Comments Add Comment

नम्रता र कोशिशको ‘पर्व’ अब जेठमा, ‘काले दाई’ले मच्चाउँदैछ हंगामा


यतिबेला, एउटा गीत निकै हिट छ । ‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा ५० लाख भन्दा बढी दर्शकको साथ पाइसकेको छ । पार्टी, बिहेदेखि हरेक चाडपर्वमा समेत यहि गीत बजेको छ ।

यो गीत चलचित्र ‘पर्व’को हो । दिनेश राउतले निर्देशन गरेको यो चलचित्रको ‘काले दाई काले दाई’ बोलको गीतमा चलचित्रकी मुख्य नायिका माला लिम्बु र निर्देशक निश्चल बस्नेतले नृत्य गरेका छन् ।

चलचित्रको गीत हिट भएपछि दर्शकले ‘पर्व’को प्रदर्शन मिति पनि पर्खिरहेका छन् । गीत जस्तै चलचित्र पनि सुपरहिट हुनेमा यसको निर्माणपक्ष पनि विश्वस्त छ ।
टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको यो चलचित्र चैत्र २५ गतेबाट रिलिज हुने बताइएको थियो । चलचित्रको घोषणा कार्यक्रममा पनि चैत्र २५ लाई नै मिति तोकिएको थियो ।

तर, अब यो चलचित्र तोकिएको मितिमा प्रदर्शनमा नआउने भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार अब ‘पर्व’ आउँदो बर्षको जेठ १२ गतेबाट नेपालभर रिलिज हुने भएको छ ।

सुवास गिरी र निकिता पौडेलले यो चलचित्रको निर्माण गरेका हुन् । निर्देशक दिनेश राउतले चलचित्रको प्रदर्शन मिति पछाडि सार्नुको कारणबारे भने-‘दर्शकहरुले ‘काले दाई काले दाई’ बोलको गीत मन पराइदिनुभएकोमा हामी अत्यन्त खुशी छौ । यसैले, दर्शकलाई चाडो भन्दा चाडो चलचित्र देखाउने हाम्रो चाहना थियो । तर, प्राविधिक कारणले चैत्र २५ मा चलचित्र रिलिज हुन सकेन । अब, जेठ १२ गते चलचित्र दर्शकमाझ आउनेछ ।’

निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पछाडि सार्नुको कारण विदेशमा प्रदर्शनको व्यवस्था मिलाउनका लागि पनि भनेको छ । निर्माता मध्येका एक सुवास गिरीले भने-‘हामी, दर्शकले पर्खाइमा राखेको चलचित्र नेपालसँगै विदेशमा पनि एकसाथ रिलिज गर्ने तयारीमा छौ । यसैका लागि, केहि समय लागेको हो । जसले गर्दा, चैत्र २५ गतेबाट चलचित्रको प्रदर्शन मिति सारेर जेठ १२ लाई तोकिएको हो ।’

चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । एउटा पर्वमा घटेको घटना र त्यसपछि एक पात्रमा उत्पन्न हुने उत्तेजनात्मक भावको कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment