Comments Add Comment

कला-साहित्य उत्सवः इतिहासदेखि समकालीन समाजसम्मको बहस

१२ फागुन, काठमाडौं । रिडर्स झापाले प्रत्येक दुई वर्षमा काँकरभिट्टामा आयोजना गर्दै आएको कला-साहित्य उत्सव आजबाट सुरु भएको छ । पहिलो पटक ०६९ मा भएको उत्सवको यो तेस्रो संस्करण हो ।

काँकरभिट्टा खानेपानी सभाहलमा आयोजित महोत्सवको उद्घाटन समारोहमा समाजशास्त्री चैतन्य मिश्रले प्रमुख मन्तव्य दिए । यससँगै तीन दिनको उत्सवको दैलो खुलेको छ । जम्मा २४ वटा शीर्षकमा प्यानल डिस्कसन हुने कार्यक्रममा समाज, राजनीति, साहित्य, संस्कृति र स्थानीय समृद्धिको बहसमा वक्ता र सहभागीहरु जोडिनेछन् । विभिन्न सत्रमा करिब ८० जना वक्ता र सहजकर्ताहरु भाग लिँदै छन् ।

कार्यक्रममा कविता र गजल वाचनका साथै नाटक मञ्चन, वृत्तचित्र प्रदर्शनी र गायन प्रस्तुति पनि राखिएको छ । पहिलो दिन परिवर्तन थिएटरको ‘सुकुम्बासी राजा’ नाटक मञ्चन हुनेछ भने दोस्रो दिन अल्ट्रा म्याराथन मीरा राईको बारेमा बनाइएको वृत्तचित्र ‘मीरा’ देखाइनेछ । उत्सवको अन्तिम दिनको बिसाउनीमा गायक गणेश रसिक र साथमा रोहित खपाङ्गीको सांगीतिक प्रस्तुति रहनेछ ।

रिडर्स झापाको समन्वयमा तीन सातादेखि झापामा रहेर सिर्जनात्मक गतिविधि गर्दै आएका काठमाडौं स्कूल अफ आर्ट, वर्ड वारियर, देही आर्ट लगायतका पाँच वटा संस्था पनि आजबाट यो उत्सवमा मिसिएका छन् ।

कार्यक्रममा किताबप्रेमीहरुलाई खजाना बोकेर पर्खिरहेको बुक बस पनि आकर्षणको रुपमा रहेको छ । यसका साथै उत्सवमा लाइभ पेन्टिङ, फोटो प्रदर्शनी लगायत पनि हुने रिडर्स झापाका उपाध्यक्ष तथा कला-साहित्य उत्सवका संयोजक दामोदर ढुंगेलले अनलाइनखबरलाई बताए ।

उत्सवको बारेमा ढुंगेलसँग गरिएको संक्षिप्त कुराकानीः

कला-साहित्य उत्सवको उद्देश्य के हो ?

– समसामयिक जीवनका विविध विषयमा बहस गराएर ती विषयमा आलोचनात्मक चेत निर्माण गर्ने हाम्रो प्रयास हो । खासमा युवा पुस्तामा प्रश्न गर्ने बानीको निर्माण गर्ने उद्देश्य राखेका छौं ।

दामोदर ढुंगेल

यस्तो उत्सव/महोत्सव राजधानीमै सीमित हुँदै आएकोमा रिडर्स झापाले पहिलो पटक ०६९ मा मोफसलमा आयोजना गर्‍यो । यो उत्सव गरेपछि काँकरभिट्टालाई के फरक पारेको छ ?

– काँकरभिट्टाको परिचय नै बदलिएको छ । कुनै पनि मुलुकको बोर्डर क्षेत्रले आपराधिक गतिविधिदेखि यावत् समस्याको विशेषता बोकेको हुन्छ । तर, रिडर्स झापाले ०६९ मा कला-साहित्य उत्सव सुरु गर्दा त्यतिबेलै भन्यो, काँकरभिट्टामा एउटा सिकाइ केन्द्र स्थापना भयो । यसले काँकरभिट्टाको परिचय बदलेर अध्ययन केन्द्रको रुपमा विकास हुन्छ भन्ने यहाँको आम बुझाइ छ । कला-साहित्य उत्सव गरेयता अहिले यो ठाउालाई हेर्ने दृष्टिकोण पृथक् छ ।

यसपालिका सेसनहरु कुन आधारमा तयार पारिएका छन् ?

– हाम्रो समकालीन समाज, राजनीति र अहिले मुलुकभित्र उठिरहेका विभिन्न एजेण्डालाई नै आधार बनाएर सेसनहरु तयार पारिएको छ ।

कार्यक्रमका लागि झापामा स्थानीय स्तरमा कस्तो साथ-सहयोग प्राप्त भयो ?

– हामीलाई मेचीनगर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । यो क्षेत्रका विशेष गरी विद्यालय, कलेज र सहकारी संस्थाहरुले सानो-सानो रकम सबैले सहयोग गरेका छन् । यसले उनीहरुलाई कार्यक्रममा अपनत्व महसुस गराएको छ । कार्यक्रममा विद्यालयहरुको उपस्थिति पनि अनिवार्य रुपमा रहनेछ ।

राजनीतिक दलहरुको सर्वदलीय बैठक राखेर हाम्रो कार्यक्रमको बारेमा जानकारी गराउँदा सबैले सहयोग गर्ने र सहभागिता जनाउने कुरामा प्रतिबद्धता जनाए । यसका साथै झापाका सबै साहित्यिक संघसंस्थाले पनि हातेमालो गरेका छन् ।

कार्यक्रम गर्न आर्थिक चुनौतीले कत्तिको सतायो ?

– आर्थिक चुनौती पनि हो एउटा । तर, त्यसो भन्दैमा हामीले ठूलो कर्पोरेट हाउसबाट ठूला सहयोग लिएका छैनौं । किनभने एउटै कर्पोरेट हाउसबाट ठूलो सहयोग लियो भने उसको एजेण्डा हावी हुन्छ । बरु विभिन्न संघसंस्थाबाट सानो-सानो सहयोग लिने गरेका छौं । त्यसले यो कार्यक्रम हामी सबैको हो भने सामूहिक भावना पनि देखिएको छ ।

रिडर्स झापा कस्तो संस्था हो ?

– यो खुला खालको नेटवर्क हो । कुनै रसिद काटेर सदस्यता लिने भन्ने छैन । हामी हरेक शनिबार बिहान साढे ७ बजे काँकरभिट्टा खानेपानी परिसरमा भेला हुन्छौं र विविध विषयमा अन्तर्क्रिया र छलफल गर्छौं । हाम्रो मान्यता के छ भने, त्यो कार्यक्रममा नियमित आउने व्यक्ति रिडर्स झापाको सदस्य मानिन्छ । पदाधिकारीमा हाम्रो सात जनाको टिम छ ।

नियमित कार्यक्रममा छलफलका विषय चाहिँ के-कस्ता हुन्छन् ?

– शनिबारको नियमित कार्यक्रममा हामी साथीहरु पुस्तक र अन्य समसामयिक विषयमा छलफल र टिप्पणी गर्छौं । त्यसका साथै हामीले ‘स्रष्टा साक्षात्कार’ भन्ने कार्यक्रम गर्दै आएका छौं । त्यसमा साहित्यका साथै विविध क्षेत्रका व्यक्तिहरुलाई निम्त्याएर बेलाबेला अन्तर्क्रिया गराउँछौं । ती विषयहरुमा काठमाडौंबाट विज्ञहरु ल्याएर पनि हामी कार्यक्रम गर्छौं । सामाजिक, राजनीतिक, आर्थिक, साहित्य, नाटक, फिल्म जस्ता विषयमा वक्ताहरुको अनुकूलता हेरेर हामी कार्यक्रम गरिरहन्छौं ।

  • तेस्रो कला-साहित्य उत्सवको कार्यक्रम तालिका:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment