Comments Add Comment

महालक्ष्मी नगरपालिकाको मेयरमा यस्ता छन् दाबेदार


१ बैशाख, ललितपुर । बैशाख ३१ गतेको निर्वाचन आउन एक महिनामात्र बाँकी रहँदा स्थानीय तहमा मतदातावीच सम्भावित उम्मेदवारका बारेमा चर्चा चल्न थालेको छ । दलका कार्यकर्तामा भने अब कसलाई उम्मेदवार बनाउने भन्ने बहश चर्किएको छ ।

ललितपुर जिल्लामा एक महानगरपालिका र ५ नगरपालिका छन् । त्यसमध्येको महालक्ष्मीस्थान नगरपालिकामा चुनावी चहलपहल हृवात्तै बढेको छ । महालक्ष्मीस्थान नगरपालिका नयाँ बस्ती र ऐतिहासिक भूभाग भएकाले पनि त्यहाँको चर्चा बढी रहेको छ । नगरपालिकाको मेयरका लागि अहिलेसम्म प्रमुख तीन पार्टीका ९ जनाले दावी गरेका छन् ।

२०७० को निर्वाचनको तथ्यांकलाई केलाउँदा महालक्ष्मी नगरपालिकाबाट सबैभन्दा धेरै भोट नेपाली कांग्रेसलाई गएको थियो । कांग्रेसले त्यस क्षेत्रबाट ६० प्रतिशत मत पाएको थियो । त्यसपछि दोस्रोमा एमाले र तेस्रोमा माओवादी केन्द्र थिए । यस्तै माओवादी केन्द्रपछि तत्कालिन राप्रपा नेपाल पनि निकै बलियो देखिएको थियो । तर यसपटक भने मतदाताको रोजाइमा फेरबदल आउन सक्ने त्यहाँका स्थानीय नेताहरु बताउँछन् ।

कांग्रेसमा ४ जनाको दाबी

अन्य स्थानीय तहमा जस्तै महालक्ष्मी नगरपालिकामा पनि मेयरको आकांक्षी धेरै देखिएका छन् । कांग्रेसको तर्फबाट अहिलेसम्म ४ जनाले मेयर पदका लागि उम्मेदवारको दावी गरेका छन् । उनीहरुमा पवन विक्रम थापा, गणेश के.सी., महेश खड्का र दिवाकर सिलवालले दावी गरेका छन् ।

उम्मेदवारमध्ये गणेश के.सी. कानुन व्यवसायी हुन् । पार्टी संगठनमा पूर्व क्षेत्रीय सभापतिको हैसियतमा छन् । यस्तै अर्का दावेदार महेश खड्का स्थानीय व्यापारी हुन् । कार्यकर्ताहरुले भने उनीहरुमा निर्णय क्षमता कमजोर रहेको आरोप लगाउने गरेका छन् । ग्याँस डिपो व्यवसायी खड्का जनतामा कम चिनिएका र कमजोर निर्णय क्षमता भएको नेता भएको स्थानीय मतदाता सरोज महर्जन बताउँछन् ।

अर्का दावेदार हुन्, दिवाकर सिलवाल । उनी भर्खरै शिक्षकबाट राजीनामा दिएर कांग्रेसको राजनीतिमा आएका छन् । महाधिवेशन प्रतिनिधि तथा तरुण दल ललितपुरका पूर्वअध्यक्ष पवन विक्रम थापाले भने आफ्नै कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार दावी गरी प्रचार प्रसारमा उत्रिसकेका छन् । थापा २०४६ सालदेखि कांग्रेससँग राजनीतिमा जोडिएका व्यक्ति हुन् ।

एमालेको उम्मेदवार एनजिओवालादेखि पूर्वगाविस अध्यक्षसम्म

२०५४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा महालक्ष्मी गाविस रहेको थियो । र त्यसको अध्यक्षमा एमालेका किशोर केसी विजयी भएका थिए । अहिले महालक्ष्मीस्थान नगरपालिका बनेपछि मेयर पदमा पनि एमालेको तर्फबाट उनैले दावी गरेका छन् । उनी एमालेको तर्फबाट सशक्त दावेदार हुन् ।

एमालेको तर्फबाट ५ जनाले दावी गरेका छन् । त्यसमध्येका अर्का हुन् रामेश्वर श्रेष्ठ । रामेश्वर श्रेष्ठ केही वर्षदेखि राजनीतिबाट निस्कृय भएर व्यापार व्यवसायमा व्यस्त थिए । अहिले भने उनी फेरि मेयरका लागि सक्रिय राजनीतिमा फर्किएका छन् । यस्तै हरिगोविन्द श्रेष्ठ पनि एमालेका तर्फबाट मेयरका दावेदार हुन् ।

५ दावेदार मध्ये सुर्य बहादुर थापा पनि प्रतिस्पर्धामा उत्रिएका छन् । थापाले अहिले त्यही क्षेत्रमा ‘फ्रेन्डसीप नेपाल’ भन्ने एनजिओ चलाइरहेका छन् । उनी एनजिओ प्रमुखको जिम्मेवारी छाडेर मेयरको उम्मेदवार बन्न राजनीतिमा सक्रिय भएर आएका छन् । अर्का दावेदार हुन्, शैलेन्द्र राउत । राउत युवा संघका केन्द्रीय सदस्य हुन् । उनी पोखरामा प्याराग्लाइडिङ व्यवसायमा सक्रिय छन् ।

तेस्रो शक्ति माओवादी केन्द्रलाई उम्मेदवार सहज, जित्न कठिन

महालक्ष्मीस्थानमा माओवादी केन्द्रका तर्फबाट मजदुर नेता शिव कट्टेलको सम्भावना रहेको स्थानीय बताउँछन् । उनलाई उम्मेदवार बनाउँदा राप्रपाको समेत भोट आउने आधारमा त्यस्तो तयारी भएको माओवादी केन्द्रका एक कार्यकर्ताले भने । तर माओवादी केन्द्रको तर्फबाट रामगोपाल महर्जनले पनि इच्छा देखाएका छन् ।

त्यस क्षेत्रमा पहिलेदेखि नै माओवादी र राप्रपाबीच राम्रो सम्वन्ध भएकाले राप्रपाले माओवादीलाई सघाउन सक्ने कांग्रेसका पवन विक्रम थापाको बिश्लेषण छ । त्यस्तो अवस्थामा एमाले तेस्रो स्थानमा पुग्ने र कांग्रेसले माओवादी केन्द्रसँग प्रतिस्पर्धा गर्नुपर्ने उनको बुझाइ छ ।

खानेपानी र सडक बिस्तार मुख्य समस्या

महालक्ष्मीस्थान नगरपालिका शहर उन्मुख नगर हो । ग्वार्कोदेखि लाकुभञ्जाङ्गसम्म फैलिएको यस नगरपालिकाको मुख्य समस्या साँघुरो सडक विस्तार हो । यससँगै खानेपानी र ढल व्यवस्थापनको समस्या छ । अहिले भएको पानीको स्रोतले करिब ६० प्रतिशतलाई मात्र पुग्ने भएकाले बाँकी क्षेत्रमा खानेपानी व्यवस्थापन गर्नुपर्नेछ । यस्तै महालक्ष्मीस्थान नगरपालिका क्षेत्र औद्योगिक क्षेत्र पनि हो । त्यसको व्यवस्थापन र बेरोजगारी व्यवस्थापन हल गर्नु पनि नयाँ नेतृत्वको लागि चुनौती हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment