Comments Add Comment

कांग्रेसमा ‘लोकप्रिय’लाई टिकट, चुनावमा अन्तर्घात गर्नेलाई कारबाही

२६ फागुन, पोखरा  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा लोकप्रिय व्यक्तिलाई अघि सारिने बताएका छन् ।

कांग्रेस पोखरा नगर सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले तेरो र मेरो मान्छे भनेर टिकट दिन थाल्यौँ भने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजय प्राप्त गर्न कठिन हुने बताउँदै पार्टीले उम्मेदवारको किटान गरिसकेपछि हराउन खोज्ने, अन्तर्घात गर्ने र अनुशासन तोड्नेलाई कडा कारबाही गरिने चेतावनी दिए ।

उनले स्थानीय निर्वाचन नजिकै आइरहेकाले पार्टी कार्यकर्तालाई गाउँ-गाउँमा गएर जनताका सुखदुःखमा साथ दिन आग्रह गरे ।

उनले काठमाडौँ महानगरपालिकापछि दोस्रो ठूलो पोखरा–लेखनाथ महानगरपालिका एक पर्यटकीय नगरी पनि भएकाले यहाँको पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संविधान संशोधन हुनै नदिने प्रतिपक्षी र आफूले भनेजस्तो सबै हुनुपर्ने मधेसी मोर्चा दुवैलाई अतिवादी सोच त्यागेर एउटा मिलनविन्दुमा आउन आग्रह गरे । उनले सबै राजनीतिक दल निर्बाध रुपमा आफ्ना विचार, नीति र कार्यक्रम लिएर देशका सबै ठाउँमा जाने वातावरण हुनुपर्नेमा जोड दिए ।

पार्टीका अर्का नेता गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री तारानाथ रानाभाटले स्थानीय तहको निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा हुन दिन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताए ।

नेविसङ्घका सभापति नैनसिंह महरले स्थानीय तहको निर्वाचन सकिएपछि रोकिएका क्याम्पसको स्ववियुको निर्वाचन आगामी जेठ महिनामा गराउन आफूले विशेष पहल गर्ने जानकारी गराए।

सांसद यज्ञबहादुर थापा, शारदा पौडेल र विन्दादेवी रानाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने र यो वा त्यो बहानामा निर्वाचनबाट कोही पनि भाग्न नपाउने धारणा राखे ।

पोखरा नगर समितिका सभापति वजिरमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा
नगर समितिका पूर्वसभापति र हालै स्ववियु निर्वाचनमा विजयी विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment