Comments Add Comment

किन बढ्दै छ एक्लोपन ? कारण र रोकथामका उपाय यस्ता छन्

कतिपय मानिसको एक्लोपनमा रमाउने स्वभाव हुन्छ । तर, कैयौंका लागि एक्लोपन बाध्यता र अझ रोगको रुपमा देखा पर्छ । पछिल्लो समय नेपालमा एक्लोपनको शिकार हुनेहरुको संख्या बढिरहेको मनोचिकित्सकहरु बताउँछन् ।

एक्लोपनले कतिसम्म भयावह रुप लिँदैछ भने बालबालिकादेखि वृद्धवृद्धासम्म यसको चपेटामा पर्ने गरेका छन् । शहरकेन्दि्रत जीवन, बदलिँदो जीवनशैली, पैसा कमाउने चाहना, बढ्दो प्रतिष्पर्धा, बेरोजगारी, देशको राजनीतिक अस्थिरता लगायतका कारण अहिले धेरैमा नैराश्य बढिरहेको छ ।

मनोचिकित्सकहरुका अनुसार, नैराश्यले नै एक्लोपनको समस्या बढाउँदै अन्ततः डिप्रेसनतिर धकेल्ने गर्छ । नेपाल मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा. सञ्जीव गौतम कतिपय मानिसको स्वभाव नै एक्लोपन रुचाउने भएकोले यो आफैंमा समस्या हैन । एक्लोपनमै रमाउने ‘सिजोइड पर्सानिलिटी’ भएका मानिसहरु समाजमा कम घुलमिल हुन्छन् भने उनीहरुका साथीभाइ पनि सीमित हुन्छन् ।

तर, यस्तो स्वभाव भईकन कोही व्यक्ति पारिवारिक जमघटमा पनि धेरै बोल्दैन र आफूलाई एक्लो महसुस गरिरहन्छ भने उसमा डिपे्रसन निम्तन सक्छ ।

एक्लोपन किन हुन्छ ?

एक्लोपनको कारक तत्वमा वैवाहिक जीवनमा उत्पन्न मतभेद, साथी-साथीबीचको मनमुटाव, वैदेशिक रोजगारीमा जानेहरुको पारिवारिक कलह, धूमपान तथा मद्यपानको लत लगायत रहेका छन् ।

संयुक्त परिवारको चलन भत्किएर एकल परिवारको संरचनाका कारण पनि धेरैलाई एक्लोपनले सताउने गरेको छ ।

यसका साथै वंशाणुगत समस्या, शारीरिक अस्वस्थताका कारण पनि एक्लोपनले नेपालमा विकराल रुप लिदै गएको मनोरोग विशेषज्ञ डा. सञ्जीव गौतम बताउँछन् । एक्लोपनले डिप्रेसन र त्यसबाट आत्महत्याको जोखिम निम्तने भएकोले यो समस्यामा गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

वरिष्ठ मनोरोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय अहिलेको समयमा मानिससँग भौतिक सुविधाका साधन थपिँदै गए पनि त्यही अनुपातमा एक्लोपन बढ्दै गएको बताउँछन् । उनी भन्छन्, ‘मानिससित घर, सम्पत्ति लगायत सबै सुख-सुविधा भएर पनि साथ दिने मान्छे नहुँदा एक्लोपनको समस्या बढ्दै गएको हो ।’

सामाजिक जीवनलाई छोडेर धूमपान र मद्यपानको सहारा लिने मानिसमा अन्ततः एक्लोपन बढ्दै डिप्रेसनमा जाने जोखिम हुन्छ । त्यसो त सबै मानिसमा एक्लोपनकै कारणले डिप्रेसन हुँदैन । डिप्रेसनको एउटा कारण एक्लोपनलाई मानिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार डिप्रेसनकै कारण मानिसमा मानसिक अपांगता देखिन थालेको छ ।

बालबालिका पनि एक्लोपनको शिकार

वयस्क र वृद्धवृद्धालाई मात्र नभई पछिल्लो समय बालबालिकामा समेत एक्लोपनको समस्या देखिन थालेको डा. उपाध्याय बताउँछन् । ‘एक्लोपनका कारण डिप्रेसन भयो भनेर आउने बिरामीहरु धेरै छन्’ उनले भने, ‘राति सुतेन, स्कूल जान मान्दैन भनेर बालबालिकालाई लिएर आउने अभिभावक समेत बढ्दै छन् ।’

अभिभावहरुको व्यस्त जीवनशैलीका कारण बालबालिकाहरुमा एक्लोपनको समस्या बढेको डा. उपाध्यायको अनुभव छ । उनी भन्छन्, ‘अहिलेका अभिभावकहरुमा आˆना बालबच्चासँग समय बिताऊँ भन्ने सोच नै पाइँदैन । आफू निर्धक्क काम गर्न पाइन्छ भनेर उनीहरु बच्चाहरुलाई मोबाइल फोन र ल्यापटप चलाउन एक्लै छोडिदिन्छन् ।’

अभिभावकसँग भन्दा आधुनिक ग्याजेटसँग निकट हुँदा बालबच्चामा रुखोपनसँगै अराजकता देखिन थालेको छ । ‘मोबाइल र ल्यापटपको प्रयोगले बालबालिकाहरु ढिला सुत्ने गर्दा नकारात्मक असर देखिएको छ’, डा.उपाध्याय भन्छन्, ‘अर्कातिर, टिभीमा आउने नकारात्मक कार्यक्रम र स्मार्टफोनका गेमको कारण बालबालिकामा अराजकता बढ्न थालेको हो ।’

एक्लोपनको समस्या आउन नदिन अभिभावकले बालबालिकासँग बढीभन्दा बढी समय व्यतीत गर्नुपर्ने उनको सुझाव छ । सन्तानमा एक्लोपनले मनोवैज्ञानिक समस्या ननिम्त्याओस् भनेर सम्भव भएसम्म दुई सन्तान जन्माउनुपर्ने पनि उनी सुझाउँछन् ।

एक्लोपनबाट डिप्रेसन, डिप्रेसनबाट आत्महत्या

त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक प्रा. डा. सरोजराज वझा एक्लोपनलाई नै डिप्रेसनकोे मूल कारण मान्छन् । तर, सबै एक्लोपन डिपे्रसन उन्मुख हुँदैन ।

यदि एक्लोपनसँगै डिप्रेसनको लक्षण देखिएमा त्यसले आत्महत्यातर्फ डोर्‍याउन सक्छ । त्यसैले कुनै व्यक्ति कडा डिपे्रसनको शिकार भई उसमा ‘जीवन व्यर्थ हो’ भन्ने सोच आएमा तुरुन्तै चिकित्सककहाँ लैजानुपर्छ ।

कसैमा तनावका कारण डिप्रेसन हुन्छ भने कसैमा बिना कारण पनि डिप्रेसन देखिन सक्छ । एक्लोपन र डिप्रेसनको लक्षण देखा परेमा यथाशक्य चिकित्सकको परामर्श लिएर नियमित औषधिको सेवन गरेमा निको पार्न सकिन्छ ।

के हो एक्लोपनमा हुने डिप्रेसनको लक्षण ?

डिप्रेसन तथा एक्लोपनमा हुने डिप्रेसनको लक्षणमा खासै भिन्नता हुँदैन । तर, एक्लै हुने बित्तिकै मन खुशी नहुनु, भोक र निद्रा नलाग्नु, आत्मबल कमजोर हुँदै जानु यसका प्रमुख लक्षण हुन् ।

जीवन बोझ जस्तै लाग्नु, हरेक कुरामा नकारात्मक भावना आउनु कडा डिपे्रसनका लक्षण हुन् ।

रोकथामका उपाय

एक्लोपन वा एक्लोपनको डिप्रेसन भएर हतास भएको मान्छेलाई अनेक अर्ती दिँदै गाली गर्ने हाम्रो बानी हुन्छ । तर, त्यस्तो समस्या उसको मानसिक स्वास्थ्यसँग जोडिएको विषय भएकोले ऊसँग भावनात्मक रुपमा नजिक भएर सम्झाउनुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् ।

डा. सञ्जीव गौतम भन्छन्, ‘आजको जमाना प्रतिष्पर्धात्मक भएकोले यस्तो समस्या भएका मानिसलाई समेत हाम्रो समाजमा अरुसित तुलना गरी मनोबल गिराइन्छ, त्यसले समस्या झन् बल्झाउँछ ।’

कसैलाई कडा प्रकारको डिप्रेसन देखिएमा चिकित्सकको परामर्श लिनुपर्छ । यदि कसैमा एक्लोपन र डिप्रेसनको समस्या देखिएमा अलोचनात्मक व्यवहार गर्नुको सट्टा समयमै मनोचिकित्सककहाँ गएमा यो समस्या पूर्णतया निको हुने डा. गौतम बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment