Comments Add Comment

दशगजामा भारतीय पक्षले बनाएको पक्की सडक र नाला भत्काउन निर्देशन

२० माघ, गौशाला । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरको दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन् ।

जयनगरमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित कार्यशालामा मधुवनी जिल्लाका डिएम गिरवर दयाल सिंहले भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा निर्माण गरिएको पक्की सडक र नाला तुरुन्त भत्काउन आदेश दिएका हुन् । कार्यशालामा भारत मधुवनीका एसपी दीपक वर्णबाल र एसएसबीका एसपी अजितसिंह राठोरलगायतले पनि महोत्तरीको मटिहानी र भारतको मधवापुरस्थित दशगजा क्षेत्रमा भारतले निर्माण गरेको पक्की सडक र नाला तुरुन्त दशगजा क्षेत्रबाट भत्काउन भनेका छन् ।

साथै आउँदो दिनमा दुवै देशको सीमा क्षेत्रमा हुने अतिक्रमण, पिलर सारिएको तथा भत्काइएको सम्बन्धमा दुवै देशका सर्वे टोलीले स्थलगत निरीक्षण गर्ने तथा मर्मत सम्भार र व्यवस्थापन गर्ने बताए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मासहितका टोलीले मटिहानीको दशगजा क्षेत्रमा निर्माण गरेको पक्की सडक र नाला भत्काउन माग गरेको थियो ।

गत बिहीबार भारतीय पक्षले महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रमा भारतको मधवापुर सहरतिरबाट ७ दशमलव ३१ मिटर दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको थियो ।

सीमाक्षेत्रको दशगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले त्यसको उल्लंघन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment