Comments Add Comment

चर्पी र रेष्टुरेन्ट सहितका टाटा मोटर्सको नयाँ पर्यटक बसहरु सञ्चालनमा


२९ चैत, काठमाडौं। नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ ।

‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो ।

टाटा मोटर्स लिमिटेड भारतको एमसीभी बस संस्करणका नयाँ मोडल एलपीओ १५२ टीसी ५५ एयर सस्पेन्सन च्यासिसमा विशेष सुविधा सम्पन्न सहितको यी बस सञ्चालनमा ल्याइएको हो । ११ मिटर लामो यो बस टाटा कम्युमिन्स टर्वोचार्ज्ड इन्टरकुल्ड डिजेल इन्जिनको शक्तिले सम्पन्न छ । १३३ हर्ष पावरको इन्जिन भएको यस वाईड बडी बस, एयर सस्पेन्सन अनि २८ रिक्लाइनिङ थाई रेष्ट सिटहरुमा फोल्डेबल टेबल (ट्रे) जडीत छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो बस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट छ ।

यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि हाल चारवटा बस सञ्चालनमा ल्याइएको प्रालिका सञ्चालक दीपक भट्टराईले जानकारी दिए । उनले यात्रुको चाहना हेरेर छिट्टै पाँचवटा बस थपिनेसमेत बताए ।

सो सेवाको सोमबार बेलुका उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पशुराम तामाङले यस्तो बस सञ्चालनले नेपालको पर्यटन विकासमा थप सहयोग पुग्ने बताए । उनले भने, “उक्त बस लुम्बिनी र पोखरामा मात्र नभई अरु पर्यटकीय गन्तव्यमा समेत पुर्याउनु जरुरी छ ।”

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले समयको मागअनुसार सेवा प्रदान गरेको भन्दै यसको विकास र विस्तारमा लाग्नु जरुरी रहेको बताए ।

प्रालिका अध्यक्ष श्रीकान्त आचार्यले नयाँ बसबाट यात्रा गर्न चाहनेहरुका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार बुधबारदेखि लुम्बिनी र पोखरामा एकसाथ बस सञ्चालन गरिने छ ।

उहाँले बसभित्र तातो, चिसो खानेकुरा सुविधासँग खान र पिउनका लागि फोल्डेवल सेवन जडित गरिएको र धुम्रपानको बानी भएका यात्रुको लागि छुट्टै ठाउँको व्यवस्था रहेकोे बताए ।

सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment