Comments Add Comment

मन्त्रीको प्रश्न: पानी आउँदैन महसुल तिर्ने कि नतिर्ने ?

१ फागुन, काठमाडौं । ‘महाप्रबन्धकज्यू पानी नआउने हावा फाल्ने धाराको महसुल तिर्ने कि नतिर्ने ?’

यो कुनै ग्राहकको प्रश्न नभई खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको नवौँ वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सोधेको प्रश्न हो ।

मन्त्री सिंहको सार्वजनिक समारोहमा राखिएको जिज्ञासाले उपत्यकाका ४० लाख जनता पानीका लागि कति ब्याकुल छन् भन्ने प्रष्ट हुन्छ । सुक्खा मौसम सुरु भएको अवस्थामा उपत्यकामा दैनिक ३५ करोड लिटर पानीको माग छ । तर, लिमिटेडले दैनिक नौ करोड लिटर मात्र आपूर्ति गर्न सक्छ । २६ करोड लिटर पानी अपुग छ ।

यस्तो वास्तविकतामा मनाइएको लिमिटेडको दशौँ वर्ष प्रवेश कार्यक्रममा मन्त्री मात्र होइन, कार्यक्रमका अधिकांश वक्ताले पानीको व्यवस्थापन सही रुपमा हुन नसकेको गुनासो गरे ।

खानेपानीका क्षेत्रमा कार्यरत अधिकांश वक्ताले मेलम्ची आएपछि दैनिक १७ करोड लिटर पानी थपिने भएकाले नियमित चार घण्टा पानी वितरण गर्न सकिने भाषण गरेर औपचारिकता पूरा गरे।

लिमिटेडमा क्रियाशील चारवटा ट्रेड युनियन कर्मचारी सङ्घ सङ्गठनका अध्यक्षले सबै समस्याको जड सञ्चालक समितिका अध्यक्ष सुरेशकुमार बस्नेतलाई लगाउँदै राजीनामाको माग गरे ।

अध्यक्ष बस्नेतले भने आफूलाई हटाउन एसियाली विकास बैंक (एडीबी) ले लबिङ गरेकाले त्यसको पछि कर्मचारीका प्रतिनिधिमूलक संस्था लागेको दाबी गरे ।

उपत्यकावासी पानी नपाएर काकाकुल बनिरहेका बेला पानी सञ्चालन गर्ने जिम्मेवारी पाएको संस्थाका कर्मचारी भने जुहारी खेलेर वार्षिकोत्सव मनाउँदै थिए ।

यी सबै घटना हेरेका मन्त्री सिंहले प्रमुख वक्ताका रुपमा बोल्दै पानी नदिने तर महसुल लिने काम न्यायसङ्गत नभएको बताए । “विद्युत्मा जस्तै खानेपानीमा पनि लुकाएर अन्यत्रै वितरण भइरहेको त छैन ? भन्ने प्रश्न गर्दै उनले भने, चुहावट भइरहेको पानी बचत गरी ग्राहकलाई तालिका बनाएर वितरण गर्नुस्, पानी वितरण गर्दा पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्नुस्, यसमा मन्त्रालयको सहयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment