+
+
Shares

चुनाव घोषणा गरे संशोधनमाथि छलफल हुन दिन्छौं: भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते १५:४१

२८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केही दिनमा चुनाव घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् ।

चुनाव घोषणा गरेमा भने संविधान संशोधन विधेयकमा छलफल गर्न दिने उनले बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमाले उपाध्यक्ष रावलले भने, ‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन् ।’

शुक्रबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई बैशाखभित्रै चुनाव गर्ने गरी मिति घोषणा गर्न आग्रह गरेको भन्दै उनले भने, ‘चुनाव पनि नगर्ने अनि संविधान कार्यान्वयन पनि गर्न नसकेपछि यो सरकारको के काम ?’

जवाफमा प्रधानमन्त्रीले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने विश्वास दिलाएपनि आफूहरु ढुक्क भइनसकेको उनले बताए । रावलले भने, ‘प्रधानमन्त्रीले चुनावको मिति चाँडै घोषणा गर्छु भन्नुभएको छ, तर हामी अझै ढुक्क छैनौं, यति हुँदापनि हामी चुनावको मिति घोषणा चाँडै होस् भन्ने प्रतिक्षामा छौं ।’

एमाले उध्याध्यक्ष रावलले मुलुकको संकट समाधान हुन्छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिन एमाले तयार रहेको बताए ।

उनले भने, ‘चुनावको मिति घोषणा हुन्छ भने हामी संशेाधन प्रस्तावलाई छलफल गर्न दिन्छौं, तर हामी यो देश र जनताको हित विपरित आएको प्रस्तावलाई असफल बनाएर चुनावमा जान्छौं, यो प्रस्ताव सदनबाट पारित हुने कुनै आधार छैन, यसलाई एमालेले असफल बनाएर देखाईदिन्छ ।’

रावलले मधेसी मोर्चा लगायत अन्य दलहरुसँग छलफल गरेर मुलुकको समस्याको समाधान निकाल्नका लागि आफ्नो पार्टीले सकारात्मक प्रयत्न गर्ने जनाए ।

रावलले भने, ‘साझा राष्ट्रिय समस्यालाई समाधान गरौं भन्ने हाम्रो प्रयत्न हो, हामी सबै दलहरुसँग मुलुकको स्वाभिमान, राष्ट्रिय एकता, अखण्डतालाई कसरी मजबुत बनाउन सकिन्छ भनेर वार्ता तथा छलफल गर्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?