Comments Add Comment

नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

लोडसेडिङ हट्नु नेपालको अर्थतन्त्रमा सुधारको मुख्य कारक

३ बैशाख, काठमाडौं । बिश्व बैंकले नेपालको भूकम्पका कारण थलिएको नेपालको अर्थतन्त्रमा अहिले सुधार आएको जनाएको छ । आइतबार एक रिपोर्ट सार्वजनिक गर्दै बैंकले सन् २०१७ मा नेपालमा ६ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने आँकलनसमेत गरेको छ ।

विश्व बैंकका अनुसार सहज विद्युत आपूर्तिले अर्थतन्त्रमा सुधार आएको हो । त्यस्तै मनसुनी वर्षाका कारण कृषि क्षेत्रको उत्पादनमा बृद्धि हुनु र भूकम्पपश्चातको पुनर्निर्माणले गति लिन थाल्नुले पनि आर्थिक वृद्धिमा बल पुर्‍याएको बैंकको ठहर छ ।

सन् २०१५ मा गएको भूकम्पका कारण सन् २०१६ मा नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा खुम्चिएको थियो । त्यसअघि सन् २०१४ मा पनि नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशतले नै थियो । यसरी हेर्दा नेपालको अर्थतन्त्र भूकम्प अघिकै अवस्थामा फर्कन लागेको देखिन्छ ।

सन् २०१८ मा भने देशको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने र सन् २०१९ मा ४.५ प्रतिशतले हुने बिश्व बैंकको प्रक्षेपण छ ।

केहि दिनअघि एसियाली विकास बैक (एडीबी)ले पनि सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर ६ देखि ६.२ प्रतिशतसम्म हुने संशोधित आँकलन गरेको थियो । सुरुमा एडीबीले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.८ प्रतिशतभन्दा माथि जान नसक्ने प्रक्षेपण गरे पनि यो आर्थिक वर्षको पहिलो ६ महिनालाई आधार मान्दा एडीबीले सो प्रक्षेपण सच्याउन कर लागेको छ ।विश्व बैंकले नेपालसहित दक्षिण एशियाली राष्ट्र माल्दिभ्स पनि आर्थिक सिथिलताबाट माथि उठ्न लागेको बताएको छ । नेपाल र माल्दिभ्स दुबैको औद्योगिक उत्पादन बढेको र यसले आर्थिक बृद्धिमा ठूलो मात्रामा मद्दत पुर्‍याउने बिश्व बैंकले जनाएको छ ।

बिश्व बैंकले सन् २०१७ मा भारतको आर्थिक बृद्धिदर ७.२ प्रतिशत रहने अनुमान गरेको छ । यस्तै बंगलादेश र भुटानको ६.८, पाकिस्तानको ५.२, श्रीलंकाको ४.७ र अफगानिस्तानको २.४ प्रतिशतको आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment