Comments Add Comment

धरावासीको ‘लीलाबोध’ सार्वजनिक

काठमाडौं । साहित्यकार कृष्ण धरावासी लेखनमा नयाँ प्रविधिको वकालत गर्ने साहित्यिक अवधारणा लीलालेखनका लागि चिनिन्छन् । आयामेली साहित्यकार इन्द्रबहादुर राईले अघि सारेको लीलालेखनको अवधारणा अनुसार उनले साहित्य सिर्जना गर्दै आएका छन् ।

लीलालेखनभित्र विनिर्माणदेखि लेखनका विभिन्न विधि र प्रविधि प्रयोग गर्दै उनले लेखेका ‘शरणार्थी’, ‘राधा’ जस्ता कृतिहरु पाठकले निकै रुचाए । लीलालेखनको सोही सैद्धान्तिक पाटोबारे धरावासीले हालै ‘लीलाबोध’ पुस्तक ल्याएका छन् ।

बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित परिचर्चा कार्यक्रममा कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला र समालोचक सञ्जीव उप्रेतीले पुस्तक लोकार्पण गरे ।

लेखक धरावासीले पश्चिमा विश्वको उत्तरआधुनिकतावादको मान्यतालाई समेट्दै लीलालेखनले पूर्वीय दर्शनका कुरालाई पनि आत्मसात् गरेको बताए । लेखन र चर्चा लामो समयदेखि हुँदै आए पनि लीलालेखनको सैद्धान्तिक पाटोबारे विस्तृत व्याख्या गर्ने पुस्तक नभएकाले यो पुस्तक लेखेको उनको भनाइ थियो ।

समालोचक उप्रेतीले लीलालेखनले नेपाली साहित्यमा लेखनको नयाँ प्रविधि भित्र्याएको भन्दै लीलाबोधले त्यो प्रविधि के थियो भनेर बुझ्न सघाउने दाबी गरे ।

कवि काइँलाले ०२० को दशकमा सुरु भएको ‘तेस्रो आयाम’ को इतिहास सम्झँदै इन्द्रबहादुर राई र ईश्वरवल्लभको साथमा आफूहरुको आयामेली आन्दोलनले जीवनलाई एक पाटोबाट मात्र नहेरी समग्रमा बुझ्नुपर्छ भन्ने मान्यतामा जोड दिएको बताए । ‘तेस्रो आयामको त्यही सैद्धान्तिक मान्यताको जगमा राईले पछि लीलालेखनको अवधारणा ल्याउनुभएको हो’, उनले भने ।

पैरवी बुक हाउसले प्रकाशन गरेको ‘लीलाबोध’ धरावासीको २८औं कृति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment