Comments Add Comment

‘माओवादी’ हटाउँदै विप्लव, पथ प्रदर्शक सिद्धान्त मालेमावाद

महाधिवेशन उदघाटन समारोहमा प्रचण्ड र ओलीलाई निषेध !

नेत्रविक्रम चन्द ‘विप्लव’ (फाइल तस्वीर)

१ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्नो पार्टीको नामबाट ‘माओवादी’ शब्द हटाउने भएको छ । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्र प्रस्ताव गरिएको छ । पार्टीको पथ प्रदर्शक सिद्धान्त भने मार्क्सवाद, लेनिनवाद र माओवादलाई लिइएको छ ।

प्रचण्ड नेतृत्वको माओवादीबाट मोहन वैद्य र विप्लव मिलेर क्रान्तिकारी नेकपा (माओवादी) नामको नयाँ पार्टी खोलेका थिए तर, वैद्यबाट पनि अलग भएर विप्लवले दुई वर्ष अघि अलग्गै ‘नेकपा माओवादी’ नामको पार्टी बनाएका थिए ।

विप्लव माओवादीको पहिलो महाधिवेशन उदघाटनस्थल खुलामञ्च वरपरको क्षेत्र झण्डा र ब्यानरले रंगिएका छन् ।

उदघाटन समारोहमा प्रचण्ड र ओली निषेध !

खुलामञ्चमा हुने उदघाटन समारोहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भने बोलाइएको छैन । विप्लव माओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘प्रचण्ड र ओली दुबैले कम्युनिष्ट लाइनबाट बिचलित भएकाले नबोलाइएको हो । अर्को कुरा प्रचण्ड नेतृत्वको सरकारले हामीमाथि दमनकारी नीति पनि अंगालेको छ ।’

उदघाटन समारोहमा मोहन वैद्य ‘किरण’ र मोहन विक्रम सिंहलाई भने सम्बोधनका लागि बोलाइएको छ ।

तीन स्थानबाट ठूला र्‍याली, शहीद गेटबाट विप्लवले नेतृत्व गर्ने

खुलामञ्चमा उदघाटन समारोह सुरु हुनु अघि विप्लव माओवादीले मुख्य तीन स्थानबाट र्‍याली निकाल्ने छ । बबरमहल, कालीमाटी र लैनचौरबाट ठूला जुलुश निस्किनेछन् । ति जुलुश बिभिन्न स्थान परिक्रमा गर्दै शहिदगेटमा एकीकृत हुनेछन् । शहीद गेटबाट विप्लवले जुलुशको नेतृत्व गर्ने खुलामञ्च तर्फ अघि बढ्ने योजना बनाइएको छ ।

बिभिन्न स्थानबाट जुलुश निस्किने भएकाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुने अनुमान छ ।

थवाङमा बन्दसत्र

खुलामञ्चमा दिउँसो साढे एक बजे महाधिवेशन उदघाटन गरिसक्ने योजना छ । उदघाटन समारोह सकिएलगत्तै नेता र अगुवा कार्यकर्ताहरु रोल्पा प्रस्थान गर्नेछन् । रोल्पाको थवाङमा चार गते साँझबाट बन्दसत्र सुरु हुनेछ । सो बन्द सत्रमा करिब एक हजार प्रतिनिधि सहभागी हुने दाबी विप्लव माओवादीले गरेको छ ।

थवाङमा पाँच करोड खर्चेर बनाइएको सामुदायीक भवनमा विप्लव माओवादीको बन्दसत्र हुनेछ । त्यसको व्यवस्थापनका लागि माओवादी कार्यकर्ताहरु एक हप्ता अघिदेखि नै खटिएका छन् ।

बन्दसत्रमा विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशाको प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमा गाउँबाट शहर घेर्दै मौलिक ढंगले जनक्रान्ति सम्पन्न गर्ने र पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment