+
+
कथा :

जुठो भाँडो

सन्देश पौडेल सन्देश पौडेल
२०८१ माघ ५ गते १०:४१

‘पूर्ण सार्की, बिहुँकोट हो घरचाहिं।’

थाहा छैन के भएको हो तर मन एक्कासी चिसो भयो। समय टक्क अडिएको जस्तो भयो। टेबल पुछिरहेको हात एक्कासी काँप्न थाल्यो। बेक्कारमा सोधिछु जस्तो भयो। जसोतसो आफूलाई सम्हालेर जुठो उठाएँ अनि खाएको भाँडा माझ्ने ठाउँमा पुर्‍याएर राखें। अरू बेला जस्तो त्यतिबेलै माझ्न चाहिं सकिनँ।

‘अनि निशिखोला कसका छोरा हौ’, काउन्टरबाट बुढाले जोडसँग सोध्नुभयो। बागलुङको भन्ने बित्तिकै बुढाको कान ठाडो भइहाल्यो।

‘लिखुरे माइलोको छोरो हुँ। जापान जाने प्रोसेस गर्न काठमाडौं आएको दुई दिन भयो’ उसले जवाफ फर्कायो। मैले आँखीभुइँ खुम्च्याएको देखेर होला सायद बुढाले थप प्रश्न वा जिज्ञासा गरेनन्, आफ्नो खाएको पैसा तिरे अनि उनीहरू गइहाले।

००० ०००

हाम्रो घर बागलुङ दुधिलाबाटिमा हो। बुढो सरकारी स्कुलको प्राचार्य थिए। दुई छोरी मुनिको एक छोरो छ। स्कुलको प्राचार्य भए पनि बुढा सन्तुष्ट थिएनन्। त्यहीं हुँदा पनि अनेक व्यवसाय गरिरहेका थिए, एउटा किराना पसल अनि एउटा तेल मिल थियो, मौसममा टिम्मुरको व्यापार पनि गर्थे।

‘गाउँमा कुवाको भ्यागुता जस्तो भएँ, अब शहर जाने हो’, आफ्नो साथीभाइहरूलाई भनिरहेका हुन्थे।

‘यहाँ नै यस्तो राम्रो छ त, किन जानुपर्‍यो शहर?’ साथीभाइहरू भन्थे। ‘गाउँ कहिले छोडेका छौ र तिमेरुले?’ ‘तिमीहरूले शहर देखेका छौ र त्यसो भन्नलाई। मर्द भएपछि आँट गर्नुपर्छ’ उनी जवाफ फर्काउँथे। कसैले ठिक हो भन्थे, कसैले ‘खुब नापिस्’ भनेर आफ्नो भावना प्रष्ट बनाउँथे।

म चाहिं त्यतिबेलासम्म काठमाडौं गएकी थिइनँ। उनी चाहिं घरी स्कुलको कामले घरी सामान लिन गइरहन्थे।

मेरो माइत चाहिं बिहुँकोट हो। बुवा गाउँको नामी पण्डित थिए। जजमानी गर्न अन्यत्र गाउँ पनि जान्थे। घरमा खान–लाउन दुःख चाहिं थिएन तर पनि मेलापात र भैंसीलाई बुट्यान टिप्न गाह्रै थियो। सानैदेखि दूध–घिउको कमि नभएर होला म आफ्नो उमेरको लागि निकै बलियी थिएँ। घाँस–दाउराको धेरै भारी बोक्न सक्ने भनेर म आफ्नो गाउँमा प्रख्यात नै थिएँ।

दाजुहरू हरिचौरको स्कुलमा पढ्न जान्थे। हामी छोरीहरूचाहिं घरकै काम गर्थ्यौं। साँच्चै भन्दा छोरी मान्छेले पढ्छन् भन्ने मलाई कहिल्यै पनि लागेको थिएन, आजकल आफ्नै छोरीहरू पढ्न जाँदा पनि कहिलेकाहीं कसरी सम्भव भयो जस्तो लाग्छ। पढ्नलाई विद्रोह गर्ने भन्ने कुरा कहिल्यै मनमा पनि आएन।

११ वर्षमा त बिहे नै भयो। दक्षिणगाउँको सलक्क परेको खाइलाग्दो शिक्षक केटोको प्रस्ताव आएपछि बुवाले सायद त्यति धेरै सोच्नु पनि भएन।

बिहेपछि परिवेश, मान्छे र ‘घर भन्ने बस्ने ठाउँ’ परिवर्तन भयो तर त्यसबाहेक खासै केही परिवर्तन भएन। बुढी र बुहारीको कर्तव्य निभाउँदा–निभाउँदै चार वर्षपछि आमाको कर्तव्य पनि थपियो। छोरी जन्मिई।

पहिलो सन्तान छोरी भएर होला सुत्केरीबाट नतङ्ग्रिंदै दोस्रो सन्तान पनि जन्मिई। उमेरले २० नछुँदै म दुई छोरीको आमा भएँ। सजिलो त पहिले पनि थिएन तर अब घाँस–दाउराको बोझसँगै वचनको बोझ पनि थपियो।

आखिर घाँस–दाउरा र चुलोचौकाको भारभन्दा ‘अलच्छिनी’ हुनुको भार बढी हुँदोरहेछ।

भगवान्‌को कृपाले पाँच वर्षपछि छोरो जन्मियो। त्यो बीचमा दुईवटा बच्चा गर्भमै तुहिएका थिए। भगवान् नै जानून् उनीहरू वरदान थिए कि अरू केही। जे होस् छोरो जन्मियो। अब बल्ल पूर्ण महसुस गरें। घरमा त शिर उठाउन सक्ने अवस्था थिएन पँधेरोमा चाहिं अब कसैले देख्ला कि, वचन सुन्नुपर्ला कि भनी हतार हतार पानी भर्नुपर्ने डरबाट मुक्त भएकी थिएँ।

छोरो ८ वर्ष भएपछि एकदिन बुढोले ‘म अब काठमाडौं जान्छु छोरोलाई लिएर’ भने। सोधेको वा सल्लाह गरेका थिएनन्, जानकारी दिएका थिए।

‘छोरोलाई काठमाडौंमा पढाउँछु, यहाँको थान्को-मान्को लगाएर आएको पैसाले काठमाडौंमा किराना पसल चलाउँछु’, आफ्नो योजना सुनाए। छोरीहरूलाई लिएर घरमा ‘अझ पराइ’ हुनुपर्ने बाध्यता मैले महसुस गरिसकेकी थिएँ तर बोल्न र इच्छा जनाउन कसैले मलाई तयार गरेका थिएनन्, म पनि तयार थिइनँ।

उनी गए छोरो लिएर। एउटा छोरी आठ कक्षामा अर्को छोरी ६ कक्षामा पढ्थे। फोन थिएन, कहिलेकाहीं काठमाडौं जाने मान्छेसँग त कहिले चिट्ठी मार्फत हालखबर जान्थें। घरमा खासै नयाँ केही हुँदैनथ्यो, छोरीहरूको बिहे गर्न ढिलो भयो भनेर मेरो मन चाहिं छटपटिई रहन्थ्यो।

एक-दुई चोटि कुरा नगरेको पनि होइन, अहिले बेला भएको छैन भन्ने जवाफ आएपछि कुरो त्यसै सेलाउँथ्यो। बेचैनी चाहिं कम भएको थिएन। मान्छे आखिर आफूले जे भोग्यो त्यसैको अधीनस्त हुने न रहेछ।

एकदिन छोरो लिएर उनी गाउँ आए। छोरो बेस्कन बिरामी भएको रहेछ। ‘बिरामी छोरोलाई शहरमै उपचार नगरेर किन गाउँ ल्याएको’ सासूआमाले सोधेकी सुनें, म छोरोलाई सुम्सुम्याउँदै थिएँ।

‘धेरै बिरामी भएको भयै गर्‍यो, अब यसकी आमालाई पनि लिएर जानुपर्‍यो काठमाडौं।’

‘तेरी बुढी, तेरो सन्तान मलाई के सोध्छस् लिएर जा’, आमाले यत्ति भनिन्। कुरो त बुझिहालियो तर कसैले केही बोलेन। छोरीहरूलाई छोडेर हामी त्यसको पर्सिपल्ट लाग्यौं काठमाडौंतिर।

००० ०००

काठमाडौंमा उनले किराना पसल चलाउँथे। छोरो बिरामी भइरहेपछि किराना बेचेर हामी बस्न पनि मिल्ने एउटा गेस्ट हाउस लिएका रहेछन्। त्यतिबेला बागलुङबाट जापान जानेहरूको लहर चलेको भएर गेस्ट हाउस राम्रो चल्छ भन्थे। उनी काउन्टरमा बस्थे, म भान्सा हेर्थें। एउटा वावर्ची राखेको थियौं पहिला तर खर्चले नधानेर उसलाई पछि निकाले।

००० ०००

मलाई खासै केही गाह्रो लाग्दैनथ्यो। सुरु–सुरुमा ग्याँस चलाउन निकै अप्ठेरो लाग्थ्यो तर भारीभरकम घाँसदाउरा गर्नुभन्दा यो धेरै सजिलो रहेछ भन्ने मैले बुझिसकेकी थिएँ।

सजिलै हो नि, दैलो लिप्न पनि नपर्ने, बढारे मात्र हुने। धारा खोलेर लुगा धुन मिल्ने। जुठो भाँडा माझ्ने र जुठो उठाउने काम त मैले आफूलाई बुझेदेखि नै गरेकी थिएँ। अझ महत्वपूर्ण कुरा कहिलेकाहीं बुढाको बाहेक अरु कसैको वचन सुन्नुपरेको थिएन। म रमाएकी नै थिएँ। शहरको परिवेश भएर होला मान्छेहरूसँग अलिअलि बोल्न पनि सिकेकी थिएँ। कहिलेकाहीं उनी बाहिर हुँदा एक दिनको यति पैसा हो भन्दा आफू साहुनी भएको भन्ने कुराले काउकुती पनि लाग्थ्यो।

००० ०००

आज चाहिं निकै गाह्रो भयो।

‘पूर्ण सार्की’, यो नाम मेरो कानको बीचमा अहिलेसम्म गुन्जिरहेको छ। त्यो जुठो भाँडा अझै जुठो नै छ, बाँकी सबै माझिसकें। त्यो घटना एउटा भयानक सपना जस्तै अझ पनि म प्रष्ट देखिरहेकी छु।

सम्पन्न नै नभए पनि म जहिले पनि इज्जतका साथ हुर्किएकी थिएँ। बुवा पण्डित भएको भएर पण्डितकी छोरी भन्ने सानकै साथ म हुर्किएकी थिएँ, बिहे भएपछि पनि मास्टर्नी भनेर कहलिएकी थिएँ। आफूभित्रको ‘सम्मान’ त मैले कहिल्यै पनि महसुस गरेकी थिइनँ तर ‘जातको’ भनेर अरूले गर्ने सम्मानको आदत परिसकेको रहेछ। मेरो लागि सम्मान गर्नलायक आखिर जात बाहेक के नै पो थियो र?

‘काठमाडौं गएर सार्कीको जुठो भाँडा माझ्दिरहिछे’, कसैले थाहा पाए के भन्छन् होला भन्ने विषय दिमागमा घुमिरहेको छ। ‘के के न गर्छु भनेर काठमाडौं गएको, यस्तै गतिछाडा हुन पो रहेछ’, अघि नापिस् भन्ने मान्छेहरूले बुढालाई भनेको सजीव कल्पना गरिरहेकी थिएँ।

काउन्टरको तलपट्टि रहेको एउटा सानो मेचमा बसेर जुठो भाँडातिर हेर्दै म टोलाइरहेकी थिएँ। ‘खान लाउन पुगेकै थियो, बुढालाई किन यस्तो धर्मछाडा काममा हात हाल्नु परेको होला’ म सोचिरहेकी थिएँ।

त्यो मान्छे जापान जाला कि नजाला? गए त ठिकै छ नगए गाउँ पुगेर त्यसले हाम्रो बारेमा के भन्ला? ‘त्यो मान्छे हाम्रो गाउँमा पुग्ला कि नपुग्ला?’ ‘बस्न त त्यहीं बसेको हो तर भाँडा आफैं माझेको हो’ कसैले सोधेको भए पनि यत्तिको उत्तर दिए हुन्थ्यो नि !

फेरि, ‘अनि त्यो भाँडा के गरिस्, अरू भाँडासँग मिसाइस् कि अलग्गै राखिस्?’ प्रश्न त यस्तो पनि आउन सक्थ्यो। के उत्तर ठिक होला भनेर सोच्दैथिएँ, उनी आइपुगे।

उनी सामान्य मुद्रामै थिए। काउन्टरबाट एउटा चुरोट झिकेर मसँग सलाई मागेका रहेछन्, टोलाइरहेको भएर मैले सुनिनँ। ग्याँस बालेर चुरोट सल्काएपछि, ‘आज फेरि के भयो यो आइमाईलाई’ भनेपछि मात्र म झल्याँस्स भएँ।

‘केही भएको छैन’ यत्ति मात्र भन्न सकें। उनी दिनको हिसाब मिलाउनतिर लागे। अनि भने, ‘भात पस्की।’

ठूलो कुकरबाट भात पस्किंदा पनि मेरो आँखा त्यो जुठो थालमै थियो। ‘यही गर्नलाई मलाई यहाँ ल्याउनुभएको हो’, जोडले कराएर सोध्न मन थियो, सोध्न सकिनँ। भात पस्किएर बोलाए, ‘तँ खान्नस्?’, अहँ, अहिले एकछिनमा मन लागे खान्छु।

‘कस्तो एकछिनमा हो र, पाकेको भात किन चिसो बनाउनु?’

फेरि केही बोल्न सकिनँ, आदेश मानेर भात पस्किएँ आफ्नो लागि पनि। कताकति भोक लागेको जस्तो पनि भएको छ तर गाँस हाल्न नसकेर भातका सितालाई सुम्सुम्याउँदै मात्र थिएँ।

‘के भयो फेरि, सन्चो भएन?’ अलिकति चिन्ता तर धेरै रिसकै मुद्रामा सोधे।

‘होइन केही भएको छैन’ त्यति मात्र भनें।

आजको बारेमा निकै जोड गरेर भन्न आँटेको मात्र थिएँ, ‘हरिचौरको पिंधारेले पनि छेउमै गेस्ट हाउस चलाउन लागेछ’, यत्ति भने। अब मेरा भावनाले बाहिरी दुनियाँ देख्ने भएनन्।

यसै त उनलाई केही भन्न युद्ध लडे जस्तो लाग्थ्यो, चिन्तित भएको बेला भन्ने आँट आउने कुरै भएन।

भात खाएर उनी फेरि काउन्टरबाट अर्को एक खिल्ली झिकेर सलाई मागे, यतिबेला होसमै रहेछु, दिएँ। ‘एकछिन बाहिर गएर आउँछु, तलको गेट लगाएर माथि खुल्लै राख’ भनेर उनी गए।

अब फेरि त्यो चिसो पर्खालबीच म र जुठो भाँडा मात्र भयौं। त्यो जुठो भाँडाले मेरो बाहुन भएर बँचेखुचेको केही थोरै ‘सम्मान’ लाई जिस्क्याइरहेको थियो।

‘भाँडा नै फ्याल्दिन्छु’ एकछिन सुर पलायो। फेरि अस्ति भर्खर ३० रुपैयाँ हालेर किनेको भाँडा फाल्ने आँट आउने कुरै थिएन।

‘सधैं यस्तै भयो भने के भान्सा नै रित्तो बनाउने त?’, प्रश्न र आवेशको उत्तर एकै पटक आयो।

‘के भयो त, योभन्दा अघि पनि त कैयन् सार्कीहरूले खाएको हुनुपर्छ, नसोधेर पो थाहा नभएको त’, मनमा फेरि तर्कको नयाँ कोण आयो।

‘उनलाई पनि किन सोध्नुपरेको होला, नसोधी खुरुखुरु पैसा लिए पनि त हुन्थ्यो नि?’

‘सोधेको र थाहा भएपछि मात्र पाप लाग्ने हो र? पाप लाग्ने भए त पहिले पनि नै लागिसक्यो होला नि’, आफ्नै प्रश्नमा आफ्नै उत्तरको शृङ्खला चलिनै रह्यो।

अब के अनिष्ट हुने हो, यो पापले कहाँ कता हान्ने हो? छोरोलाई वा बुढोलाई पो केही भइहाल्ने हो कि? पिंधारेको गेस्ट हाउस चलेर हाम्रो गेस्ट हाउस सुक्ने पो हो कि ? भयावह हुँदा त कल्पना पनि कस्तो सजीवन देखिने रहेछ, आँखै अगाडि भएको जस्तो।

महिनावारी हुँदा कहिलेकाहीं छोरोले छुँदा सुनपानी छर्किएपछि छोरो भान्सामा छिर्नहुन्छ भन्थे मेरा बा अनि सासूले। ‘अहिले पनि सुनपानी छर्किन्छु भइहाल्ला नि’, मनमनै सोचें। कस्तो राम्रो उक्ति आयो।

नाकमा भएको फुलीमा एक अन्जुली पानी हालेर त्यो जुठो भाँडामा हालें। हल्का राहत भए जस्तो भयो। फेरि सोचें- त्यो टेबल कुर्सीलाई के गर्ने? यो सिमेन्टको दैलोलाई के गर्ने, यो ढोकालाई के गर्ने ? अरु त यसरी यसरी भन्ने आइरहेको थियो। सोचें ‘त्यो पैसालाई चाहिं के गर्ने’ टक्क अडिएँ।

फेरि सोचें। त्यो पैसाले छोएको काउन्टरलाई के गर्ने? अनि त्यो पैसाले छोएको अरू पैसालाई के गर्ने? उत्तर थिएन मसँग।

मेरा पितृले के गर्लान्? मैले बनाएर दिएको पिण्ड खालान् कि नखालान्? पैसा अलि खुकुलो भए त क्षमापूजा नै गर्नुहुन्थ्यो नि !

‘ह्या किन डराइरहेको होला म पनि, जानी जानी गरेको होइन क्यारे’, अञ्जानमा भएको गल्तीलाई भगवानले माफ गरिहाल्नुहुन्छ नि! होइन भने बाहुनलाई बोलाएर गाईदान गराउँछु, अस्तिन पनि गृहदोष लागेको बेला त्यही गरेको हो क्यार, बुढालाई पो के भन्ने होला? ‘केही नगरे, के होला?’

आफैं डराउँदै, तर्सिंदै आफैंलाई ढाडस दिंदै, सम्झाउँदै थिएँ झ्याप्प आँखा लागेछ। बुढा आएर गेट कराएपछि बल्ल आँखा खुल्यो। ‘के को ध्याउन्न हो यो आइमाईलाई रात विरात’, यत्ति भन्दै उनी सुत्न उक्लिए।

म फेरि एक्लै भएँ, जुठो भाँडासँग।

त्यो जुठो भाँडा त्यहीं, त्यसै चुपचाप छ, टोलाइरहेको जस्तो, मलाई नै हेरिरहेको जस्तो, मलाई केही भन्न खोजिरहेको जस्तो।

‘त्यसलाई कस्तो लागिरहेको होला? उसले छोएको भएर?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?