Comments Add Comment

पशुपतिमा भारतीय भट्टहरुको लुटतन्त्र छ

 

पशुतिनाथमा सयौं नेपाली ब्राह्मण १००/५० रुपैयाँ र केही माना चामलका लागि रुमाल थापेर बस्दै आएका छन् । त्यो पनि भित्र होइन, मन्दिर बाहिर । तर, भित्र भारतीय भट्टहरुको शासन छ । लुटतन्त्र छ ।

मैले एक साता एक्लै श्रीपशुपतिनाथको पूजा गरें । कुनै सहयोग विना नै । ती दिनमा मैले कुनै विधि छोडिनँ । १८ गते बिहान साढे दुई बजेसम्म म मन्दिरभित्र पूजामा लीन रहें । २३ गतेसम्म मेरो दैनिकी यस्तै रह्यो । यसवीचमा राष्ट्रका आराध्यदेव श्रीपशुपतिनाथको आराधनामा म लीन बनें । मेरो नियुक्तिमा विवाद हुन सक्छ भन्ने मलाई पूर्वआभाष थियो । स्वदेशीले पूजा गर्ने र मन्दिरको आयलाई कोषमा दाखिला गर्ने विषयले धेरैको टाउको रन्किन सक्छ । त्यसैले मलाई यो विषयको कारणले रगत पनि बग्न सक्छ कि जस्तो लागेको थियो ।

नेपाली पूजारीको नियुक्तिमा सबैतिरबाट स्वागत हुनेमा शंका थियो । सबैले गौरब महसुस गर्नेछन् जस्तो पनि नलागेको होइन । तर, जब पहिलो दिन साढे १० बजेसम्म पनि भट्ट मन्दिरभित्र प्रवेश गरेनन्, त्यसपछि मलाई लाग्यो केही जटिल समस्या खडा हुँदैछ ।

पूजा गर्न थालेपछि केही पत्रिका जान्थे । पत्रिकाबाहेक न मैले रेडियो सुनें, न टेलिभिजन हेरें । बेलुकातिर यसो पढ्दा पत्रिकाहरुको कोण अलि जायज लागेन । नेपाली आम सञ्चार जगत् यस विषयमा धेरै प्रष्ट छैन जस्तो लाग्यो । सञ्चारमा विदेशी लगानीको प्रत्यक्ष प्रभाव पर्दा आइपर्ने भयावह समस्याहरुको निरकरण विषयमा बेखबर हुनु राम्रो होइन ।

भट्टलाई हटाएर म यहाँ प्रवेश गरेको होइन । भट्टले राजीनामा दिएर ठाउँ खाली भएपछि मात्र म आवश्यक प्रक्रिया पूरा गरेर श्रीपशुपतिनाथको पूजारी बन्न आएको हुँ ।
मूल भट्टले राजीनामा दिएर मन्दिर प्रवेश नगरेका कारण मूल भट्टको दायित्व नै मैले वहन गरेको हुँ ।

केहीले मलाई प्रचण्डका नातेदार, अझ भतिज नै भने । केहीले माओवादीको खल्तीबाट आएको भनेर आलोचना गरिरहेका थिए । मैले गरेको अध्ययन, अनुसन्धान, तप र सामाजिक योगदान सम्बन्धी कुरा कोही कसैले बहस चलाएनन्, केवल विरोध मात्र गरे ।

१८०४ सालदेखि अहिलेसम्म कहिल्यै भट्टहरुको छनोट विज्ञापनबाट भएको छैन । मूलभट्टको सिफारिसमा दरबारका बडागुरुज्यूले नाम पेश गर्ने र राजाले स्वीकृत गर्ने प्रचलन थियो । पहिलोपटक विस्तृत अन्तरवार्ता र व्यापक बहस, सम्वादपछि भट्ट पूजारीको चयन भएको हो । यस विषयमा कोही बोलेनन् ।

भारतलाई यसकारण सैह्य भएन

नेपालीले पशुपतिनाथको पूजाआजा गर्नु र भेटीघाटी राज्यकोषमा जम्मा गर्नु भारतका लागि सैह्य भएको थिएन । जब नेपाली पुजारी पशुपतिनाथमा पस्यो, त्यसपछि त्यति धेरै पैसा जम्मा हुँदोरहेछ भन्ने कुरा पहिलोपटक सबैलाई थाहा भयो ।

भारतीहरु नेपाललाई सांस्कृतिक दासताको युगमा राखिरहन चाहन्छन् । किनभने पशुपतिनाथमा जो भारतीय भट्टहरु छन्, उनीहरुले धर्मका नाममा लुटपाट गरिरहेका छन् ।

पशुपतिनाथमा जम्मा भएको भेटी समाजमा पिछडिएका वर्ग, सामाजिक कार्यहरु जस्तै- विश्वविद्यालय स्थापना, धार्मिक पर्यटनको प्रवर्द्धन आदिमा खर्च गर्नुपर्छ । त्यस्तो नभएर सधैं दुरुपयोग गर्ने गरिएको छ ।

नेपाली पुजारी नियुक्त भएपछि कति भेटी जम्मा हुँदोरहेछ भन्ने कुरा बाहिर आयो । भेटीघाटी पनि जम्मा भयो । नेपालीले पूजा पनि गर्न सक्यो भनेपछि एकाथरि राजनीतिक व्यक्तिलाई सैह्य भएन । नेपालीले नै पूजा पनि गर्न सक्छ भनेपछि बाहिरबाट ल्याएका मान्छेलाई पूजा गर्न किन लगाउने ?

मलाई के लाग्छ भने कुनैबेला नेपालीले पनि श्रीपशुपतिनाथको पूजा गरेको थियो भन्ने इतिहास मेटाउने कोसिस हुन सक्छ ।

नयाँ परिवर्तनलाई नियाल्दा देशको प्रधानमन्त्रीले श्रीपशुपतिनाथको भट्ट नियुक्त गर्नेछन् । तर नेपालको प्रधानमन्त्री भन्दा पशुपतिनाथको भट्ट शक्तिशाली बन्ने प्रपञ्च र खतरा बढिरहेको छ । यसलाई हलुका ढंगले लिनु हुँदैन ।

सांस्कृतिक धरोहरभित्र मूल्य मान्यताको शैली र सभ्यताको इतिवृत्तिलाई देशमुख बनाउन सकियो भने मात्रै परिवर्तनको अर्थ रहन्छ ।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले श्रीपशुपतिनाथ मन्दिरमा मलाई पूजारी नियुक्त गर्दा भारतमा समेत धक्का महसुस भयो । आफ्नो देशको पवित्र मन्दिरमा विदेशी पूजारी राख्नैपर्ने बाध्यतासामु तत्कालीन संस्कृतिमन्त्री गोपाल किरातीको मलाई पुजारी बनाउने निर्णय दुईसाता पनि टिकेन र श्रीपशुपतिनाथमा भारतीय नागरिकलाई नै पुनः मूलभट्ट बनाइयो ।

तीनसय वर्षमा एकपटक नेपाली नागरिकलाई श्रीपशुपतिनाथको पुजारी बनाइयो । तर, सरकार कूटनीतिक पहल गर्नमा चुक्यो । श्रीपशुपतिनाथमा लामो समयदेखि भारतीय मूलका पुजारी रहँदै आएकोमा नेपाली पुजारी नियुक्तिसँगै चौतर्फी दबाव आयो र प्रचण्ड नेतृत्वको सरकार पछि हट्न बाध्य भयो ।

पुजारीको रुपमा म श्रीपशुपतिनाथ मन्दिर प्रवेश गरेपछि विरोधको स्वर चर्को हुँदै गयो । भारतले समेत नेपाल सरकारलाई भारतीय पुजारी नहटाउन दबाव दियो ।
कसले, किन र केका लागि यस्तो मान्यता चलायो ? यसको खोज नेपालका कुनै पार्टीले गरेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरुले नेपाली पुजारीको नियुक्तिको विरोधमा सडक जाम गरे । टायर बाले । जनतालाई दुःख दिए । राजधानीमा प्रदुषण फैलाए ।

जनताले राष्ट्रियताको स्रोत कहाँ खोज्ने ? त्यति पनि बुझ्ने प्रयत्न भएन । श्रीपशुपतिनाथमा राष्ट्रिय संकल्पको आवश्यकता छ । देशलाई एकताको सूत्रमा संगठित गर्नको निम्ति देशका पवित्र ताल, तीर्थ, नदी, धाम र सिद्धस्थानहरुसँग श्रीपशुपतिनाथलाई जोड्नुपर्ने आवश्यकता छ । यो देशमा मानवता र पर्यावरण संकट उन्मूख भइरहेका बेला भारतीय भट्टले गर्ने पूजाविधिले जोखिमलाई बढाइरहेको छ ।

दुर्भाग्य भनौं यस्ता घटनामा श्रीमिनेन्द्र रिजाल र श्रीमाधव कुमार नेपाल प्रवृत्तिले दलाली गरिरहेका हुन्छन् । यो एकप्रकारको सांस्कृतिक गुलामी हो । श्रीपशुपतिनाथमा भारतीय भट्टहरुको एकाधिपत्य रहुञ्जेल देशमा राष्ट्रिय स्वाधीनताको कुरा गर्नु बेइमानी हुनेछ । आत्म वञ्चना हुनेछ ।

(पशुपतिनाथ मन्दिरका पहिलो नेपाली मूलभट्ट डा. दाहालद्वारा हालै प्रकाशित ‘पशुपतिमा सात दिन’ पुस्तकभित्रबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment