+
+

एमाले बैठकमा ओलीको ब्रिफिङ – मोर्चा नआए पनि चुनाव घोषणा हुन्छ

संशोधन र चुनाव सँगै अघि बढाउन प्रधानमन्त्रीले मोर्चासँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ४ गते १८:१९

४ फागुन, काठमाडौं । प्रमुख तीन दल स्थानीय चुनाव घोषणा र संविधान संशोधन प्रक्रियालाई सँगै अघि बढाउने सहमति नजिक पुगेका छन् ।

मंगलबार साँझ र बुधबार बिहान लगातार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तहमा भएको छलफलपछि प्रधानमन्त्रीले अन्तिम पटक मधेसी मोर्चासँग वार्ता गर्ने सहमति भएको हो ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको पोलिटब्यूरो बैठकलाई राजनीतिक घटनाक्रम सुनाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको मिति घोषणा हुन लागेको बताए । उनले भने, ‘अब भोलि बिहीबार प्रधानमन्त्रीले मोर्चासँग कुरा गर्ने र उनीहरु मानेनन् भने चुनावको मिति घोषणा गरेर जाने सहमति भएको छ ।’

एमालेका एक नेताका अनुसार मधेसी मोर्चा नमाने पनि अब चुनावको मिति घोषणा हुनेछ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले मोर्चासँग अन्तिम पटक चुनावका लागि छलफल गर्ने समय मागेको ओलीले बैठकमा जानकारी गराए ।

स्रोतका अनुसार मधेसी मोर्चा चुनावको मिति घोषणामा सहमत भए एमाले पनि संविधान संशोधन प्रक्रिया अघि बढाउन लचिलो हुने गरी पोलिटब्यूरो बैठकमा छलफल अघि बढेको छ । तर, संविधान संशोधन विधेयक पारित गर्न भने एमालेले त्यसको पक्षमा मतदान नगर्ने पनि प्रष्ट पारेको छ ।

यसबीचमा शीर्ष नेताहरुबीच चुनावको मिति घोषणा गर्ने र स्ववियु चुनाव पनि नरोक्ने सहमति भएको बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले भने, ‘स्ववियु चुनावसमेत गराउन नसक्ने सरकारले अरु ठूला चुनाव कसरी गराउन सक्छ भन्ने प्रश्न उठ्छ । त्यसैले अब सबै चुनाव तोकिएको समयभित्र गरिसक्नुपर्छ भन्नेमा हाम्रो पार्टीको जोड हुनेछ ।’

बैठकमा अध्यक्ष ओलीले १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गर्दै मधेसी मोर्चा र सत्तापक्ष चुनावप्रति उदासीन रहेको आरोप लगाएका छन् ।

प्रतिवेदन अध्ययनका लागि पोलिटब्यूरो सदस्यहरुलाई दिइएको छ । यसमाथि विहीबारदेखि छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?