Comments Add Comment
राप्रपा महाधिवेशन :

डा.लोहनीले मैदान किन छाडे ? यस्ता छन् तीन कारण

शीर्ष नेताका आ-आफ्नै दुःखले कमल थापालाई फाइदै फाइदा

८ मंसिर, काठमाडौं । कमल थापालाई अध्यक्ष मान्ने सहमतिमा मसी सुक्न नपाउँदै आफू अध्यक्ष उठ्ने घोषणा गरेका राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनी अन्तिममा मैदान छाडेर हिँडेका छन् ।

लोहनी के शर्तमा ब्याक भए ? यो प्रश्नको जवाफ उनले दिएका छैनन् र सञ्चारकर्मीको सम्पर्कमा पनि आएका छैनन् ।

ल्ाोहनीले अध्यक्षमा उम्मेदवारी नदिनु र उनी निकट प्रदीपविक्रम राणाले कमल थापा पक्षधरको ‘धम्की’का बीच उम्मेदवारी दर्ता गर्नु संयोगमात्र हुन सक्छ । तर, राणालाई सहायक महामन्त्री जयकुमार खड्का र राजेन्द्र श्रेष्ठको समर्थन छ र उनीहरु दुवै लोहनीका निकटस्थ हुन् ।

स्रोतका अनुसार लोहनी मैदानबाट ब्याक हुनुमा चाहिँ हार्ने निश्चित देखेरै हो । कमल थापा एक्लै ६० प्रतिशत भन्दा बढी मतका साथ सुरक्षित थिए । त्यसमाथि लोकेन्द्रबहादुर चन्द, पशुपति शम्सेर राणा र सुनिलबहादुर थापाको समर्थनपछि उनी दुई तिहाईभन्दा माथि पुगिसकेका थिए ।

कमल थापा बिरोधी मतको टेस्ट

हार्नकै लागि लोहनी स्तरको नेता उम्मेदवार हुनुभन्दा कमल थापा बिरोधी मत ‘टेस्ट गर्न’ राणालाई उठाइएको हो ।

राणाको उम्मेदवारी रहर वा स्टन्टमात्र होइन भन्ने किन पनि बुझिन्छ भने, उनलाई ठूला नेताको ब्याकअप नहुँदो हो त, ५० हजार रुपैयाँ तिरेर दरखास्त दिने थिएनन् होला ।

अहिले राप्रपामा कमल थापा बिरोधीहरु सुतुरमुर्ग जस्तो अवस्थामा छन् । थापा अभूतपूर्व रुपमा शक्तिशाली देखिएका छन् । उनलाई चुनौती दिने अर्को बलियो नेता नदेखिएकै हो । त्यसैले तत्काल उनी बिरोधी मत जाँच्न क्षेत्रीयस्तरका राणाको उम्मेदवारी परेको हुन पनि सक्छ । तर, उनलाई महाधिवेशन प्रतिनिधिले पत्याउने उचाई बनाएका छैनन् ।

लोहनीलाई फेस सेभ

लोहनी अध्यक्षमा प्रत्याशी नबन्नुको अर्को कारण चाहिँ निर्देशन समितिको अध्यक्ष पहिलो चरणमा उनी हुने सहमति पनि हो । स्रोतका अनुसार ११ सदस्यीय निर्देशन समितिको अध्यक्ष पालैपालो लोहनी, चन्द र राणा हुने र पहिलो चरणमा लोहनीले मौका पाउने अनौपचारिक सहमति भएको छ ।

निर्देशन समितिको समझदारी र छलफलका आधारमा मात्र अध्यक्ष कमल थापाले उपाध्यक्ष, महामन्त्री लगायतका करीव दुई दर्जन पदाधिकारी मनोनयन गर्ने सहमति शीर्ष तहमा भएको छ । आफ्ना केही मान्छे पदाधिकारी र केन्द्रीय समितिमा मनोनयन गराउने अवसर उनले गुमाउन चाहेनन् ।

डा.लोहनीले राप्रपाको चुनाव चिन्ह हलो नै हुनुपर्ने अडान राख्दै आएका थिए । उदघाटन समारोहमै आफ्नो असन्तुष्टी जनाएका लोहनीलाई ‘फेस सेभ’का लागि निकास दिइएको छ । स्रोतका अनुसार चुनाव चिन्ह हलो वा गाई रोज्नेबारे अहिले महाधिवेशनबाट कुनै निर्णय नलिने र पछि टुंगो लगाउने सहमति शीर्ष तहमा भएपछि उनी अध्यक्षको उम्मेदवारीबाट पछि हटेका हुन् ।

अलग अस्तित्वको लडाई

ल्ाोहनीका लागि अध्यक्षमा उम्मेदवारी दिनु चुनाव जित्नका लागि भन्दा पनि आफ्नो अलग अस्तित्व देखाउनका लागि थियो । किनकी राप्रपाका चार शीर्ष नेताहरुमध्ये कमल थापासँग ५० प्रतिशतभन्दा बढी शक्ति छ । त्यस्तै पशुपति शम्सेर र लोकेन्द्रबहादुर चन्दसँग पनि केही मान्छे छन् ।

लोहनीको आफ्नै गुट बलियो छैन । लोहनीसँग भन्दा धेरै नेता कार्यकर्ता सुनिलबहादुर थापासँग छन् । किनकी उनले सूर्यबहादुर थापाको ‘लिगेसी’ बोकेका छन् । त्यसैले निर्देशन समितिको अध्यक्ष बनेर यो मौकामा आफ्नो कोटाबाट केही व्यक्तिलाई पदाधिकारी बनाउने र गुट खडा गर्ने मौका उनले गुमाउन चाहेनन् ।

राप्रपाको राजनीतिमा कार्यकर्ता परिचालन गर्न र स्थायी गुट बनाउन पैसा खर्च गर्नुपर्छ । लोहनी पैसाको मामिलामा अनुदार मानिन्छन् । उनी पत्नी नियन्त्रित नेता भएकाले पैसा खर्च नगर्ने भएकै कारण लोहनीका लागि भनेर मैदानमा भिड्ने प्रभावशाली नेता-कार्यकर्ता नरहेको उनका निकटस्थहरु नै बताउँछन् ।

राणा र चन्दका आ-आफ्नै दुःख

यसपटक उनले कमल थापा इतरका नेताहरुको साथ मिले अध्यक्ष जित्न सकिने आँकलन गरेका थिए ।

तर, इतर नेताहरुका आ-आफ्नै दुःख थिए । पशुपति शम्सेर सकेसम्म आफैं अध्यक्ष उठ्न चाहन्थे । मैदान कमजोर देखेपछि उनले हार्ने लोहनीलाई साथ दिनुभन्दा जित्ने थापालाई साथ दिएर आफ्ना मान्छे सुरक्षित गर्नु उचित ठाने ।

चन्दको दुःख आफ्नै छोराको व्यवस्थापन हो । सूर्यबहादुरले छोरालाई मन्त्री बनाएपछि चन्दमा छटपटि आइसकेको थियो । उनले केपी ओलीलाई आग्रह गरेर छोरा जयन्त चन्दलाई राज्यमन्त्रीसम्म बनाए । अब कमल थापासँग सायद उनको एउटै माग छोरालाई महामन्त्री बनाइदेऊ भन्ने हुन सक्छ ।

चन्द आफू राप्रपाको राजनीतिमा प्रभावशाली स्थानमा रहेकै बेला छोरा जयन्तलाई पार्टीमा स्थापित गर्न चाहान्छन् । सुनिलबहादुर थापाले कमल थापालाई साथ दिनु भनेको सूर्यबहादुरको विरासत जोगाउनु हो । उनले त्यहि भएर राणा, चन्द र लोहनीले थापालाई अध्यक्षमा स्वीकार गर्नुअघि नै आफ्नो समूहको समर्थन जनाइसकेका थिए ।

पावर शेयरिङ के होला ?

कमल थापा एकीकरण हुनुअघिको राप्रपामा पनि लोहनी बलियो नेता होइनन् । त्यो राप्रपामात्रै हुँदा पशुपति शम्सेर लगभग अहिलेका कमल थापाकै अवस्थामा शक्तिशाली थिए ।

लोकेन्द्र र लोहनी मिल्दा पनि राणालाई ढाल्न नसकेकै हुन् । त्यसैले पनि लोहनीले यसपटक आफू कमल थापाको प्रतिद्वन्द्वीका रुपमा अन्तिम घडीसम्म देखिएर ‘पावर शेयरिङ’का लागि आधार बनाएको चर्चा राप्रपा वृत्तमा छ ।

अब कमल थापा राप्रपा अध्यक्ष निर्वाचित हुने निश्चित छ । त्यसपछि उनले पदाधिकारी मनोनयनमा देखाउने विवेक र सन्तुलनले राप्रपाको आगामी यात्रा तय गर्नेछ । सत्ता र पदकै कारण स्थापनाको २ दशकमै पाँच पटक फुटिसकेको राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न कमल थापाले पदाधिकारी मनोनयनमा निर्देशन समितिको सुझाव सुन्छन् मात्रै कि, सबैलाई मिलाउँछन् भन्नेमा धेरैको ध्यान जानेछ ।

पदाधिकारीका आकांक्षी को-को ?

राप्रपाको ५ उपाध्यक्षका लागि कम्तिमा ६ जना नेता दावेदार देखिएका छन् । दिपक बोहोरा, बुद्धिमान तामाङ, राजिव पराजुली, दिलनाथ गिरी, प्रतिभा राणा, रोशन कार्की उपाध्यक्षका दावेदार हुन् ।

त्यस्तै महामन्त्रीका लागि सुनिल थापा र राजेन्द्र लिङ्देन लगभग निश्चित नै छन् । प्रकाशचन्द्र लोहनीको कोटाबाट विक्रम पाण्डेले महामन्त्रीको दाबी गरेका छन् । यी बाहेक टंक ढकाल पनि महामन्त्रीको प्रवल दावेदार हुन् ।

अहिले सर्वसम्मत ढंगले नेतृत्व चयन हुनुपर्छ भन्ने युवा नेता कार्यकर्ताको भावना शीर्ष नेताहरुले बुझेकाले पदाधिकारी मनोनयन पनि सोही अनुरुप हुने सहायक महामन्त्री राजेश गिरीले बताए । उनले भने, ‘हाम्रा नेताहरुले बिभाजनको पीडा भोगका छन्, त्यसैले राप्रपामा अब जे हुन्छ सहमतिका आधारमै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment