Comments Add Comment

एमालेले नश्लवाद र विखण्डनको बीऊ रोप्योः यादव

पुनर्लेखन नभए संविधान खारेज गर्ने चेतावनी

२८ माघ, वीरगञ्ज। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा नश्लवादको जग र विखण्डनको बीऊ एमालेले रोपेको आरोप लगाएका छन् । मधेसी, आदिवासी जनजाति विरुद्ध घृणा फैलाएर एमालेले नश्लीय सोच र एकल जातीय राज्यसत्तालाई कायम राख्न खोजेको यादवको आरोप छ ।

संघीय समाजवादी फोरम नेपाल, पर्सा जिल्लाको प्रथम एकता अधिवेशनलाई शुक्रबार वीरगञ्जमा उदघादन गर्दै यादवले एकल जातीय र नश्लवादी सोचको नेतृत्व गर्ने दलमा विभेदकारी रवैया रहँदासम्म मुलुकले गति लिन नसक्ने दाबी गरे ।

देशका हरेक नागरिक, भाषा, धर्म, संस्कृतिको सम्मान र पहिचान हुनुपर्नेमा जोड दिँदै यादवले भने, ‘राज्यसत्ता र यहाँको एउटा खास समुदायमा विभेदकारी मानसिकता हावी रहेसम्म देशले शान्ति, स्थायित्व, सम्मान र समृृद्धि कहिले पनि प्राप्त गर्नै सक्दैन ।’

संविधान पुनर्लेखन गर्न माग

अध्यक्ष यादवले संविधान पुनर्लेखन नभए खारेज गरिदिने चेतावनी समेत दिए । अहिलेको संविधानलाई मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायले अस्वीकार गरिसकेको दाबी गर्दै उनले पुनर्लेखन नगरिए आन्दोलनको बलमा खारेज गर्ने बताए ।

‘विश्व समुदायले समेत संविधान त्रुटिपूर्ण छ भनिसक्दा पनि तीन दलको चेत खुलेन । हामीले त झन् संविधान नै जलाइसकेका छौं । अब पनि संशोधनमा आलटाल भए संविधान नै खारेज गर्ने भीषण आन्दोलन थाल्छौं,’ यादवले भने ।

उनले संविधान संशोधन नभएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गरे । ‘हामी पनि चुनाव चाहन्छौं तर संशोधन पनि मात्रै चुनाव मान्य हुन्छ,’ यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment