२९ फागुन, काठमाडौं । कल्पना गरौं, यदि रंगको अस्तित्व नहुँदो हो त कस्तो हुन्थ्यो होला ?
संसार श्यामश्वेत हुन्थे होलान् । उसैगरी हाम्रा खुसीहरु खुम्चने थिए होलान्, उमंगहरु साँघुरिने थिए होलान् । जीवन निस्सार लाग्दो हो ।
रंगबिरंगी फूलहरु देख्दा हाम्रो मन फुरुंग हुन्छ । सप्तरंगी इन्द्रधनुष देख्दा खुसीले उद्वेलित हुन्छ । रंग छ, त्यसैले हामी सप्तरंगी जीवन व्यतीत गरिरहेका छौं ।
सूर्यको किरण नै रंगको स्रोत भएको वैज्ञानिक तथ्य छ । सूर्यको ज्योतिमा बिभिन्न सात रंग प्रकट हुन्छ, बैजनी, नीलो, हरियो, आकासे, पहेंलो, रातो र सुन्तले । ऋषिमुनिहरुले पनि सूर्यको किरणमा सात रंग हुन्छ भन्ने तथ्य बुझेका थिए । सूर्यको सप्तरंगी किरणको शक्तिलाई आत्मसात गरेर उनीहरुले सूर्य चिकित्सा पद्दतिको विकास गरेको पाइन्छ ।
होलीको आगमन
यतिबेला बसन्त ऋतुको आगमन हुँदैछ । यो मनमोहक ऋतुसँगै रुख-बुट्यानमा नयाँ पालुवा पलाउन थाल्छ । कोपिलाहरु फर्कन थाल्छ । बसन्ती हावामा फूलहरु बयेली खेल्न थाल्छ । चारैतिर हरियाली छाउँछ ।
र, यही समय हामी होली पर्व मनाउँछौं । रंगै रंगको पर्व, होली । होलीको सांकेतिक अर्थ हो, जीवन पनि होलीको रंगजस्तै रंगीन हुनुपर्छ ।
होली किन मनाउने ?
सामाजिक दृष्टिले, यो एकता र भाइचाराको पर्व हो । सांस्कृतिक कोणबाट हेरौं वा वैज्ञानिक, उत्तिकै अर्थपूर्ण छ, होली । निराशा र उदासीनता त्यागेर जीवनलाई उल्लासमय बनाउने माध्यम पनि हो यो ।
‘असत्यमाथि सत्यको जीत हुन्छ’ भन्ने पौराणिक सन्देश बोकेको छ होलीले । विष्णुभक्त प्रह्लादलाई आफ्नै पिता हिरण्यकश्यपले मार्ने योजना बनाउँछन् । यसका लागि आगोमा नजल्ने होलिकालाई प्रयोग गरिन्छ । अतः प्रह्लादलाई काखमा रखोर होलिका अग्निकुण्डमा होमिन्छन् । तर, अग्नीले होलिकालाई भष्म गर्छ प्रह्लाद जीवित रहन्छ ।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका बिजय गरेसँगै होलीको परम्परा सुरु भएको मानिन्छ । खासगरी नेवार समुदायले बसन्तपुर दरबार अगाडि रंगबिरंगी कपडा झुन्ड्याएर बनाइएको तीन छत्रे चीर गाडेपछि विधिवत् होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीमा गाडिने तीर पूणिर्माको रात ढालेर टुँडीखेलमा पोलिएपछि होली समाप्त हुन्छ ।
भक्तपुरमा जगतप्रकाश मल्लको समयमा वनेको दत्तात्रय मन्दिरसंगै रहेको भैरब मन्दिरमा लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । यसलाई भीमसेनको लिंग र कपडाबाट बनेको प्वाललाई द्रौपतीको योनीका रुपमा चित्रण गरिन्छ ।
कसरी खेल्ने होली ?
एकअर्कामा अबीर दलेर होली खेलिन्छ । यसका लागि गुणस्तरीय अबीर प्रयोग गर्नुपर्छ । सकेसम्म प्राकृतिक रंगहरु बनाएर होली खेल्नु बढी अर्थपूर्ण हुन्छ । घरेलु बिधीबाट रंगहरु तयार गर्न सकिन्छ ।
होली आपसी सद्भावको पर्व हो । त्यसैले कसैलाई जबरजस्ती पानी छ्यापेर, लोला हानेर होली मनाउनु आफैमा मूर्खतापूर्ण हो ।
होली मैत्रीपूर्ण हुनुपर्छ । आफन्त, साथीभाइलाई निमन्त्रणा गरेर होली खेल्न सकिन्छ । यसका लागि पूर्व तयारी गर्नैपर्छ । खासगरी खुला स्थानमा होली खेल्नु उपयुक्त हुन्छ । खेल्ने स्थानमा चोटपटक लाग्ने कुनै बस्तु छ/छैन हेर्नुपर्छ ।
- गुणस्तरीय एवं सुख्खा अबीरले होली खेल्ने । यसले स्वास्थ्यमा हानी गर्दैन र शरीरमा लागेको रंग हटाउन पनि सजिलो हुन्छ ।
- गुणस्तरीहन रंग, मेटालिक रंग प्रयोग नगरौं ।
- कसैले रंग दल्न खोजे आँखा बन्द गर्नुपर्छ । यदि आँखामा रंग पर्यो भने तुरुन्तै सफा पानीले पाखाल्नुपर्छ ।
होली खेल्नुअघि के गर्ने ?
- होली खेल्नका लागि अलि पुरानो तर पुरै शरीर ढाक्ने परिहन उपयुक्त हुन्छ ।
- कपडाले नछोपिएको भाग, हात, खुट्टा, अनुहार आदिमा कुनै लोसन लगाउनुपर्छ । क्रिमको लेयरले छालालाई रंगको सोझो असर पर्न दिदैन । साथै घामको किरणबाट पनि जोगाउँछ ।
- केसमा तेल लगाउनुपर्छ । महिलाहरुले केस बाँध्नु राम्रो हो ।
- हातमा रंग खेलाइने भएकाले नङ जोगाउनका लागि नेलपोलिस लगाउन सकिन्छ ।
होलीको रंग कसरी हटाउने ?
- सुख्खा अबिरले खेलिएको छ भने त्यसलाई कपडाले पुछ्नुपर्छ, पानीले भिजाउनुहुँदैन ।
- केशमा लागेको रंग हटाउनका लागि काइयोले कोरेर स्याम्पु प्रयोग गरी नुहाउनुपर्छ ।
- रंग बिस्तारै हटाउनुपर्छ, छालामा रगड्नु हुँदैन ।
- अनुहारमा लागेको रंग हटाउन तातोपानीको बाफ लिन सकिन्छ । यसले अनुहारको रोमछिद्र खुल्छ र रंग सजिलै हट्छ ।
घरेलु विधि के छ ?
- बेसनमा कागती र दूध मिसाएर पेष्ट बनाउनुपर्छ । त्यसलाई छालामा दलेर केही क्षण राख्ने र त्यसपछि बिस्तारै सफा पानीले धुनुपर्छ ।
- मुलाको रस निकालेर त्यसमा दूध, बेसन र मैदाको मिश्रण बनाउने । यस्तो मिश्रणले सफा गर्दा छालामा चमक आउँछ ।
- काँक्राको रसमा थोरै गुलाबजल राखेर सफा गर्न सकिन्छ ।
तस्वीर: विकाश श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4