Comments Add Comment

विद्युत प्राधिकरणले भारतसँग माग्यो थप १०० मेगावाट विजुली

लोडसेडिङ नगरी विद्युत आयोजनाहरु मर्मत गर्ने तयारी

२४ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप १ सय मेगावाट बिजुली आयातको तयारी गरेको छ । यसका लागि प्राधिकरणले भारतको विद्युत् ब्यापार निगमलाई पत्र लेखेको छ ।

विद्युत प्राधिकरणले अब आफ्ना आयोजनाहरुको नियमित मर्मत सुरु गर्ने योजना बनाएको छ । जसका कारण लोडसेडिङ नहोस् भनेर भारतबाट थप १०० मेगावाट बिजुली किन्न लागिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनलाइनखबरसँग बताए ।

‘हाम्रा आयोजनाहरुमा वर्षको एकपटक राम्रोसँग मर्मत सम्भारको काम गरिन्छ । यो वर्ष त्यो काम बाँकी छ,’ अधिकारीले भने, ‘त्यो काम अघि बढाउँदा यहाँ कुनै समस्या नपरोस् भनेर भारतबाट थप विजुली आयात गर्न लागिएको हो ।’

कुलमानले बदले परम्परा

विगतका वर्षहरुमा जलविद्युत आयोजनाहरु मर्मत गर्ने क्रममा लोडसेडिङ बढाउने गरिन्थ्यो । पानी कम हुने भएकाले प्रायः मध्ये हिउँदयाममा नै आयोजनाहरु मर्मत गरिन्थ्यो ।

यो वर्ष भने स्थिति फरक छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ धेरै हुने समयमै आयोजनाको मर्मत गर्ने परम्परालाई तोड्दैछन् ।

प्राधिकरणले माध्यमिक शिक्षा परीक्षा नसकिएसम्म जलविद्युत आयोजना मर्मत थाल्ने छैन । हिउँ पग्लिएर चैतको मध्यसम्म खोलामा पानीको सतह बढ्ने भएकाले त्यसपछि पालै-पालो जलविद्युत आयोजनाको मर्मत अघि बढाउने र थप लोडसेडिङ नगर्ने योजना प्राधिकरणले बनाएको छ ।

दुई प्रशारण लाइनबाट विद्युत ल्याइने

भारतबाट थप १०० मेगावाट बिजुली आयात सुरु भएमा त्यसले मर्मतका क्रममा अयोजना बन्द हुँदा पनि विद्युत ब्यवस्थापनमा सहयोग पुग्नेछ । साथै पूर्वका साथै वीरगञ्जदेखि हेटौंडासम्मको लोडसेडिङ घटाउन सहयोग पुग्नेछ ।

प्राधिकरणले भर्खरै निर्माण सम्प्पन गरेको कुशाह-कटैया र रक्सौल परवानीपुर प्रशारणलाइनबाट विजुली आयातको तयारी गरेको छ । दुबै प्रशारणलाइन हालैमात्र निर्माण सम्पन्न भएका हुन् र सब-स्टेशन पनि तयारी अवस्थामा छ ।

दुबै प्रशारणलाइनबाट ५०/५० मेगावाट बिजुली ल्याउन विद्युत प्राधिकरणले भारतलाई पत्रचार गरेको छ । भारततर्फ भने दुबै प्रशारणलाइनबाट नेपालमा बिजुली पठाउन सक्ने गरी केही पूर्वाधारको काम बाँकी छ । रक्सौलमा भारततर्फ ट्रान्सर्फमर लगायतका केही पूर्वाधार राखिएको छैन ।

त्यसैका लागि आवश्यक ब्यवस्था पनि गर्न प्राधिकरणले भारतलाई आग्रह गरेको छ । विद्युत प्राधिकारणले लेखेको पत्रको भारतले औपचारिक जवाफ पठाएपछि थप बिजुली किन्ने प्रक्रियाको टुंगो लाग्ने छ ।

भारत पनि कुशाह-कटैया र रक्सौल-परवानीपुर प्रशारणलाइनबाट पनि बिजुली दिन सहमत भइसकेको छ । केही हप्ताअघि काठमाडौंमा भएको ऊर्जासचिव स्तरीय बैठकमा यो प्रशारणलाइनबाट थप बिजुली ल्याउने सहमति भएको थियो ।

कुन-कुन आयोजना गरिने छ मर्मत ?

विजुली आयात सुरु भएलगत्तै कालीगण्डकी, मध्यमर्स्याङ्दी, अपर मर्स्याङ्दी, देवीघाट लगायत प्राधिकरणका सबै आयोजनाहरुमा मर्मतको काम क्रमैसँग गरिनेछ । प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार आयोजनाको युनिटको काम सकिएपछि मात्रै अन्य युनिटमा मर्मतको काम गरिनेछ ।

वर्षा लाग्नुअघि नै सबै आयोजनाको मर्मतसम्भार सक्ने गरी तालिका बनाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment