Comments Add Comment

मेलम्ची-२ मा लगानी गर्न एसियाली विकास बैंक आतुर

एयरपोर्ट र ट्रान्समिसन लाइनमा पनि चासो

९ फागुन, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजना-२ मा पनि लगानी गर्न आतूर रहेको बताएको छ ।

नेपाल भ्रमणमा रहेका एडीबीका उपाध्यक्ष वेन्काई झाङले मेलम्चीको दोस्रो फेजमा सहयोग गर्न आफहरु आतुर रहेको बताए । खानेपानी-२ यांग्री र लार्के खोलाको पानी अहिले बनेको मेलम्चीमा मिसाउने योजना हो । उसका लागि करिव १२ किलोमिटर नयाँ सुरुङ खन्नुपर्छ ।

सार्वजनिक खरिद ऐनमा सुधार भएको, काम गर्ने क्षमता भएका निर्देशकहरु नियुक्त भएको र एडीबीले पनि आफ्नो प्रक्रियामा सुधार गरेकाले थप लगानी गर्न चाहेको एडीबीले बताएको छ ।

एडीबीको मुख्य सहयोगमा बनिरहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना सम्पन्न भएपछि १७ करोड लिटर पानी काठमाडौं आउनेछ । यांग्री र लार्के खोलाको पानी मिसाएपछि थप ३४ करोड लिटर पानी काठमाडौं आउनेछ ।

आगामी दशैंमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्य छ । एडीबी उपाध्यक्ष झाङले मेलम्चीमा केही ढिलाई भएपनि अक्टोबरसम्म काठमाडौं पानी आएको हर्न चाहेको बताए ।

एयरपोर्ट र ट्रान्समिटरमा पनि चासो

एसियाली विकास बैंकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरउन्नोतीमा पनि सहयोग गर्न चासो देखाएको छ । उसका लगि मास्टर प्लान बनाएर काम गर्नु पर्ने उसको जोड छ ।

उपाध्यक्ष झाङका अनुसार सन् २०१७ मा नेपालमा गर्ने लगानी बढाएर ५०५ मिलियन डलर पुर्‍याउने लक्ष्य छ ।

काठमाडौं उपत्यकाकमा विद्युत ट्रान्समिसन लाइन विस्तार तथा स्तरोन्नतीका लागि पनि उसले चासो दिएको छ । एडीबीका अनुसार यसका लागि ५०० मिलियन डलर लाग्ने भएपनि प्रारम्भीक चरणमा १५० मिलियन डलर खर्च गर्न सकिने उसको संकेत थियो ।

एडीबीले भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेकोमा असन्तुष्टि जनाएको छ । तर, पुनर्निर्माण प्राधिकरणले राम्रो काम गर्छ भन्ने आश रहेको उपाध्यक्ष झाङले बताए ।

उपाध्यक्ष झाङले नेपालमा विकास आयोजना अघि बढे सबै तहमा समझदारी हुन जरुरी रहेको बताए । साथै अनुगमन संयन्त्र बलियो बनाउनु पर्नेमा समेत उनले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment