Comments Add Comment

राप्रपा कार्यकर्ता भन्छन्ः सुनकोशी र दूधकोशी मिलेजस्तो भो, अब पार्टी तेस्रो हुन्छ !

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा पुग्दा प्रतिनिधिहरुको बाक्लो चहल-पहल देखिन्थ्यो । नेतृत्वको दाबी गर्दै चुनावमा उठेकाहरु भोट माग्न व्यस्त थिए । यही क्रममा हामीले राप्रपाका केही महाधिवेशन प्रतिनिधिहरुसँग कुराकानी गर्‍यौं । राप्रपाका अधिकांश नेता कार्यकर्ताहरुले अबको चुनावमा पार्टीले तेस्रो स्थान हासिल गर्ने विश्लेषण सुनाए ।

रामकली थारु, बर्दिया: म पहिलेदेखि नै राप्रपा हो

अहिले महाधिवेशनका लागि काठमाडौं आएकी हुँ । ०५५ सालमा मेरा श्रीमानलाई प्रहरीले समातेर लगेर मारेको हो । मेरा माइती माओवादीतिर थिए । त्यही भएर मेरा श्रीमानले पनि सुराकी गरेको भन्ने आरोप लगाएर प्रहरीले मारे । तर, म सँधै राप्रपा नै थिएँ ।

माओवादीको आरोपमा मेरो श्रीमान मारिए पनि माओवादीले हाम्रो बारेमा कहिल्यै चासो दिएन त्यसैले अहिले पनि म यही पार्टीमा छु । राप्रपा र राप्रपा एक भएका छन् यो निकै राम्रो छ । अहिले राप्रपाले हिन्दु धर्म र राजाको एजण्डा ल्याएको छ, त्यो एकदमै राम्रो छ । राजाले नै देश जोगाउन सक्छन् भन्ने लाग्छ ।

धर्मसिंह कुँवर, अछामः राजा जरुरी छैन

दुबै राप्रपा एक भएर एकदम राम्रो भयो । गाउँ गाउँमा पनि एकताको भावना छ । हामी काठमाडौं आउँदा पनि एक भएर आएका हौं । त्यसैले यो एकता पनि टिक्ला जस्तो लाग्छ ।

अब चुनावमा पुरै जित्ला जस्तो त लाग्दैन, तर पनि पार्टी एकता भैसकेपछि सबै मिलेरै गए जित्न सकिन्छ होला । पार्टीले लिएका दुईवटा एजेण्डामध्ये हिन्दु धर्म ठीक छ । तर, राजा जरुरी छैन । राजसंस्था कायम भए पनि राजाको जरुरी छैन ।

दालकुमारी सुनुवार, रामेछापः नयाँ शक्तिको रुपमा आउँछौं

म पूर्वसांसद पनि हुँ । ०४७ सालदेखि राप्रपामा छु । राप्रपा पहिला पनि एउटै थियो । वीचमा फुटेर गल्ती गरे अहिले फेरि एकजुट भएको छ । अध्यक्षमा सर्वसम्मतजस्तै भएको छ, यसले एकताको सन्देश गएको छ ।

त्यसैले पार्टी महाधिवेशन एकताको महाधिवेशन भन्ने यो स्पष्ट उदारहण हो । म किँराती हुँ । तर, मलाई हिन्दु राज्य र राजतन्त्रको एजेण्डा स्वीकार्य छ । हिन्दुधर्म किरात र हिन्दु दुवैले मान्छौं, यसमा कुनै समस्या छैन । राजासहितको हिन्दु राज्यको पार्टीको एजेण्डामा हाम्रो साथ छ ।

अबको चुनावमा यही एजेण्डाको कारण धेरै अगाडि त भन्दिनँ, पार्टी तेस्रो अथवा चौथो स्थानमा पक्का आउँछ । यो पार्टी नयाँ शक्तिको रुपमा आउँछ-आउँछ ।

भुपाल किराती, सोलुखुम्बुः  सुनकोशी र दूधकोशी मिलेजस्तो भो 

अहिलेको महाधिवेशन वास्तवमै एकताको महाधिवेशन भएको छ । यो सुनकोशी र दूधकोशी एक ठाउँमा मिलेजस्तो हो । हाम्रो एकता त उदाहरण बनेको छ यस्बाट अरुले पनि सिक्न जरुरी छ ।
पार्टी भित्र माथिल्लो नेताका विचमा बरु समस्या होला तर तल्ललो स्तरमा त बरफ जस्तो जमेर बसिसकेको छ ।

चुनावमा धेरै घमण्ड गर्न त मल्दिैन तेस्रो चाँही हुन्छ जस्तो लाग्छ ।

जगतबहादुर कठायत,  डोल्पाः अब हामी कांग्रेसको विकल्प

म डोल्पाको जिज्ला अध्यक्ष पनि हुँ । त्यहाँ मलाई पनि सर्वसहमत बनाइएको हो । एकता ठीकै छ भन्नुपर्छ । एकता भएकै जस्तो लागेको छ । अहिले सबै जिल्लातिर जस्तै केन्द्रमा पनि अध्यक्षका लागि लगभग सर्वसम्मत जस्तै भयो । सबै एक भएर नै त एकताको महाधिवेशन भयो नि ।

अब राप्रपा प्रजातान्त्रिक पार्टीको हिसाबमा भन्नुहुन्छ भने कांग्रेसको विकल्प हो । चुनावमा पनि त्यही अनुसार स्थान बनाउन सक्छ । हामी मात्रै होइन, अधिकांश मान्छे हिन्दु धर्म र राजतन्त्रको एजेण्डा देखेर नै एक भएका हौं । यो एजेण्डा सबैले स्वीकार गरिसकेका छन् ।

कलिमुदिन मोहिन, महोत्तरीः हिन्दु धर्मबारे बोल्न नलगाउनुस्

पार्टीले लिएको हिन्दु धर्म र राजतन्त्रको एजेण्डाबारे भने मलाई बोल्न नलगाउनुस् । यो पार्टीको एजेण्डा हो, यसमा मेरो कुनै प्रतिक्रिया पनि छैन कुनै गुनासो पनि छैन ।

म पहिला पनि राप्रपाबाट पटक-पटक चुनाव लिडिसकेको मान्छे हुँ । यो पार्टीप्रति मेरो पुरानो सम्बन्ध छ । तराईको र मुस्लिम भए पनि राप्रपाप्रति मेरो पे्रम छ । दुई पार्टीको एकतापछि भएको महाधिवेशन पनि प्रेमपूर्वक भैरहेको छ । महाधिवेशन निकै राम्रो भयो यसमा मेरो कुनै गुनासो छैन ।

आगामी चुनावमा यो पार्टी तराईमा पनि अगाडि आउँछ भन्ने मेरो विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment