Comments Add Comment

कुमार नगरकोटीको कविता: औंलाहरु

कहिलेकाहीँ म ती औंलाहरुबारे सोचिबस्छु,
जो जीवनको तीर्थयात्रामा कतै छुटिरहे
ती कोमल मुलायम औंलाहरु
ती न्याना प्रेमिल औंलाहरु
ती चिसा फ्रोजन औंलाहरु ।

कुनै अद्‍भूत किताबको पानाहरु पल्टाइरहेका औंलाहरु
सङ्गीतको स्वप्निल सरगममा नृत्यमग्न औंलाहरु
एक लाछी ऊनको घर बनाउन कुरुशमा चल्मलाउने औंलाहरु
चित्रकारिता गर्ने क्यान्भास सामु रङ्गीन बुरुशमा तत्पतिएका औंलाहरु
धूलो जमेको ऐनामा आफ्नो नाम लेखिरहेका औंलाहरु ।

बयरको झाडीमा अल्झिएका औंलाहरु ।

प्रियसीका अधरमा बल्झिएका औंलाहरु ।

केही औंला त यस्ता हुन्छन्
जो कविता लेख्दालेख्दै काव्य-सङ्ग्रहको पाण्डुलिपिभित्र कतै छुट्छन्
जसरी केही औंला प्रेमपत्र लेख्दालेख्दै
कलमहरुमा छुट्छन् ।

केही औंला बाँसुरीका प्वालहरुमा छुट्छन्
र केही औंला वीणाका तारहरुमा
मानौं ती हिउँदका बर्फिला औंलाहरु हुन्
जो ज्याकेटका गोजीहरुमा छुट्छन् ।

केही औंला मन्दिरका सस्याना घण्टीहरुमा छुटे
टिङ-टिङ-टिङ-टिङ-टुङ
केही कलशमा
जसरी पुतली समाउन उडेका औंलाहरु बतासमा छुटे ।

जीवन-मझदारको डुङ्गामा
केही औंला
बहानामा
छुट्छन्
केही औंला धर्मग्रन्थका पानाहरुमा
जसरी ध्यानमुद्रा औंलाहरु
जप-मालाका दिव्य
दानाहरुमा
छुट्छन्

कामना तथा प्रार्थनामा उठ्ने औंलाहरु कता छुटिगए भने
म कहिलेकाहीँ सोचिबस्ने गर्छु
व्यथित हुने गर्छु
माता, पिता तथा गुरुका चरण स्पर्श गर्ने
पवित्र औंलाहरु कहाँ कता छुटे
जीवनको नवजात निर्मल मुहारलाई
आस्थाले सुम्सुम्याउने ती निर्दोष औंलाहरु कहाँ/कता छुटे ?
र,
कता छुटिगए
मृत्युको बुढ्यौली कायालाई
मायाले सुम्सुम्याउने श्रद्धालु औंलाहरु ?

अनेकले मेरा अनेक औंला लिई गए
अब त मसित कुनै गुप्त गुनासो पनि रहेन ती अनेकप्रति
जसले मेरा एक-एक औंला कैले सापटीमा / कैले उधारोमा / कैले मुफ्तमा लिई गए

ताते-ताते गरी हिँड्नुपर्‍यो भनी
बच्चाहरुले कान्छी औंला लिइगए
वेडिङ-रिङ लगाउनुपर्‍यो भनी
प्रेमिकाहरुले अनामिका औंला लिई गए
दुश्मनलाई देखाउन भनी
मित्रहरुले माझी औंला लिइगए
पथिकहरुलाई घाट र घरतिरको
पथ प्रदर्शन गर्न
वैरीहरुले चोरऔंला लिई गए
जसरी
नागरिकता, तमसुक, मृत्युपत्रमा
ल्याप्चे लगाउन भनी शुभचिन्तकहरुले बुढी औंला लिई गए

कहिलेकाहीँ म सोच्नेगर्छु
तपाईंलाई पनि त यदाकदा ती औंलाहरुको असीम याद आउँदो हो
जो सेतो खरीसितै कालोपाटीमा छुटिगए
जो डाँठसितै फूलका थुङ्गाहरुमा छुटिगए
जो धागोसितै सियोका टुप्पामा छुटिगए ।

जो तासका पत्तीहरुमा छुटे ।
जो सिग्रेटका फिल्टरहरुमा छुटे ।
जो मदिराका प्यालाहरुमा छुटे ।

जो रिभोल्भरका
ट्रिगरहरुमा
छुटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment