Comments Add Comment

बर्डफ्लुबाट बच्ने चार उपाय

नेपालमा बर्डफ्लु पहिलो पटक २००९ मा झापामा देखिएको थियो । पछिल्लो पटक फागुन १२ गते पोखराको खल्तेमसिनीमा यो रोग देखापरिसकेको छ । यो अवस्थामा रोगबारे हामी सजग हुन आवश्यक छ ।

बर्डफ्लु पंक्षीबाट पंक्षी तथा पंक्षीबाट मानिसमा लाग्ने रोग हो । यसलाई ‘एभियन इन्फ्लुएन्जा’ पनि भनिन्छ । दाना वा पानीको माध्यमबाट यो रोगको भाइरस द्रुत गतिमा फैलिएर धेरैको ज्यान लिन सक्ने भएकोले बर्डफ्लुलाई प्राणघातक रोग पनि भनिन्छ ।

यो रोग सर्वप्रथम सन् १९७८ मा पंक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो । विश्वमा बर्डफ्लुको सङ्क्रमण भेटिएको पछिल्लो ६६औं मुलुक हो नेपाल । थाइल्याण्ड,बङ्गलादेश र इण्डोनेशियामा यसले विकराल अवस्था निम्त्याएको थियो ।

बर्डफ्लु खोकीको सङ्क्रमण जस्तै हो । यो रोगको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान,र्‍याल, सुली, दाना, अण्डा तथा क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट मानिसमा सर्न सक्छ ।

 

रोग लागेका पंक्षीबाट टाढा रहने  

– जंगली या घरपालुवा कुनै पनि चरा मरेको वा बिरामी देख्नुभयो भने नछुनुहोस् । यदि केही गरी छुनुभयो भने तत्काल साबुन-पानीले हात धुनुहोस् । हात धुँदा तातोपानी र साबुन वा कुनै ६०% अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्नुहोस् । चरा मरेको वा बिरामी भएर बसेको ठाउँमा टेक्दा वा छुँदा पनि सङ्क्रमण हुन सक्ने भएकोले आफूले लगाएको जुत्ता, छोएको कपडा वा लट्ठीलाई पनि तत्काल साबुन-पानीले धुनुपर्छ ।

– चरा मरेको भेटिएमा नजिकको जिल्ला पशु सेवा कार्यालय वा पशु सेवा केन्द्रमा खबर गर्नुहोस् । पशु सेवा कार्यालय तथा सेवा केन्द्रहरुले बर्डफ्लुको नियमित निगरानी गरिरहेका छन् । यदि तपाईंले कतै सानो-ठूलो संख्यामा घरपालुवा कुखुरा, हाँस वा जंगली चरा मरेको भेट्नुभयो भने पशु सेवा कार्यालय वा नजिकको सेवा केन्द्रमा खबर गर्नुहोला। त्यस्ता पंक्षीको नमुना लैजानुपरेमा प्लास्टिकको पञ्जा प्रयोग गरी प्लास्टिक वा कुनै भाँडामा राखेर लैजानुहोला ।

 

खाँदा र घुम्न निस्किँदा होशियार हुने

–  राम्ररी नपाकेको मासु कहिल्यै पनि नखानुहोस् । रातो नदेखिने गरी पाकेको र पकाउने बित्तिकै तातै अवस्थाको मासु मात्र खानुहोस् । मासु ७४ डिग्रीसम्म पकाउँदा बर्डफ्लुको भाइरस मर्छ । सडक वा गल्लीमा राखेको रगत देखिने कुनै पनि मासु नखानुहोस् ।अन्डा खाँदा पहेंलो भाग साह्रो हुने गरी पाकेको मात्र खानुहोस् । पकाउनुअघि र पकाइसकेपछि साबुन-पानीले हात धुनुहोस् ।

– सधैं सरसफाइमा ध्यान दिनुहोस् । कुनै पनि वस्तु छोएपछि आँखा, नाक, मुखभित्र औंला नहाल्नुहोस् । कुनै वस्तु छोएपछि हात धुने बानी बसाल्नुहोस् ।

– तपाईं कुनै ठाउँको भ्रमणमा जाँदा पंक्षी छुनुभएको छ र बिरामी हुनुभयो भने चिकित्सकलाई देखाउनुहोला । बर्डफ्लु छैन भनेर यकिन नभएसम्म अरु मान्छेसँग घुलमिल नगर्नुहोस् ।

 

रोगका लक्षणहरुमा ध्यान दिने

 

– रोगका लक्षणहरुलाई नजिकबाट नियाल्ने । बर्डफ्लु लागेको मान्छेमा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती तथा पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा तथा बिरामी पंक्षीको सम्पर्कमा आएका व्यक्तिलाई तत्काल अस्पताल लैजानुहोस् ।

कुखुराहरुमा भने सिउर, लोती र खुट्टा पर्पल रङको हुने, चारो खान मन नगर्ने, टाउको सुन्निने, नाकबाट सिँगान बग्ने, अण्डा कमलो हुने जस्ता लक्षण देखिन सक्छ । कुनै पनि लक्षण बिना  एक्कासी धेरै कुखुरा-हाँस मरेमा पनि शङ्का गर्नुपर्छ ।

– यो रोग चराबाट मान्छेमा र मान्छेबाट मान्छेमा पनि सर्ने भएकोले आफूलाई रोग लागेको शंका भएमा धेरै भिडभाड भएको ठाउँमा जानु हुँदैन । अंकमाल, चुम्बन गर्ने,आफूले लगाएका कपडा, गहना अरुलाई दिने जस्ता कार्य गर्नु हुँदैन । रोगका लक्षण देखिएमा अस्पताल गएर चिकित्सकको सल्लाह बमोजिम भाइरस विरुद औषधि खानुपर्छ ।

 

४. कुखुराहाँसलाई बर्डफ्लुबाट यसरी जोगाउने

–  कुखुरा वा हाँसलाई छुनुअघि र छोइसकेपछि राम्रोसँग साबुन-पानीले हात धुने । पञ्‍जा लगाएर मात्र कुखुरा वा चल्लालाई दाना, पानी दिने गर्नुपर्छ ।

– खोरभित्र र बाहिर लगाउने जुत्ता छुट्टाछुट्टै प्रयोग गर्ने । कुखुरा वा पंक्षीको हेरचाह गर्ने व्यक्तिको जुत्ता पनि रोग संक्रमणको कारक हुने भएकोले सावधानी अपनाउनुपर्छ । प्रत्येक पटक खोर बाहिर निस्किँदा वा भित्र पस्दा ढोकामा र वरिपरि चुना छर्नुपर्छ । पंक्षी बाहिर-भित्र गर्दा पनि चुना छर्नु आवश्यक हुन्छ ।

– घरपालुवा पंक्षी भएको ठाउँको पानी तथा दाना खान जङ्गली चराहरु आउने र त्यसबेला सङ्क्रमणको सम्भावना हुने भएकोले त्यसबाट बचाउनुपर्छ । जङ्गली चरामा बर्डफ्लुको सङ्क्रमण भए पनि कहिलेकाहीँ तिनमा रोगका लक्षण नदेखिन सक्छ । तर, तिनको सम्पर्कमा आउने घरपालुवा पंक्षीमा भने रोग सरिसकेको हुन्छ ।

–  नयाँ कुखुरा तथा हाँस किन्दा बर्डफ्लु नदेखिएको क्षेत्रबाट मात्र किन्नुपर्छ ।किनिसकेपछि खोरमा रहेका अरु पंक्षीसँग नमिसाई कम्तीमा ३० दिन अलग्गै राख्नुपर्छ ।

– पंक्षीको लागि दाना किन्दा सफा र सुरक्षित छ कि छैन भन्ने यकिन गरेर मात्र किन्नुपर्छ । किनेर ल्याएपछि बाहिरी चरा, जनावरतथा कीरा पस्न नसक्ने प्लास्टिकको भाँडामा राख्नुपर्छ ।

 (डा. शाही पशुसेवा विभागहरिहरभवनमा कार्यरत पशु चिकित्सक हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment