Comments Add Comment

देवीप्रसादले ‘थप्पड’ हान्दा प्रचण्डबिजोग र केपीधुलाइका कुरा

काठमाडौं । सामान्यतया पुस्तक लोकार्पणमा पुस्तकको घुम्टो खोलिन्छ । शुक्रबार कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा हास्यव्यङ्ग्यकार देवीप्रसाद घिमिरेको कृतिको लोकार्पण भने भिन्न किसिमले गरियो ।

सिस्नुपानी नेपालले आयोजना गरेको कार्यक्रममा मञ्चमा एउटा टेबुलमा सिस्नुले केही छोपिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे र पूर्वसभामुख सुवास नेम्वाङले सिस्नुको पाती पल्टाए । त्यहाँ थप्पड हान्न तयार काठको प्रतीकात्मक हात थियो, जसमा पुस्तकको आवरण थियो । घिमिरे र नेम्वाङले त्यही प्रतीकात्मक हात संयुक्त रुपमा देखाएर ‘थप्पड’ निबन्धकृति सार्वजनिक गरे ।

हास्यव्यङ्ग्यको माहौल भरिएको कार्यक्रममा पूर्वसभामुख नेम्वाङ पनि व्यङ्ग्यात्मक भावमा देखिए । उनले नेपाली समाजमा प्रचलित हरिबिजोग भन्ने शब्दको कुनै अर्थ नरहेकोले त्यसको साटो प्रचण्डबिजोग भन्नु सान्दर्भिक हुने बताए ।

त्यसको कारण दिँदै नेम्वाङले भने, ‘किनकि प्रधानमन्त्री भएको यतिका समय बित्दा समेत प्रचण्डजीले केही गर्न सक्नुभएको छैन, उहाँको बडो बिजोग छ !’

हल हाँसोले गर्मायो । माहौल बनिरहँदा लगत्तै उनले थपे, ‘त्यस्तै अर्को शब्द रामधुलाइ भन्नुभन्दा केपी धुलाइ भन्नु चाहिँ ठीक होला । किनभने उहाँले सबैको धुलाइ गर्नुहुन्छ ।’

फेरि हाँसो गुञ्जियो ।

मन्तव्यका क्रममा राष्ट्रकवि घिमिरेले मानव शरीरका सबै अङ्गलाई मूल विषय बनाएर लेखिएका देवी घिमिरेका हास्यव्यङ्ग्य निबन्धहरूले नयाँ स्वाद दिने दाबी गरे ।

कार्यक्रममा हास्यव्यङ्ग्यकार घिमिरेका बारेमा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, टङ्कप्रसाद आचार्य लगायतले प्रकाश पारेका थिए । लेखक घिमिरेलाई सिस्नुपानी नेपालले एक सय २८ वटा काँटीको माला लगाएर सम्मान गरेको थियो ।

भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको ‘थप्पड’ भित्र ३३ वटा निबन्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment