Comments Add Comment

प्रधानमन्त्रीले नगर्नु भन्दाभन्दै कसले दियो गोली हान्ने आदेश ?

गृहमन्त्री निधिको भूमिकाप्रति बालुवाटार असन्तुष्ट

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टी हेडक्वाटर बैठकमा बसिरहेका बेला सोमबार अपराहृन सूचना आयो, ‘सप्तरीमा गोली चल्यो ।’

कुनै हालतमा गोली नचलाउन आफूले दिएको आदेशविपरित कसरी गोली चल्यो ? प्रधानमन्त्री आश्चर्यमा परे । त्यसको संकेत गर्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रधानमन्त्रीले गोली नचलाउनु भन्ने आदेश दिएका थिए । तर, गोली चल्यो ।’

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई शान्ति सुरक्षामा ध्यान दिन र राजधानी नछाड्न भनेका थिए । साथै गोली चलाउने आदेश नदिन भनेका थिए ।

सोमबार विहानै प्रहरीका निमित्त प्रमुखलाई बोलाएपनि गोली नचलाउन निर्देशन दिएका थिए । एक कार्यक्रमका लागि आइतबार विराटनगर पुग्दा पनि यनले सुरक्षा निकायका प्रमुखहरुलाई त्यही निर्देशन दिएका थिए ।

तर, गोली मात्र चलेन, चार जनाको मृत्यु भएको छ भने झण्डै एक दर्जन घाइते भएका छन् । आखिर देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले नै गोली नचलाउनु भन्दाभन्दै राजविराजमा कसले गोली चलायो त ?

स्रोतका अनुसार हेडक्वाटर बैठकबाटै प्रधानमन्त्रीले प्रहरीका निमित्त प्रमुख डा. दिनेशचन्द्र पोखरेललाई फोन गरेर गोली चलाउने आदेश कसले दियो भनेर सोधेका थिए ।

उनले गृहमन्त्रीको आदेश भने । प्रधानमन्त्री प्रचण्डले ‘मैले नचलाउन भनेको भनेको थिइन्, एक पटक सोध्नु पर्दैन’ भन्दा गृहमन्त्रीको आदेश आयो हजुर भनेका थिए ।

प्रधानमन्त्रीले गृहमन्त्री निधिलाई पनि सोधेका थिए । उनले आफूले गोली चलाउने आदेश दिएको स्वीकार गरेको बालुवाटार उच्च स्रोतले जनाएको छ । उनले आफूले घुँडामुनी गोली हान्न आदेश दिएको तर्क गरेका छन् ।

राजविराजमा गोली चल्दा गृहमन्त्री निधि भने पार्टीको कार्याक्रमका लागि कैलाली पुगेका थिए ।

राजविराजको औद्योगिक क्षेत्रमा एमालेको कार्यक्रम चलिरहेको बेला प्रहरीले प्रदर्शनकारीहरुलाई खेतमा नै रोकेर राखेको थियो । सुरुमा झडप हुँदा सामान्य लाठीचार्ज मात्रै भएको थियो । त्यसपछि पनि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारिरिरहेकै थियो ।

तर, जब केपी ओलीले भाषण गर्न थाले, मोर्चाका कार्यकर्ताहरु उत्तोजित हुन र प्रहरीको घेरा तोड्ने प्रयास गर्नतिर थाले । मोर्चाका कार्यकर्ताको उत्तेजना बढेपछि स्थानीय फिल्डमा खटिएका प्रहरीहरु आत्तिए । तर, गोली चलाउनका लागि प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयको आदेश पर्खनुपथ्र्यो ।

प्रहरी स्रोतका अनुसार मोर्चाका कार्यकर्ताहरुले एमालेका नेता-कार्यकर्ता चढेका गाडी रोकिएका ठाउँमा गएर तोडफोड गर्न थालिसकेका थिए । एउटा मोटरसाइकलमा आगजनी भयो । यो स्थितिमा तत्कालै केही नगरे आक्रोशित भीड कार्यक्रमस्थलमै प्रवेश गर्ने र विगतको गौर घटनाजस्तो हुन सक्ने देखेपछि स्थानीय प्रशासनले गृहसँग गोली चलाउने अनुमति माग्यो । र, गृहमन्त्रालयले घँडामुनि गोली चलाउन आदेश दिएको स्रोतले बतायो ।

संविधान संशोधन नभई स्थानीय चुनाव घोषणा गर्नु हुन्न भन्ने मत राख्ने गृहमन्त्री निधिको भूमिकाप्रति बालुवाटार सशंकित देखिएको छ । उनको नियत जे भएपनि चुनाव विरोधी संघर्षलाई आधार प्रदान गरेको माओवादी विश्लेषण छ ।

एमालेको बेग्लै विश्लेषण

उता नेकपा एमालेका नेताहरुचाहिँ राजविराज घटनामा नेकपा एमालेको कुनै दोष नरहेको बताउँछन् । दुखान्त घटना कसरी भयो भन्ने अनलाइनखबरको प्रश्नमा राजविराज घटनास्थलमै रहेका पत्रकार विष्णु रिजाललाई प्रश्न गर्दा उनले यो घटनामा एमालेको कुनै कमजोरी नरहेको बताए ।

एमाले प्रचार विभागका नेतासमेत रहेका रिजालले अनलाइनलाइनखबरसँग भने- ‘हामीले हदैसम्म संयम अपनायौं, राजविराजको कार्यक्रमस्थल पनि परिवर्तन गर्‍यौं, हनुमाननगरको रुटसमेत परिवर्तन गर्‍यौं, नेताहरुको अभिव्यक्ति पनि अति नै संयमित थियो । तर, हामीले पूर्वनिर्धारित कार्यक्रमै गर्न नपाउने भन्न खोजियो, जुन सम्भव थिएन ।’

कार्यक्रम सकेर नेता कार्यकर्ताहरु फर्किने बेला हुनै लाग्दा मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाउनुका साथै एमाले कार्यकर्ताले प्रयोग गरेका एकदर्जन बढी गाडीहरुमा तोडफोड गर्न थालेपछि प्रहरी र मोर्चावीच झडप भएको रिजालले बनाएर बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment