछि पक्राउ पर्ने डरले माटोमुनि गाडेर लुकाउँदा नष्ट हुन पुग्यो ।

रामप्रसाद राईका केही सहयोगीले माघ ११ गते शुक्रवार सिंहदरबार कब्जा गर्न सुझाव दिएका थिए । किनभने, शनिवारको दिन सरकारी सेना विदामा हुने भएकाले विद्रोहलाई नोक्सान हुँदैन भन्ने तर्क थियो ।

पुष्पकर शाक्य अहिले पनि चुकचुकाउँदै भन्छन्, “हाम्रो बुबा र म रामप्रसाद राईलाई भेट्न जेलमा गएका थियौं । वहाँले माघ ८ गते राति ११ बजे विजुली निभेपछि सिंहदरबार कब्जा गर्ने भनेर हाम्रो बुबालाई भन्नुभयो । ‘मैनवत्तीहरु तयार गरिराख्नू’ भन्नुभएको थियो । हाम्रो बुबाले माघ ८ गते सिंहदरबार कब्जा गर्नु हुँदैन भनेर सल्लाह दिनुभएको थियो । वहाँले मंगलबार बिहान टुँडिखेलमा सेनाको कवाज हुन्छ, सेनाहरु जम्मा हुन्छ त्यसैले अप्ठेरो हुन्छ, शनिवार (बिहान) भए कवाज खेल्दैन, मान्छेहरु पनि घरमै हुन्छ त्यसदिन कब्जा गर्‍यो भने राम्रो हुन्छ भन्नुभएको थियो । अग्निप्रसाद खरेलले मंगलबार साइत छ भनेर मंगलबार नै सिंहदरबार कब्जा गरेको हो । (शुक्रबार राति) कब्जा गरेको भए रामप्रसाद राईहरु सफल हुन्थे । उनीहरुको राज चल्थ्यो ।” गृह मन्त्रालयको स्पष्टीकरणलाई आधार मान्ने हो भने शनिवार अर्थात् शुक्रवार बेलुका नै सिंहदरबार कब्जा गर्ने तयारी थियो ।

किनभने, माघ ८ गते मंगलवार २ बजे रक्षादलका जवानहरुबाट हतियार लिई अफिसरलाई जिम्मा दिने आदेश दिइएकाले शनिबारको सट्टा मंगलवार सारिएको थियो ।

हतियार खोसिएपछि विद्रोह गर्नुको अर्थ नहुने ठानी मंगलबारकै दिन सिंहदरबार विद्रोह भएको हुन सक्छ अथवा हतियार खोस्ने आदेश र कब्जा गर्ने ‘साइत’ संयोग मात्र पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment