Comments Add Comment

को बन्लान् नेपाली ‘कन्जरभेटिभ’ राप्रपाको कमाण्डर ?

अध्यक्षमा कमल थापा र महामन्त्रीमा सुनिल थापा मिलाउने कसरत

२८ माघ, काठमाडौं । फागुनको दोस्रो साताको मध्यान्तरमा संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ नेतृत्व पाउनेछ । स्थापनाको २६ वर्षमा ६ पटक विभाजन हुँदै जोडिँदै गरेको यो ‘कन्जरभेटिभ’ पार्टीको कमाण्ड अब कसको हातमा जान्छ ? राष्ट्रिय राजनीतिमा पनि यो प्रश्नले ठाउँ पाइरहेको छ ।

फागुन ६ गतेदेखि काठमाडौंमा शुरु हुने महाधिवेशनका लागि करीव ३५ सय प्रतिनिधि चुन्ने काम भइरहेको छ । शुक्रवारसम्म अधिकांश जिल्ला र क्षेत्रका अधिवेशनहरु सकिएका छन् । सहायक महामन्त्री राजेश गिरीका अनुसार गाउँदेखि जिल्लासम्मको गठन प्रक्रिया सकेर अब महाधिवेशन प्रतिनिधिको अन्तिम छनौट प्रक्रिया भइरहेको छ ।

यसबीचमा राष्ट्रिय अध्यक्ष पशुपति शमसेर जबरा सिन्धुपाल्चोकबाट र अध्यक्ष कमल थापा मकवानपुरबाट महाधिवेशन प्रतिनिधि चुनिइसकेका छन् । राप्रपाका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु पनि गाउँदेखिनै चुनिएर महाधिवेशन प्रतिनिधि हुन पाउने बिधानमा व्यवस्था रहेको सहायक महामन्त्री गिरीले बताए ।

जिल्ला अधिवेशन र क्षेत्रीय अधिवेशनपछि राप्रपाको भावी अध्यक्षमा कमल थापाको पल्ला भारी भएको उनीनिकट कार्यकर्ताहरुले चर्चा चलाइरहेका बेला डा. प्रकाशचन्द्र लोहनी प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यद्यपि पशुपति शमसेर जबराले मैदान छाडेको घोषणा भने गरिसकेका छैनन् ।

राप्रपाको आन्तरिक राजनीतिको दुःख के हो भने, यो पार्टीमा विचार सिद्धान्तले भन्दा पनि व्यक्तित्वले चुनावमा प्रभाव पार्छ । पूर्वराप्रपा नेपाल समूह कमल थापाको नेतृत्वका एक ढिक्का छ । तर पशुपति, लोकेन्द्रबहादुर चन्द र लोहनीहरु अलग-अलग समूह बनाएर बसेका छन् । यतिसम्मकी सुनिलवहादुर थापाको पनि बेग्लै समूह छ ।

राप्रपामा विक्रम पाण्डे र दीपक बोहोराले समेत साना-साना समूह चलाएका छन् । यसको फाइदा कमल थापालाई हुन सक्छ । किनकि केशरबहादुर विष्ट र पद्मसुन्द र लोहनी बाहिरिएपछि कमल थापाको पुरानो पार्टी सग्लै उनको नेतृत्वमा छ । मनमा अशन्तुष्टि भए पनि कसैले कम थापाको बोली काट्न सक्दैनन् ।

विक्रमवहादुर थापा राप्रपा काठमाडौंका जिल्ला अध्यक्ष निर्वाचित भए लगत्तै काठमाडौं जिल्ला कार्यसमितिले भावी अध्यक्षमा कमल थापालाई सघाउने औपचारिक निर्णय गरेपछि अरु नेताहरु झस्किएका छन् । अन्य जिल्लाबाट पनि कमल थापाको पक्षमा निर्णय आउन थालेका छन् ।

स्रोतका अनुसार एकीकरण अघिको राप्रपाका सबै नेताहरु एकढिक्का हुँदा कमल थापासँग प्रतिस्पर्धा दह्रो हुनसक्छ । तर उनीहरु एकढिक्का नहुने हो भने थापाको पल्ला भारी देखिएको छ । कमल थापालाई टक्कर दिने उम्मेदवार अर्को पक्षले खडा गर्न नसक्दा उनी निर्विकल्प नेता जस्ता देखिएका छन् ।

कतिपयले कमल थापा र सुनिलवहादुर थापाबीच अनौपचारिक सहमति भइसकेको दावी समेत गरेका छन् । पूरानो राप्रपावाला कार्यकर्ताको भावना समेट्ने र सूर्यवहादुर थापाको लिगेसी पनि आफूसँग देखाउने उद्देश्यले कमल थापाले सुनिल थापालाई आफ्नो प्यानलको महामन्त्री उम्मेदवार बनाउन सक्ने अड्कलबाजी समेत भइरहेका छन् ।

वर्तमान कार्य समितिमा करीव तीन दर्जन केन्द्रीय सदस्य आफ्नो पक्षमा राखेका सुनिल थापा पार्टी नेतृत्वमा आफ्नो अलग अस्थित्वसहित स्थापित हुने दाउमा छन् । पशुपति शम्सेर र कमल थापापछि पार्टीभित्र केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु आफ्नो पक्षमा राख्न सक्ने नेता सुनिल नै देखिएका छन् ।

तर, पूर्वराप्रपा अन्य नेताहरुले भने लोकेन्द्र,पशुपति, प्रकाशचन्द्र र सुनिललाई एकै ठाउँमा राख्न प्रयास गरिरहेका छन् । महाधिवेशन प्रतिनिधिहरु छनौट भइसकेपछि कसका कति सदस्य आउछन्,त्यसका आधारमा समीकरण बन्ने र भत्किने क्रम चल्ने एक नेताले बताए ।

कमल थापा पक्षधर नेता तथा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले भने ७५ प्रतिशत शक्ति कमल थापाको पक्षमा देखिएको दावी गरे । उनले सर्वसम्मत नेतृत्वका लागि नै पहल हुने तर त्यो कमल थापाको नेतृत्वमा मात्र सम्भव रहेको प्रतिक्रिया दिए ।

सहायक महामन्त्री राजेश गिरीले पटक-पटक पार्टी विभाजनको पीडा भोगेका कार्यकर्ताहरु यसपटक साँच्चिकै एकताको महाधिवेशन होस भन्ने पक्षमा देखिएको बताए । उनले भने-यो एकताको महाधिवेशन भएकाले नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भन्ने आम कार्यकर्ताको भावना छ ।

यसैवीच कमल थापाले यसैसाता महाधिवेशनमा भारतीय नेताहरुलाई निम्तो दिनका लागि सुनिलबहादुर थापालाई दिल्ली पठाएका छन् । थापाले भारतीय जनता पार्टी, कांग्रेस आई र शिव सेनाका नेताहरुलाई महाधिवेशनको निम्तो दिएर काठमाडौं फर्किएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment