Comments Add Comment

‘मोटो गर्ल’को पेशा राम्रो, नजर खराब !

  भाडाका स्कुटी पर्यटक आकर्षित गर्ने माध्यम बन्दै

क्याम्बोडिया । नोमपेन्हको एउटा होटलमा रातो टी-शर्ट र टाइट जिन्स लगाएकी २६ वर्षीया रेनू चिया र उनकी सहयोगीलाई देख्ने हरकोहीले गलत धारणा बनाइहाल्छन् ।

रेनू भन्छिन्, ‘उनीहरू सोच्छन् कि हामी बिग्रेका केटीहरु हौं, विदेशी पर्यटकसँग जोडिने हरेक महिलालाई यहाँ वेश्याजस्तै ठानिन्छ ।’

क्याम्बोडियाको राजधानी नोमपेन्हमा जतासुकै देखिन्छन् मोटरसाइकल ट्याक्सी । तर, केटीहरुले मोटरसाइलको पछाडि सीटमा पर्यटकलाई राखेर कुदाएको दृश्य भने यदाकदा मात्र देखिन्छ । किनकि यस्तो काम गर्ने केटीहरुलाई समाजले राम्रो नजरले हेर्दैन ।

यस पेशामा अनौठो केही छैन, कमसेकम यो दक्षिणपूर्वी एशियाली देशमा महिलाहरुले पर्यटकलाई घुमाई त रहेका छन्

रेनूकी २३ वर्षीया बहिनी राक्समी चियाको पनि उस्तै अनुभुति छ । उनी भन्छिन्, ‘कहिलेकाहीँ जब हामी कोही पुरुषहरुसँग बाहिर जान्छाैं, मानिसहरु सोच्छन् कि हामी सेक्स गर्न हिँडेका हौं ।’

पर्यटकलाई मोटरसाइकल पछाडि राखेर घुमाउने महिला ड्राइभरलाई ‘मोटो गर्ल’ भन्ने गरिन्छ । यी ‘मोटो गर्ल’ हरु भर्खरका किशोरी हुन्छन् र उनीहरु सुन्दर हुन्छन् । नोमपेन्हको सीएस ट्राभलका मालिक सिव चेङ भन्छन्, ‘यस पेशामा अनौठो केही छैन । कमसेकम यो दक्षिणपूर्वी एशियाली देशमा महिलाहरुले पर्यटकलाई घुमाई त रहेका छन् । जबकि अधिकांश ड्राइभर पुरुष नै छन् ।’

रेनूले मोटो ड्राइभर बन्ने सुर त्यतिबेला कसिन् जब उनकी एक आन्टीले थाइल्याण्डमा ती छात्राहरुका बारेमा सुनाइन्, जसले मोटो ट्याक्सी चलाउँछन् । हाइस्कुलदेखि मोटरबाइक चलाउने र कलेजमा अंग्रेजी विषय पढ्ने रेनूले सोचिन् कि पर्यटकलाई शहर घुमाएर पैसा कमाउने आइडिया आफैंमा बेठिक छैन ।

एकाउन्टसमेत पढिसकेकी रेनूले यसलाई व्यवसायको राम्रो अवसरका रुपमा पनि बुझिन् । रेनूले यो कामका लागि आफ्नी बहिनी र २२ वर्षीया श्रेन्च हार्मलाई नियुक्त गरिन् । यी दुवै केटीहरु रेनूजस्तै छरिता र सर्सराउँदा छन् ।

आफूभन्दा ठूलो मान्छेलाई पछाडि राखेर बाइक कुदाउन पनि गाह्रै छ । कतिपय पर्यटकमा मोटरसाइकल पछाडि बस्ने आदत हुँदैन । उनीहरु बायाँ झुक्नुपर्ने ठाउँमा दायाँ र दायाँ झुक्नुपर्ने ठाउँमा बायाँ झुकिदिन्छन् । तर, पछाडि बस्ने पर्यटकले गाइडलाई छुन वा समाउन पाउँदैनन्

सन् २०१६ देखि काम सुरु गर्नुभन्दा अगाडि यी केटीहरुले आफ्नो परिवारलाई आश्वस्त तुल्याए कि यो पेशामा उनीहरु पूर्ण सुरक्षित रहनेछन् । अनि आफ्नो मर्यादा जोगाउनका लागि उनीहरुले के नियम बनाए भने पछाडि बस्ने पर्यटकले गाइडलाई छुन वा समाउन सक्ने छैनन्, उनीहरुले सीटमा रहेको ह्यान्डल बारमा समाएर बस्नुपर्ने छ ।

रातमा वा शहरभन्दा बाहिर टूर जानुपर्दा तीनैजना युवती एक साथ हुन्छन् । यद्यपि उनीहरुका परिवार अझैसम्म छोरीहरुको सुरक्षा सम्वन्धमा पूर्ण आश्वस्त भइसकेका छैनन् ।

चार फिट नौ इन्च उचाई र ४० किलो वजन भएकी रेनू हेर्दा लरक्क परेकी देखिन्छिन् । उनले चलाउने स्कुटरको वजन उनको भन्दा दोब्बर छ । त्यसैले धेरै मानिसहरु सोच्ने गर्छन्, उनले स्कुटर राम्ररी थेग्न सक्दिनन् । यस कुराले उनलाई चिन्तित बनाउँछ । उनी आफूलाई सुरक्षित ड्राइभर सम्झिन्छिन् ।


मिटो होटलका म्यानेजर हगले पनि उनको कुरामा सहमत छन् । उनले भने, ‘पर्यटकहरु केटीहरुसँग डुल्न मन पराउँछन्, किनकि उनीहरु बाइक बिस्तारै कुदाउँछन् ।’ हगले आफ्नो टेबलमा मोटो गर्ल टूरको ब्रोसर पनि राखेका छन् ।

अष्ट्रेलियाकी ३१ वर्षीया वकिल च्यानल सिंक्लेयर २०१६ मा एक्लै नोमपेन्ह घुम्न आउँदा महिला टूर गाइड पाएर ढुक्क भइन् । मोटो गर्लको कामबाट सन्तुष्ट भएर उनले तीन पटकसम्म उनीहरुको सेवा लिइन् । रेनू पनि सिंक्लेयर जस्ता धेरैभन्दा धेरै महिला पर्यटकहरुलाई बोक्न चाहन्छिन् । तर, उनका अधिकांश ग्राहक पुरुषहरु नै हुन्छन् ।

मोटो गर्ल आफूलाई अलग देखाउने प्रयासमा हुन्छन् । उनीहरु आफ्ना ग्राहकसँग कम्बोडियाको कला, इतिहास र संस्कृतिका विषयमा चर्चा गर्ने गर्छन् ।

पर्यटकहरुलाई सही ठाउँमा पुर्‍याउने चुनौति मात्रै यी केटीहरुको होइन, उनीहरुले पर्यटकहरुको सांस्कृतिक भिन्नताहरुको पनि सामना गर्नुपर्छ । भाषा र इशारा नबुझेर उनीहरुलाई बारम्बार समस्या पर्छ । आफूभन्दा ठूलो मान्छेलाई पछाडि राखेर बाइक कुदाउन पनि गाह्रै छ । कतिपय पर्यटकहरुमा मोटरसाइकल पछाडि बस्ने आदत हुँदैन । उनीहरु बायाँ झुक्नुपर्ने ठाउँमा दायाँ र दायाँ झुक्नुपर्ने ठाउँमा बायाँ झुकिदिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment