Comments Add Comment

रानीपोखरीको पानी डीप बोरिङले तान्यो, चिम्टे माटो बिछ्याउने तयारी

फाइल तस्वीर

३१ चैत, काठमाडौं । एउटा सरकारी अध्ययनले रानीपोखरीको पानी डीप बोरिङले तानेको देखाएको छ ।

पुनर्निर्माणका क्रममा अहिले रानीपोखरीको पानी सुकाइएको छ । तर, त्यसअघि पनि हिउँदमा रानीपोखरीमा पर्याप्त पानी नअडिने समस्या देखिएको थियो । यसको कारण पत्ता लगाउन महानगरपालिकाले सिँचाइ विभागको सहयोगमा रानीपोखरीको भित्रिसतहसम्म माटो परीक्षण गरिएको थियो ।

अध्ययनले रानीपोखरीको छेउ-छेउ र भित्रि सतहबाट पानी चुहिने समस्या देखाएको महानगरपालिकाको भौतिक निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीले बताए । उनका अनुसार आसपासका घरमा जोडिएका ठूलो संख्याका डीप बोरिङले हिउँदमा रानीपोखरीको पानी सुकाउने गरेको पाइएको छ ।

चिम्टे माटो बिछ्याउने तयारी

रानीपोखरी अहिले पुनर्निर्माणको क्रममा छ र यसलाई पार्कसहित बनाउने योजना महानगरको छ । यसक्रममा पानी चुहावट रोक्न रानीपोखरीको तल्लो सतहमा ‘क्ले’ अर्थात चिम्टे माटोको लेयर (पत्र) राखिने भएको छ ।

चिम्ट्याइलो माटो राखिएपछि रानीपोखरीबाट पानी चुहिने समस्या हट्नेछ । ‘रानीपोखरीमा  वर्षातको पानी संकलन गरेर ल्याउने प्रविधि छ । तर, पानी रिचार्जमा लागि ट्यांकरको पानी हाल्नुपर्ने समस्या भएपछि पानी संरक्षण गर्न नयाँ प्रविधि जडान गर्न लागिएको हो’ रेग्मीले भने ।

सिँचाइ विभागले रानीपोखरीको छेउ-छेउको भाग र तल्लो सतहमा पनि पानीको चुहावट रोक्ने प्रविधि राख्न सुझाव दिएको थियो । अध्ययनका क्रममा रानीपोखरीको १५ मिटर तलसम बालुवा मात्रै पाइएका थियो ।

अब रानीपोखरीको करिब डेढ मिटर माटो निकालेर चिम्टे माटो बिछ्याउने योजना छ । यसका लागि महानगरपालिले टेण्डर आह्वान गर्दैछ ।

महानगरपालिकाले अहिले रानीपोखरीको सौन्दर्यकरणका लागि पनि काम गरिरहेको छ । करिब ७ करोड खर्चेर रानीपोखरीलाई उत्कृष्ट पुरतात्विक पार्क बनाउने गरी काम भइरहेको छ । यसको करिब ५० प्रतिशत सकिएको छ । अबको असार भित्रै सौन्दर्य प्रवर्द्धनको काम सकिने अपेक्षा गरिएको छ ।

करिव ६ करोड खर्चिएर चिम्टे माटो बिछ्याउने काम सकेपछि रानी पोखरीमा पानी हालिनेछ ।

रानीपोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर निर्माणको जिम्मा भने पुरातत्व विभागले लिएको छ । महानगरपालिकाले सिमेन्ट र रड प्रयोग भन्दै युनेस्कोले आपत्ति जनाएको बालगोपालेश्वर मन्दिरको निर्माण रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment