Comments Add Comment

यातायातका नयाँ हाकिम भन्छन्ः ४ महिनाभित्र सबैले अनुभूति गर्ने गरी सेवा सुधार्छु


२३ फागुन, काठमाडौं । अस्तव्यस्त बनेको यातायात व्यवस्था विभागमा नयाँ महानिर्देशकले काम थालेका छन् ।

आइतबारदेखि महानिर्देशकका रुपमा काम थालेका सहसचिव रुपनारायण भट्टराईले यातायात क्षेत्रमा रहेका अस्तव्यस्त स्थिति छिटै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । अनलाइनखबरलाई प्रतिक्रिया दिँदै उनले चार महिनाभित्रै नागरिकले अनुभूति गर्ने गरी यातायात सेवा सुधार्ने बताए ।

‘धेरै समस्याका बीचमा मैले जिम्मेवारी सम्हालेको छु । नागरिकलाई सहजसँग सेवा दिने र यातायात क्षत्रेमा रहेका समस्यालाई हल गर्नेमा म प्रतिबद्ध छु’ भट्टराईले भने ।

उनले महानिर्देशकको जिम्मेवारी सम्हाल्दै गर्दा काठमाडौंबाट वितरण भइरहेको स्मार्ट लाइसेन्स सकिएको छ । भन्सार आइपुगेको भनिएको ५४ हजार स्मार्ट लाइसेन्स पनि नियमित माग अनुसार वितरण गर्ने हो भने सकिन एक हप्ता पनि लाग्ने छैन ।

महानिर्देशक भट्टराईले मन्त्रिपरिषद् मार्फत भए पनि थप स्मार्टकार्ड छपाइका लागि प्रक्रिया अघि बढाउने बताए । उनले हरसम्भव विकल्पहरु प्रयोग गरेर सेवालाई नरोकिने जनाए ।

४ महिनाका लागि आवश्यक कार्डको निर्णय मन्त्रिपरिषदबाट गराउने र अन्यको लागि भने टेण्डर प्रक्रिया सुरु गर्ने उनको योजना छ । एसियाली विकास बैंकसँग पनि कार्ड छपाइबारे छलफल अघि बढाएकाले लाइसेन्सको अभाव हुन नदिन आफू प्रतिवद्ध रहेको भट्टराईले सुनाए ।

त्यसैगरी काठमाडौंमा नयाँ खुलेका कार्यालयहरुको ट्रायल सेन्टर नभएकाले सरकारी जमिन नै प्रयोग गरेर भए पनि ट्रायल सेन्टर चलाउन अध्ययनको काम सुरु गर्ने भट्टराइएको भनाइ छ ।

ट्रायल सेन्टर नचलाएसम्म ३ वटा नयाँ कार्यालयहरु नवीकारणको मात्रै काम गर्न बाध्य हुने अवस्था छ । चलिरहेका ट्रायल सेन्टरमा पनि सेवाग्राहीको चाप उच्च छ ।

महानिर्देशक भट्टराईले ४ महिनापछि १४ अञ्चलबाटै स्मार्ट लाइसेन्सको वितरण सुरु गर्ने गरी कार्ययोजना बनाइने बताए ।

‘चार महिनापछि सबै क्षेत्रबाट स्मार्ट लाइसेन्स वितरण सुरु गर्न हामी कार्यायोजना बनाउँदै छौं’ उनले भने ।

यातायातमा रहेका विकृतिहरु हटाएर सेवालाई प्रभावकारी बनाउन आफू लागि पर्ने दाबी उनको छ । उनले विभागका सुरु भएका नयाँ प्रविधिका सेवाहरुलाई चुस्त बनाउन आवश्यक सबै ब्यवस्था गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment