Comments Add Comment

‘डेरा’ खोज्दै उपप्रधानमन्त्री कमल थापा स्याङजामा !

'४३ वर्षमा गाउँको पिपलको रुख बूढो भएछ'

२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।

उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।

पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।

उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।

पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।

आइतबार मन्त्री थापा स्याङजाको पुतलीबजारबाट दुईघण्टाभन्दा बढी समय लाग्ने सिरुबारीमा पुगेर स्कुलको अवलोकन गरे । त्यहाँ उनीसँग भेट भयो, ०३१ सालका विद्यालयका पियन शालिकराम । उपप्रधानमन्त्री थापाले उनीसँग खुशी साटासाट गरे ।

शालिग्रामका छोरा अहिले सोही विद्यालयमा काम गर्दा रहेछन् । यो थाहा पाउँदा आफूलाई खुशी लागेको मन्त्री थापाले बताए ।
विद्यालयका प्रधानाध्यापक टेकनाथ खनाल र व्यवस्थापन समितिका अध्यक्ष होमराज चापागाईं र स्थानीय अविभावकहरुले विगत सम्झेर कमल थापा आफ्नो विद्यालयमा आइपुगेको भन्दै हर्ष प्रकट गरे ।

खेलकुदमा रुची भएका उपप्रधानमन्त्री थापाले आफूले पठढाएको विद्यालय देखाउँदै भने- यही चौरमा त्यसबेला भलिबल र फुटबल खेलिन्थ्यो ।

गाउँको पिपलको रुख देखाउँदै मन्त्री थापाले भने ‘यो पिपलको रुख पनि बूढो भएछ ।’

कमल थापाले पढाएको विद्यालयको भित्तामा गाईको चिन्ह देख्न सकिन्थ्यो । तर, त्यो राप्रपाको चुनाव चिन्ह भएर होइन कि ‘राष्ट्रिय जनावर’ भएकाले भित्तामा छापिएको हो ।

विद्यालयमा भेटिएका विद्यार्थीहरुलाई थापाले राम्रोसँग पढ्न र भविश्यमा देशको सेवा गर्न आग्रह गरे ।

आफूले पढाएको विद्यालय र बास बसेको पुरानो सेल्टर अवलोकन गरिसकेपछि मन्त्री थापा सोही गाउँमा रहेको राप्रपा नेपालका तत्कालीन महामन्त्री स्व. चन्द्रबहादुर गुरुङको निवासमा पुगे । त्यहाँ पुग्दा मन्त्री थापा निकै भावविभोर देखिएका थिए ।

पोखरामा बास बसेर बाग्लुङ प्रस्थान

आइतबार दिउँसो स्याङ्जाको गाउँ डुलेर उपप्रधानमन्त्री थापा साँझ पोखरा पुगे । पोखरामा बास बसेर सोमबार बिहान उनी बाग्लुङतिर लागेका छन् ।

बाग्लुङमा सरकारका तर्फबाट मन्त्रीको हैसियतले गर्नुपर्ने कामहरुका साथै राप्रपा अध्यक्ष थापाले पार्टीको कार्यक्रममा पनि सहभागिता जनाउने योजना छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता लागू भइसकेपछि मन्त्रीहरुले पार्टीको कार्यक्रममा सहभागी हुनु र त्यसका लागि देश दौडाहा गर्नु आचारसंहिता विपरीत मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment