१० चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माणका लागि सहुलियत दरमा काठ उपलव्ध गराउन बन मन्त्रालय र सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
भूकम्प प्रभावितहरुले काठको अभावमा घर बनाउन नसकेको गुनासो गरेपछि कार्यकारी अधिकृत पोखरेलले वन मन्त्रालयका सचिव, वन विभागका महानिर्देशक र टिम्बर कर्पोरेशनका महाप्रवन्धकलाई प्राधिकरणमा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
उनले भूकम्प पीडितहरुका लागि सहुलियतमा दिने भनिएको काठ बितरणको प्रक्रिया सहज बनाएर अति प्रभावित १४ जिल्ला सदरमुकामसम्म ढुवानी गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।
सो क्रममा मन्त्रालय सचिव, वन विभागका महानिर्देशक लगायत सरोकारवाला निकायका पदाधिकारीहरुले आवश्यक गृहकार्य गरी जतिसक्दो छिटो भूकम्प प्रभावित जिल्लामा सहुलियत दरमा काठ उपलव्ध गराउन प्रतिवद्धता जनाएका छन् ।
त्यसअघि पोखरेलले भने, ‘तपाईहरुले न्युन लागतमा प्रभावित जिल्लाको सदरमुकामसम्म सहुलियत दरमा काठ पुर्याउने व्यवस्था गर्नुहोस्, कार्यविधि संशोधन गरेर हुन्छ वा क्याविनेटसम्म कुनै प्रस्ताव लग्नुपर्छ त्यसमा हामी सहयोग गर्छाैं । तर तपाईहरुले घर बनाउन आवश्यक पर्ने काठको सहज वितरण गर्नुपर्यो ।’
पोखरेलले जिल्ला बन पैदावार समिति र निजी क्षेत्रलाई सहभागी गराएर काठ वितरणलाई प्रभावकारी बनाउन सकिने सुझाव समेत दिएका थिए ।
अहिले बन सचिवमा प्रकाश माथेमा, बन बिभागका महानिर्देशकमा कृष्णप्रसाद आचार्य र टिम्बर कर्पाेरेशन अफ नेपालका महाप्रबन्धकमा राजु लौडारी रहेका छन् ।
प्रतिक्रिया 4