Comments Add Comment

प्रज्ञाको हीरक महोत्सव, दश स्रष्टालाई पुरस्कृत गरिने

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले स्थापनाको ६० वर्ष पुगेको सन्दर्भमा राजधानीमा बृहत् राष्ट्रिय वाङ्मय गोष्ठी आयोजना गर्ने भएको छ ।

हीरक महोत्सवको अवसरमा आगामी वर्षको जेठ ६, ७ र ८ गते आयोजना हुने गोष्ठीमा नेपाली भाषा, साहित्य, संस्कृति क्षेत्रका दश विशिष्ट प्रतिभालाई प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार अर्पण गरिने भएको हो । पुरस्कार जनही एक लाख नगद राशिको हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो क्रममा पुरस्कृत हुने व्यक्तिहरुको नाम समेत घोषणा गरियो । आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंगः, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल र शान्तदास मानन्धरलाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए ।

हीरक महोत्सवका अवसरमा प्रतिष्ठानले ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘साठी वर्षका भाषिक चर्चा’, ‘मैथिली–नेपाली–अङ्ग्रेजी शब्दकोश’ लगायत तीन दर्जन ग्रन्थ र पुस्तकहरूको प्रकाशन पनि गर्ने तयारी गरेको छ ।

उपकुलपति डा. विष्णुविभु घिमिरेले गत असार ९ गतेदेखि प्रतिष्ठान हीरक वर्षमा प्रवेश गरेको सन्दर्भमा त्यसयता देशभरि राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वका गोष्ठी तथा कार्यक्रमहरूको आयोजना भइरहेको जानकारी दिए । आगामी असार ९ गते राजधानीमा आयोजना हुने वार्षिक उत्सवसँगै यो हीरक महोत्सव समापन हुने जनाइएको छ ।

प्रतिष्ठानले यसै आर्थिक वर्षभित्र प्रज्ञा भवन परिसरमा नवनिर्मित पुस्तकालय भवनमा ई–पुस्तकालय सञ्चालनको तयारी गरेको छ । सो भवनको भुइँतलामा अत्याधुनिक छापाखाना सञ्चालन गर्ने प्रतिष्ठानको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment