Comments Add Comment

‘भ्यालेन्टाइन डे’को अघिल्लो साता प्रेमका नाममा अपराध !

असल प्रेमी त्यो हो, जसले प्रेमिकालाई दुःख दिँदैन

२४ माघ, बुटवल । युवायुवतीवीच प्रेम हुनु र टुट्नु सामान्य घटना हो । एकजनाले चाहेर मात्रै प्रेम हुँदैन । प्रेमका लागि दुबैले चाहनुपर्छ । आफूले चाहेअनुसार भएन भन्दैमा अर्को पक्षलाई दुःख दिनु प्रेम होइन । साँचो प्रेमी त त्यो हो, जसले अर्को पक्षलाई पाउने स्थिति भए पनि/ नभए पनि उसलाई दुःख दिँदैन । बरु, जीवनभर खुशी भएको, हाँसेको हेर्न चाहन्छ ।

धादिङ नौबिसे-१ घर भएका २८ वर्षीय सुनिल कोइराला प्रेमका नाममा कलंक सावित भएका छन् । कोइरालाले आइतबार राति आफ्नी ‘प्रेमिका’ लाई बुटवलको एक होटलमा बोलाएर मध्यरातमा एसिड खन्याए । उपचारका क्रममा सोमबार बिहान पीडित युवती तुलसा सापकोटाको मृत्यु भयो ।

प्रहरीका अनुसार धादिङका सुनिल कोइराला नवलपरासी गौंडाकोटकी २७ वर्षीया तुलसा सापकोटासँग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । सुनील र तुलसा आइतबार राति बुटवल-६ स्थित मेरिडियन होटलमा सँगै बास बस्न पुगेका थिए ।

रुपन्देहीका डीएसपी बेलबहादुर पाण्डेका अनुसार सुनिलले कोठा नम्बर १०३ बुकिङ गरेका थिए । त्यो रात तुलसा र सुनिलले सँगै खाना खाएका थिए । खाना खाइसकेपछि उनीहरु एउटै रुममा पसेका थिए ।

राति उनीहरुवीच खटपटी भयो र सुनिलले तुलसाको शरीरमा तेजाब खन्याए । कोठामा पहिल्यै तेजाबको इन्तिजाम गरिएको देख्दा सुनिल नियोजित रुपमै अपराधको मानसिकता बोकेर होटमा पुगेका थिए ।

राति तुलसाले चिच्याउँदै गुहार मागेपछि मागेपछि होटलका स्टाफहरुले सबै ढोकाहरु बन्द गरे । र, सुनिललाई पक्राउ गर्न सफल भए । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइदिए ।

होटलको कोठा नं १०४ मा तुलसा सापकोटाकी सानीमा देवी खरेल पनि बास बसेकी थिइन् । काठमाडौं-७ चाबहिल बस्ने ४० वर्षीया खरेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको कोइरालाको वयान छ ।

तुलसाको अनुहार, टाउको, र शरीरका विभिन्न भागमा एसिड लागेको थियो । लुम्बिनी अञ्चल अस्पताल बुटवल र भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी बेलबहादुर पाण्डेको भनाइ छ । तुलसालाई सोमबार काठमाडौं लैजाने तयारी गरिँदै थियो, तर उनको बुटवलमै मृत्यु भयो ।

युवायुवतीहरु अहिले ‘भ्यालेन्टाइन डे’ का लागि प्रेमी-प्रेमिकालाई के उपहार दिने भनेर सोचिरहेका छन् । तर, सुनिल कोइरालाले भने प्रेमजस्तो पवित्र सम्बन्धलाई अपवित्र बनाइदिएका छन् ।

आफूले चाहेकी तुलसाले अर्कैलाई रोजेको हुनाले एसिड प्रहार गरेको कोइरालाले बताए पनि प्रेममा यस्तो बदलाको भावना कदापि स्वीकार्य हुँदैन । अब यो कुरा सुनिलले पक्कै पनि जन्मकैद भुक्तानीका क्रममा जेलभित्र पुगेपछि महसुस गर्ने छन् । तर, त्यो महसुस गराइ उनका लागि धेरै ढीलो भइसक्ने छ ।

एउटा सानो आवेगका कारण मानिसले कसरी पछुताउनुपर्दोरहेछ भन्ने यो घटनाबाट सुनिल कोइरालाले मात्रै होइन, अरु ‘प्रेमी’ हरुले पनि पाठ सिक्दा फरक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment