३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत १० गते चीन भ्रमणमा जाने तयारीमा जुटेका छन् ।
दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो । माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड बोआओ फोरममा भाग लिन चीन जान लागेका हुन् ।
यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच भेटवार्ता भएको थियो ।नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुंगो लगाएका हुन् । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले बतायो ।
चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने चर्चा पनि चल्दै आएको छ । तर, अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित भएको छैन ।
गोवामा भएको भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए । चिनियाँ राष्ट्रपतिले चाँडै नेपाल आउने बताएका थिए ।
बेइजिङमा उच्चस्तरीय भेटको तयारी
स्रोतहरुका अनुसार बोआओ फोरमसँगै प्रधानमन्त्री प्रचण्डले बेइजिङ भ्रमण गर्ने गृहकार्य पनि भइरहेको छ । बेइजिङमा राष्ट्रपतिलाई भेट्ने र द्विपक्षीय सम्झौताहरु गर्ने अवस्था भएमात्र प्रचण्ड चीन जानेछन् ।
केरुङ-काठमाडौं-लुम्बिनी रेलमार्गको डीपीआर, इन्धन भण्डारण, व्यापार तथा पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षर लगायतमा नेपाली पक्षले गृहकार्य गरेको छ । यो सम्झौता हुने भए प्रचण्डको चीन भ्रमण हुनेछ ।
अन्यथा देशको अवस्थालाई हेरेर प्रचण्ड बोआओ फोरममा नजाने सम्भावना छ ।