Comments Add Comment

फिनल्याण्डको स्थानीय निर्वाचनमा नेपाली मूलकी उम्मेदवार

फिनल्याण्ड । अप्रिल ९ मा फिनल्याण्डमा हुने स्थानीय निर्वाचनमा नेपाली मूलकी महिलाले उम्मेदवारी दिएकी छिन् ।

२५ वर्षदेखि फिनल्याण्डमा बसोबास गर्दै आएकी ब्योमा ताम्राकारले ‘स्विडिश पिपुल्स पार्टी’ बाट उम्मेदवारी दिएकी हुन् ।

झण्डै २५ सय नेपालीहरु रहेको फिनल्याण्डमा पहिलोपल्ट नेपाली मूलको व्यक्ति चुनावमा उठेपछि नयाँ उत्साह फैलिएको छ । ताम्राकारले फिनल्याण्डभरिमा नेपालीहरुको सर्वाधिक जनसंख्या रहेको हेलसिन्की क्षेत्रबाट उम्मेदवारी दिएकी हुन् । सो क्षेत्रमा करिब एक हजारको संख्यामा नेपालीहरु बस्ने आकलन गरिएको छ ।

हेलसिन्की विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी ताम्राकारले नेपाल र फिनल्याण्डका विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रमा तीन दशकभन्दा बढी काम गरेकी छिन् । उनले फिनिश श्रमबजारमा समान अवसर सिर्जना,  आप्रवासीहरुका लागि तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम, नगरपालिकाको आवास सुविधामा आप्रवासीहरुको समान पहुँच लगायत एजेण्डाहरु अघि सारेकी छिन् ।

फिनल्याण्डमा हरेक चार वर्षमा हुने स्थानीय निर्वाचनमा यसपालि दुई सय ९५ नगरपालिकामा प्रतिनिधि चुनिँदै छन् ।  निर्वाचनमा जुनसुकै भीसामा स्थायी रुपमा लगातार दुई वर्ष बसोबास गरेका व्यक्तिहरुले मतदान गर्न पाउँछन् ।

– भुवन पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment