गाउँको एउटा प्राथमिक विद्यालयमा आँखा शिविर सञ्चालन गरिएको थियो । म त्यहाँ स्वयंसेविकाको रुपमा खटिएकी थिएँ । खै किन मलाई सानैदेखि सामाजिक काममा सहभागी हुन औधि रुचि लाग्थ्यो ।
स्कूलमा सरले विद्यार्थीलाई तिम्रो भोलिको उद्देश्य के छ भनेर सोध्दा मैले जहिले पनि ‘समाजसेवा सर’ भनेर जवाफ दिन्थेँ । त्यो उद्देश्य मेरो केवल बाल्यकालीन मानसिकताले निर्धारण गरेको थिएन । हृदयमा परम सन्तुष्टि मिल्ने काम थियो ।
शिविरमा आएका आँखाका बिरामीहरुमध्ये धेरैजसो वृद्धवृद्धा थिए । शल्यक्रिया गरिसकेपछि आँखामा सेतो पट्टी बाँधेका ती वृद्धवृद्धा देख्दा मन पग्लन्थ्यो । उनीहरुको हात समाएर डोर्याएर चौरसम्म पुर्याउन वा गाडीसम्म पुर्याउने कामको जिम्मा मैले नै लिएकी थिएँ ।
शिविर तीन दिनसम्म चल्यो । म कत्ति पनि थकान नमानी अनवरत रुपमा खटिएँ । मसँगै खटिएका अरु साथीले भने आलोपालोमा काम गरे । म काममा निरन्तर खटिएकोले शिविरमा आउने धेरै मान्छे र डाक्टरहरुले समेत राम्रोसँग चिन्थेँ । बिरामी, बिरामीका आफन्त र डाक्टरहरुले कुनै कामको लागि सहयोग चाहिएमा प्राय: मलाई नै खोज्थे ।
समाजसेवा मेरो रुचिको कुरा थियो । मन पर्ने पेशा नर्स । म पढेर नर्स बन्न चाहन्थेँ । तर, नर्स बन्ने इच्छालाई कहिल्यै पनि कसैको सामु पोख्न सकिनँ । किनकि त्यो सपना मेरो बुबा-आमाको हैसियतभन्दा निकै परको कुरा थियो । म भोलि-पर्सि पढेर नर्स बन्ने कुरा गर्दा सबैको लागि त्यो हाँसोलाग्दो कुरा मात्र हुनेछ भन्नेमा विश्वस्त थिएँ ।
गरिबीकै कारण नर्स पढ्ने इच्छालाई पूरा गर्न सकिनँ । तैपनि इच्छा मरेन । आफैं जबरजस्ती मारिदिएर म्यानेजमेन्ट पढ्न थालेकी थिएँ । सपना अपूरो रहेकैले हुन सक्छ, कतै स्वास्थ्य शिविरमा स्वयंसेविकाको रुपमा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्थेँ । त्यसमा पनि शिविरमा सेतो रङको एप्रोन लगाउन पाइयो भने त झन् घर समेत नफर्की काम गरिरहन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।
शिविर समापन हुँदाको दिन मलाई शिविरमा स्वयंसेविकाको रुपमा अत्यन्त राम्रो भूमिका खेलेको भनेर प्रशंसापत्र पनि दिइयो । सबैले सुन्नेगरी आफ्नो नाम बोलाएर यसरी प्रमाणपत्र पाउँदा अत्यन्त खुसी थिएँ । खुसीले रोऊँ-रोऊँ जस्तो पनि लाग्यो । साँच्चिकै एउटा नर्सकै प्रमाणपत्र पाए जस्तै अनुभूति भयो ।
त्यो खुसी एकैछिनमा फेरि शून्यप्राय: भयो । जब मैले लगाएको सेतो रङको एप्रोन खोल्नुपर्ने भयो । एप्रोन खोलिसकेपछि एक पटक ऐनामा हेरेँ । त्यतिखेर त भक्कानै फुट्यो । आँसु थाम्छु भन्दाभन्दै पनि सकिनँ । आँखा रसाए पनि बाहिर खस्न भने दिइनँ । रुमालले पुछिहालेँ । त्यति बेलासम्म एप्रोन मेरो हातमा नै थियो । शरीरबाट निकालेर पनि छोड्न सकेकी रहेनछु । त्यत्तिकैमा दुई जना साथी भित्र पसे । मन नलागी-नलागी एप्रोन त्यहीँ छोडेर निस्किएँ ।
घर आएँ । खाना खान मन लागेन । सञ्चो छैन भनेर आमालाई ढाटेँ । कलेज पनि गइनँ । दिनभर आँखा अगाडि त्यही सेतो रङको एप्रोन मात्र बल्झिरह्यो । अरु त के कुरा, राति सपनामा पनि एप्रोन लगाएरै कलेज गएको देखेँ । तर, सपनाको कलेज र विपनामा जाने गरेको कलेज फरक थियो । सपनाको कलेजमा म औधि खुसी थिएँ । तर, त्यो संसार कति नै लामो हुन्छ र !
भोलिपल्ट मन खुम्चाउँदै वास्तविक दुनियाँको कलेज गएँ । जहाँ म किन जान्छु र किन पढ्छु भन्ने कुरा आफैंलाई पनि थाहा थिएन ।
नर्स पढ्न नसकेको पीडा बिर्सन पनि मलाई यो समाजसेवाको बाटोले सिकाउँदै थियो । यो कामबाट मैले कुनै आर्थिक लाभ र रोजीरोटी त पाउँदैनथेँ, कतै नपाएको सन्तुष्टि पाउथेँ ।
आँखा शिविर सकिएको पर्सिपल्ट एउटा पत्रिकामा त्यही शिविरको समाचार पहिलो पृष्ठमा छापिएर आयो, जहाँ एउटा फोटो मेरो पनि थियो । आँखा अप्रेसन गरेकी एउटी बूढीआमालाई खुट्टामा जुता लगाइदिँदै गरेको मेरो फोटो त्यो पत्रिकामा मात्र होइन, त्यतिबेला फेसबुक र अरु खै के-केमा जताततै आएछ ।
आँखा शिविरमा क्यामेरा बोकेका मान्छे त देखेकी थिएँ । उनीहरुले फोटो खिच्दा अरु मान्छेसँगै आफ्नो फोटो पनि आउँछ कि भनेर धेरै पटक हुलहालमा पनि मिसिएकी थिएँ । सोचेकी थिइनँ, मेरो फोटो कतै छापिएला भनेर । तर, नसोचेकै भयो, मेरो फोटो नै सबैभन्दा महत्वपूर्ण भएर आयो ।
आफूले हेर्ने गरेको ऐनामा भन्दा त्यो तस्बिरमा आधा अनुहार देखिएको भए पनि म त्यही तस्बिरमै राम्री देखिए जस्तै लाग्यो । १७ वर्ष उमेरकी थिएँ, नराम्री हुने कुरा पनि थिएन । साथीसँगातीहरुको बीचमा पनि अलि फरक नै थिएँ रे, उनीहरुले नै भन्ने गर्थे । जिस्काउँथे पनि, तँ-तँ हिरोनी नै हुने मान्छे होस् भनेर ।
तर, मैले कहिल्यै पनि आफूलाई त्यो हिरोनीको रुपमा कल्पना गरिनँ । गाउँमा जन्मेकी मान्छे । हिलोमाटो र गोबर मल अनि घाँस र दाउराको भारीसँगै हुर्के-बढेकी मान्छे । कतै त्यस्तै आँखा शिविरहरुमा सेतो एप्रोन लगाएर बिरामीहरुको हात समाएर डोर्याउन पाए धन्य ठान्थेँ । फोटो आफैंलाई पनि असाध्यै राम्रो लाग्यो । तर, कसले र कतिखेर खिचेको हो, थाहा भएन ।
त्यसरी विभिन्न ठाउँमा मेरो फोटो र कामको चर्चा हुन थालेपछि मलाई सोध्ने र खोज्नेहरु धेरै भए । १५०० रुपैयाँ पर्ने एउटा मोबाइल थियो हातमा । त्यही पनि आमासँग रोइकराई गरेर मागेकी थिएँ । त्यही मोबाइलमा दिनभर उठाएरै साध्य नहुने गरी फोनका घण्टी बज्न थाले ।
विभिन्न रेडियो, पत्रपत्रिका र टेलिभिजनका मान्छे समेत क्यामेरा लिएर घरसम्मै आउन थाले । गाउँघरमा खेतीपाती गरेर बस्ने बाबुआमाकी छोरी म घरायसी काममा पनि उत्तिकै खट्नुपर्थ्यो ।
घाँसदाउरा जानु, खनखोरस गर्नु, तरकारी रोप्नु, तरकारी फलेपछि बोकेर बजारसम्म लैजानु यी मेरा घरायसी काम थिए । घरमा मलाई भेट्न र खोज्न आउने धेरैको क्यामेराले मलाई जुन काममा देखे, त्यही फोटो खिच्ने काम गर्थे । कतिले त मलाई आउनुस् न एकछिन भनेर नजिक तान्थेा अनि सेल्फी नै खिच्थे । त्यसपछि आफ्नो फेसबुकमा पोस्ट गर्थे ।
पहिला त मेरो फोटो यसरी चारैतिर फैलिएको र मलाई धेरै मान्छेले खोज्न थालेपछि मेरी आमा आत्तिनुभयो । मेरी छोरीलाई कसले के-के गर्ने हुन्, या के गर्न थाले भनेर । सबैले उदार हृदय भएकी, सहयोगी, सरल मान्छे भनेर व्याख्या गर्न थालेपछि आमा पनि साँघुरो सोचबाट बाहिर निस्कनुभयो ।
म पनि अब घरको आँगनभन्दा बाहिरको परिवेशमा आएँ ।
पहिलोपटक टेलिभिजनको स्टुडियोभित्र अन्तर्वार्ताको लागि पस्दा गोडा यति लुला भएका थिए, मलाई आफ्नै जिउको भार थाम्न समेत मुश्किल थियो ।
भित्र बसेर अन्तर्वार्ताकारले सोधेका प्रश्नहरु साह्रै सजिला । जवाफ दिन मात्र अप्ठेरो ।
बाहिर निस्केपछि पत्रकार र अरु मिडियाकर्मीले पछ्याउन थाले ।
कसैले भने, ‘अब फिल्म खेल्नुहुन्छ ?’
कसैले सोधे, ‘अब मोडलिङ गर्नुहुन्छ ?’
कसैले सिनेमाको कथा नै लिएर आए, हाम्रो यो सिनेमामा नायिकाको रोल दिनुपर्यो भनेर ।
कसैले गीतमा मोडलिङ गरिदिनुस् भन्न आए ।
सबैका अनुरोधलाई एकैचोटि कसरी हुन्छ भन्न सक्थेँ ! म त्यसरी चर्चामा आएपछि स्थापित मोडल खोज्नेहरु पनि मतिर आउन थाले ।
तरकारी बेच्न शहर आउँदै गरेकी एउटी केटी एक्कासी यो मिडियामा आएर मैले कसलाई के दिन सक्थेँ ! म कुनै रङ्गमञ्चमा अभिनय गर्दागर्दै मेरो कला देखेर मान्छेले यहाँसम्म ल्याएका पनि होइनन् ।
अभिनयको नाममा एक पटक कक्षा ५ मा पढ्दा एउटा सडक नाटकमा घाँसदाउरा गर्नुपर्ने धपेडीमा स्कूल पढ्न नपाएकी छोरीको रुपमा अभिनय गरेकी थिएँ । तर, त्यस दिन मेरै कारणले गर्दा त्यो नाटक बीचैमा रोकिएको थियो । अभिनय गर्न नसकेरै घाँस लिन वन गएको बेला गायब भएकी थिएँ ।
अभिनयमा मेरो रुचि नै थिएन । मैले अभिनय गर्छु भनेर उच्चारण पनि गरेकी थिइनँ । म राम्रो नाच्न र अभिनय गर्न जान्ने केटी पनि होइन । अनुहार पनि औंसत हो, असाध्यै राम्री होइन । आखिर किन यिनीहरुले मलाई यसरी पछ्याइरहेका छन् यो कुरा कहिल्यै सोचिनँ ।
यस्तैमा एउटा साप्ताहिक पत्रिकामा तपाईँको एउटा तस्बिर छाप्नु छ भनेर बोलाए । गएँ ।
त्यहाँ जादा मैले कुर्ता-सलवार लगाएकी थिएँ । फोटो खिच्ने भनेपछि आफूसँग भएकामध्ये अलि नयाँ र राम्रो लुगा लगाएर गएको थिएँ । दशैंमा एक दिन र तिहारको एक दिन मात्र लगाएको कलेजी रङको कुर्ता-सलवार सुहाउँदो थियो ।
पत्रिकाको अफिसमा पुगेर फोटो खिच्ने कुरा भएपछि मलाई ड्रेस चेन्ज गर्न लगाए ।
‘यत्तिकै खिच्दा हुँदैन र ?’, मैले सोझै तरिकाले सोधेँ ।
दुई जना पुरुष मेरो कुरा सुनेर अलि जोडले हाँसे ।
मेरो शिर लाजले निहुरियो । मन खिन्न भयो ।
एक जनाले भने, ‘बहिनी अब त तपाईँ धेरै माथि पुगिसक्नुभएको छ । मोडल हुन मोडर्न हुनुपर्छ । यसको लागि तपाईंमा धेरै कुराको चेन्ज आउनु जरुरी छ ।’
मलाई अरु दुई जना मेरै उमेरका केटीहरुसँग भित्र पठाइयो । अनेक प्रकारका कपडा थिए । तर, मैले पहिले लगाउने गरेका जस्ता कपडा थिएनन् । त्यही पनि रोज्दै थिएँ ।
मसँग भित्र पसेकीमध्ये एउटी केटीले एक जोर कपडा हातमा समाएर भनी, ‘अहिले तपाईंले लगाउने कपडा यो हो हेर्नुस् । पछि फेरि चेन्ज गर्नुपर्छ ।’
मैले उसले दिएको कपडा हेरेँ । त्यसलाई के भन्छन्, थाहा भएन । लगाउने कसरी त्यो पनि थाहा थिएन । उनीहरुले नै लगाइदिए । कपडा लामो भएकाले म ढुक्क थिएँ । कपडा लगाइसकेपछि आँखामा, ओठमा, गालामा खै के-के लगाइदिए । अनि एक छिनपछि अब ऐना हेर्नुस् एक पटक भने ।
आम्मै ! ऐना हेर्दा ऐनाभित्रबाट अर्की कुनै शहरिया केटीले आफूलाई हेरे जस्तो पो लाग्यो । म त अलमल्ल परेँ ।
‘चिन्नुभएन कि के हो आफैंलाई ?’ सोधे उनीहरुले ।
जवाफमा म हासेँ । बनावटी हाँसो ।
कपडा तलतिरको त ठीकै थियो, माथिको कपडा भने छाती पूरा नछोपिने खालको थियो ।
भनेँ, ‘यो कपडा चाहिँ अलि ठूलो भए हुन्थ्यो । अलि साँघुरो नै भो ।’
मेरो कुरा सुनेर ती दुवैजना गलल हाँसे । म अकमकाएँ ।
एउटीले भनी, ‘होइन, यो त लुगाको सेट नै हो । खास्टो जस्तो पूरै शरीर छोप्ने कपडा लगाएर पनि मोडल भइन्छ त बहिनी ?’
म केही बोलिनँ ।
यति गरिसकेपछि मलाई फोटो खिच्ने कोठामा लगे । सोचेकी थिएँ, मलाई उत्तिखेरै एक-दुई वटा फोटो खिचेर पठाइहाल्नेछन् । तर, त्यस्तो भएन । मलाई दायाँ-बायाँ अगाडि-पछाडि चारैतिर ओल्टाई-पल्टाई गरेर आठ/दस वटा फोटा खिचे ।
फेरि एक छिनपछि अर्को ड्रेस लगाएर पनि फोटा खिच्नुपर्छ भने । यसपालि भने पहिलाको भन्दा निकै फरक कपडा थियो । त्यस्तो कपडा मैले प्राय: फिल्ममा हिरोइनहरुले लगाएको देखेकी थिएँ । मैले यस्ता कपडा लगाउनु त के, कुनै दिन लगाउँला भन्नेर सोचेकोसम्म थिइनँ । तल-माथि पुग्ने एकै लहरोको कपडा लगाएर आफैंलाई हेर्दा लाज लाग्थ्यो, अरुले हेर्दा त झन् मरेतुल्य हुन्थेँ ।
त्यो तस्बिर छापियो । त्यो पत्रिकाको बाहिरी मात्र होइन, अधिकांश भित्री पाना पनि मेरै तस्बिर र मेरै कुराले भरिएका थिए ।
फेरि ठाउँठाउँबाट मलाई फोनको घण्टी आउन थाले । मान्छेहरुले विभिन्न पसलका होर्डिङमा मेरो फोटो राख्न अनुमति माग्न थाले । म शहरभरि छाएँ ।
यस्तैमा मसँग अन्तर्वाता लिने एक जना पत्रकारसँग मेरो नजिकको सम्बन्ध गाँसियो । जसले अरुले भन्दा मेरो तस्बिर निकै सुन्दर निकाल्थे । समय क्रममा उनी मेरा प्रेमी बने । म उनकी प्रेमिका भएँ । मेरो परिचय बदलियो । म पत्रकारकी पत्नी भएँ ।
त्यसपछि मलाई भन्दा मेरा पतिलाई धेरै शुभकामना र बधाई सन्देश आए । मेरो दैनिकी परिवर्तन भयो । मैले सोचे जस्तो वैवाहिक जीवन भएन । मैले घर सम्हाल्न थालेपछि पतिदेव निश्फिक्री रुपमा आफ्नो काममा जान थाल्नुभयो । म बन्दी भएँ घरको चार भित्तामा ।
प्राय: दिनहरु खाना पकाउनु, श्रीमान् र सासू-ससुरालाई खाना खुवाउनु, जुठा भाँडा र मैला कपडासँग बित्न थाले । मन खुल्न नसक्दा अनुहार त्यसै ओइलाउँदो रहेछ । मलाई ऐनामा आफ्नै अनुहार देख्दा पनि दया लाग्न थाल्यो । मलाई मोडल भएर भर्खर बाँचेर आएको जिन्दगी सम्झँदा पनि पीडाको अनुभूति हुन्थ्यो ।
अब म त्यो विगत मात्र हैन वर्तमानको जीवन पनि बाँच्न चाहँदैनथेँ । मलाई मेरो बाल्यकालीन सपना नै प्यारो लाग्न थाल्यो । म त्यो घरबाट निस्केर समाजमा जान चाहन्थेँ ।
एक दिन श्रीमानसँग भनेँ, ‘मेरो बाल्यकालदेखिको सपना समाजसेवी बन्ने थियो । अब म त्यो क्षेत्रमा लाग्न चाहन्छु, कसो होला ?’
उहाँ मेरो कुरा सुनेर हाँस्नुभयो । हाँस्न पनि सामान्य तरिकाले होइन, नमीठो अट्टहास । मेरो अन्तरहृदय नै घोच्यो ।
‘त्यस्तो चाहना भएको भए मोडल हुनुभन्दा पहिले नै सोच्नुपर्थ्यो’, श्रीमानले भन्नुभयो ।
‘म मोडल हुने मान्छे नै थिइनँ । तपाईंहरु जस्तै पत्रकार र मिडियाले बनाएका त हुन् नि’, मैले हाँस्दै भनेँ ।
त्यसको जवाफमा श्रीमान हाँस्नुभयो मात्र ।
आजभोलि म श्रीमानसँग केही स्वतन्त्र भएर सामाजिक जीवन बाँच्ने अवसर दिनुस् भनेर आग्रह गर्छु । तर, उहाँ नसुने झैं गर्नुहुन्छ ।
आज मेरो भित्री चाहना बुझेर कुनै पत्रकारले पत्रिकामा लेखिदेओस् भन्ने चाहन्छु । म अब सामाजिक जीवन बाँच्न चाहन्छु, एउटा सामाजिक अभियान चलाउन चाहन्छु । तर, यो कुरा लेखिदिने कुनै पत्रकार यो शहरमा भेटिँदैनन् ।
यतिसम्म कि, मेरो श्रीमानले धेरै सेलिब्रेटीको सम्बन्धको नालीबेली खोतलेर धेरै कुरा लेख्नुहुन्छ, धेरैको मनमस्तिष्कको कुरा बाहिर ल्याउनुहुन्छ । मेरो कुरा भने कहिल्यै लेख्नुहुन्न । सायद अरु कुनै पत्रकारले मेरो कुरा लेख्न सक्थ्यो होला । तर, ऊ म कहाँ आउन पनि अब पहिला जस्तो सजिलो छैन ।
पहिला मेरो जीवनमा सबैको लागि प्रवेश खुला थियो, त्यहीँबाट मेरो श्रीमान् म कहाँ आइपुग्नुभयो । अहिले उहाँ नै मेरो जिन्दगीको दैलो हुनुभएको छ । जोसुकै मसम्म आउन पाउँदैन । म आफैं बाहिरी दुनियाँमा निस्किएर सामाजिक जीवनमा भिजूँ भन्ने लाग्छ । तर, त्यस्तो इच्छालाई निषेध गरिएको छ ।
प्रतिक्रिया 4